शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी

बिहीबार, १३ वैशाख २०८१, २० : ००
बिहीबार, १३ वैशाख २०८१

रौतहट । रौतहटको कटहरिया नगरपालिका ५ बलरामपुर गाउँ स्थित भुस र बाँसमा लागेको आगो निभाउन गाएकी एकजना महिलाको साडीमा सल्किएर जिउको अधिकांश भाग जलेको छ। स्थानीय सुजाईत मियाँकी ५० बर्सिया श्रीमती आस्मा खातुनको आज बिहान ७ बजे घर छेउको आगो निभाउने क्रममा साडीमा आगो लागेर उनको शरीरको अधिकांश भाग जलेको हो।

घटना लगतै आफन्तहरूले तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाको आकस्मिक कक्षमा लागेका थिए। आकस्मिक कक्षमा २ घण्टासम्म गम्भीर अवस्थामा रहेकी महिलाको उपचार गर्ने कुनै डाक्टर नभेट्दा आक्रोशित परिवारले ओपिडी लगायत सबै कक्षामा तालाबन्दी गरेका छन्।

आकस्मिक सेवा सुचारु भएपछि केन्द्रमा २४औँ घण्टा डाक्टर लगायत स्वास्थ्यकर्मीको सेवा उपलब्ध हुनुपर्नेमा यहाँ पटक पटक यस्ता लापरबाहीको घटनाहरू भइरहेको छ।

बिहान ९ बजे रातोपाटी प्रतिनिधि आकस्मिक कक्षमा पुग्दा आगलागी बाट जलेकी महिला अचेत अवस्थामा बेडमा सुतेकी थिइन,  तर त्यहाँ उपचार गर्ने कोही डाक्टर थिएनन्।

घाइते महिलासँगै आएका महमद उमरले बिरामी लिएर आएको दुई घण्टा उपचार हुन नसकेपछि बाध्य भएर अस्पतालमा तालाबन्दी गरेको बताए।

बिरामीको अवस्था सुनेर करिब ९ बजे अस्पतालमा पुगेका अहेव विनोद गुप्ताले जलेर घाइते भएकी खातुनको अवस्था गम्भीर भएकोले वीरगन्ज रेफर गरिएको बताए।

प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका प्रमुख डाक्टर धर्मेन्द्र पटेल घर गएका छन् । अर्का डाक्टर अर्जुन जैसवालको घरमा बिहे भएकाले उनी पनि अनुपस्थित रहेको अहेव गुप्ताले जानकारी दिए।

कुनै डाक्टर नभएको कारण बाध्य भएर वीरगन्ज रेफर गरिएको उनले बताए । डाक्टरहरूको लापरबाहीको कारण प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार गराउन आउने बिरामीले पटक पटक यस्ता कठिनाइको सामना गर्नु परेको स्थानीयहरूले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप