सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम–२ उपनिर्वाचन :  उम्मेदवारको बाचा, मतदातालाई छैन आशा

बुधबार, १२ वैशाख २०८१, १९ : २३

इलाम । इलाम नगरपालिका–११ को सोयाङका कृष्णबहादुर नेम्वाङ अम्लिसो गोडिरहेको अवस्थामा भेटिए । इलाम २ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत उपनिर्वाचनका लागि भोट माग्न एमालेका उम्मेदवार सुहाङ नेम्वाङ सोही अम्लिसो बारीको बाटो हुँदै गाडीको झ्यालबाट हात हल्लाएर पश्चिम–उत्तर लागे ।

कार्तिके भन्ने ठाउँमा सानो कोणसभा गरेर सुहाङको टोली उँभो लाग्यो । तर, कृष्णबहादुर नेम्वाङलाई भने चुनाव प्रचार, सभा र उम्मेदवारको घरदैलोले छोएन । ‘चुनावको कुरा यस्तै हो । हाम्रो त पेट पाल्नै पर्‍यो । काम छोडेर जान पाइँदैन,’ उनले भने ।

चुनावमा भोट कसलाई हाल्नुहुन्छ भन्ने प्रश्नमा उनले कोही पनि ठुला पार्टी र चर्चामा रहेका नेताहरूको नाममा सहमति जनाएनन् । बरु उनले चर्चामै नरहेका उम्मेदवारको नाम लिएर भोट हाल्ने सङ्केत गरे ।

‘निर्वाचनको दिन त बरु माछा मार्न पो जाऊँ कि ? बरु माछा नै मिठो हुन्छ,’ साङ्केतिक जवाफ दिँदै उनले भने । ठुलाले केही नगरेको र केही नगर्नेलाई भोट दिनुभन्दा अरूलाई नै दिँदा चित्त बुझ्ने उनको भनाइ थियो ।

ilam bazaar

इलामको मुख्य बजारमै रहेको एक स्टेशनरी पसलमा भेटिएका नयाँ मतदाता कौशल दुलाललाई पनि भोट हाल्न मन छ । ‘माथिको उम्मेदवार कुनै मन परेन भन्ने विकल्प नै छैन । नत्र त भोट त्यहाँ हालिन्थ्यो । यहाँ विकल्प नै छैन,’ उनले भने ।

कुराकानीकै क्रममा उनले डम्बर खड्का र डकेन्द्रसिंह थेगिममध्ये एउटालाई बाध्य भएर छान्ने बताए । इलामको विकास गर्नेलाई भोट दिने उनको तर्क थियो ।

नेम्वाङ र दुलालजस्तै इलामका आम मानिसलाई यतिबेला सुशासन र विकासको तीव्र चाहना छ । पहिलेको जस्तो गुल्जार इलाम चाहिएको छ ।

कोरोनाकालदेखि सुस्ताएको इलामलाई पुनर्जागृत गर्ने नेतृत्वको खोजीमा उनीहरू छन् । इलाममा सुवास नेम्वाङ, झलनाथ खनाल, केबी गुरुङ, बेनुप प्रसाईजस्ता राष्ट्रियस्तरमा चिनिएका नेताहरू पनि जन्मिए । उनीहरूकै कारण इलाममा कतिपय ठुला विकास निर्माण काम पनि भए ।

तर, तीमध्ये नेम्वाङको देहावसान भइसक्यो भने खनाल, गुरुङ, प्रसाईहरूको प्रभाव कमजोर हुँदै गएको छ । त्यससँगै इलामका अनेक एजेण्डा ओझेलमा पर्न थालेको स्थानीयले महसुस गरेका छन् ।

ilam

‘इलाम पहिलेकै अवस्थामा पुनर्जागृत हुनुपर्छ,’ कांग्रेस नेता भेषराज आचार्यले भने, ‘अहिले बजार शिथिल छ । विकास निर्माण सुस्त छ । कृषि पेसाको बजारीकरणमा समस्या भइरहेको छ । दुध, घिउ, चिया, छुर्पी, अम्लिसो, अलैँचीसँगै अहिले आएका नयाँ कृषिजन्य वस्तुहरू किबी र एभोकाडोजस्ता उत्पादनलाई बजारीकरणको अभाव छ ।’ आम जनताले यसको सहजीकरण गर्ने नेतृत्व खोजिरहेको उनको भनाइ छ ।

आचार्यका अनुसार इलामका जनता उपचारका लागि झापाको विर्तामोड या मोरङको विराटनगर नै जानुपर्ने बाध्यता हटेको हेर्न चाहन्छन् । इलाममा स्वास्थ्य उपचार गर्ने गतिला अस्पताल नरहेको उनको भनाइ छ ।

सदरमुकामबाहेक अरू बस्तीका जनताको कुरा फरक छ । काहीँ पक्की त काहीँ कच्ची बाटो पुगेका ठाउँ आसपासका जनता बाँझो जमिन नरहने, कृषि उत्पादन बढाउने कार्यक्रमहरू सरकारले ल्याउनुपर्ने बताउँछन् ।

इलाम नगरपालिका–४ जसबिरेकी जयन्ती राईलाई नेतासँग कुनै आशा छैन । उम्मेदवारले दिएका चुनावी आश्वासन सुन्नु भनेको समयको बर्बादी ठान्ने उनी मतदान गर्ने जाने मुडमा पनि छैनन् ।

‘नेताहरूको झुटा भाषण सुनेर समय बर्बाद गर्नुभन्दा चिया स्याहार्नु राम्रो छ । मलाई त मत दिन जान पनि मन छैन,’ बगानमै भेटिएकी उनले भनिन् ।

438237660_942895234202888_6418032769332618248_n

यस्तै फाकफोकथुम गाउँपालिका–६ देउरालीका लीला फुँयाल चुनावी बाचा र नेताको भाषण अनुसार काम हुँदैन भन्नेमा ढुक्क छिन् । ‘चुनावका बेला भोलि नै काम हुने गरी नेताहरूले भाषण गर्छन् । राँके–रविको बाटो अब बन्ने आशा छैन, हामीले त माया मारिसक्यौँ ।’

माङसेबुङवासीको पनि मुख्य माग दमक–चिसापानी सडक छ । सडकको ट्र्याक खुलेको अढाई दशकसम्म पनि कालोपत्रे नबन्दा नागरिकमा आक्रोश छ । माङसेबुङका कुमार सम्बाहाम्फेले भने, ‘दमक–चिसापानी सडक त चुनावी नारामात्र बन्यो । चुनावका बेला जोडतोडका साथ उठ्छ । तर, सडक निर्माणको काम कहिल्यै सकिँदैन । अहिले त नेताको कुरा सुन्दा पनि रिस उठ्छ ।’

इलामको दक्षिणी भेग चुलालुली गाउँपालिकामा पनि सडक, खानेपानी समस्या र सदरमुकामसँगको विकटताले नागरिक हैरान छन् ।

436868710_3786180431611923_8748802325641352986_n

चुलाचुली गाउँपालिका–४ का गमबहादुर दासले भने, ‘हामीले झापाको दमक हुँदै सदरमुकाम इलाम जानुपर्ने बाध्यता छ । बिचमा बाटो छैन । बनाउने भन्छन् । कहिले बन्ने हो, टुङ्गो छैन । खानेपानीको धेरै समस्या छ ।’

चुलाचुलीवासीले नागरिकता, मालपोतको कामका लागि इलाम बजार जानुपर्ने बाध्यताको अन्त्य चाहेका छन् । नेताहरूले हरेक चुनावमा यो समस्या सम्बोधन गर्ने बताए पनि काम नभएको दासले गुनासो पोखे । देउमाई र माई नगरपालिकामा पनि सडकको दुरावस्था छ ।

इलाम बजार आसपासका मतदाताले श्रमको उचित मूल्य, उत्पादन मूल्य, दुधको बाँकी भुक्तानीका कुराहरू उठाएका छन् । ५ महिना अघि बेचेको दुधको पैसा हालसम्म नपाएको इलाम नगरपालिका–४ का हरिप्रसाद दुलालले बताए ।

  • दलहरूको घोषणापत्रमा के छ ?

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्ना केही प्रतिबद्धता सार्वजनिक गरेका छन् । घोषणापत्रकै शैलीमा वितरण गरिएको प्रतिबद्धता पत्रमा एमालेले देशव्यापी रूपमा गरेका काम भन्दै २६ वटा बुँदा उल्लेख छ ।

यस्तै इलाममा नेकपा एमालेको नेतृत्वमा भएका काम भन्दै ३६ बुँदा उल्लेख गरिएको छ । उपनिर्वाचनका सन्दर्भमा उनले २१ वटा प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

इलामकै सन्दर्भमा भने उनले निर्माणाधीन आयोजनाहरूको निर्माण सम्पन्न गराउने, इलाममा मेडिकल कलेज सञ्चालनका लागि पहल गर्ने, प्राविधिक शिक्षालाई जोड दिने र चिया क्षेत्रमा देखिएको समस्या समाधान गर्ने बाचा अगाडि सारेका छन् ।

यस्तै लम्पी स्किन रोगबाट मरेका पशु चौपायाको क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन पहल गर्ने, दुग्ध व्यवसाय निर्यातमूलक व्यवसाय भएकाले यसलाई उद्योगमा विकास गर्न किसानहरूलाई सहुलियत दरमा ऋण, अनुदान दिने र बजारको व्यवस्थाका लागि सरकारलाई काम गर्न लगाउने घोषणापत्रमा उल्लेख छ ।

किसानहरूलाई समयमा मल, बिउ र सहुलियत प्राप्त गर्ने व्यवस्था गर्ने, युवाहरूका लागि खेलकुद, सङ्गीत, कला, साहित्य, सिनेमा नाटकमा सहभागी भइ प्रतिभा विकास गर्ने र यी क्षेत्रहरूलाई क्रमिक रूपमा व्यावसायिक बनाउने लगायतका विषय उनले घोषणापत्रमा समेटेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि आफ्नो घोषणापत्र विगतभन्दा व्यवस्थित रूपमा सार्वजनिक गरेका छन् । उनले अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, स्वास्थ्य सुरक्षाको सुनिश्चितता, इलाम लगानी सम्मेलन २०८२, इलाम भ्रमण वर्ष २०८२, इलाम डिजिटलाइजेसन र प्रबद्ध कार्यान्वयन समूह भनेर ८ प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

स्वतन्त्र उम्मेदवारको रूपमा माहौल तताइरहेका पहिचानवादी उम्मेदवार डकेन्द्र सिंह लिम्बूले पनि इलामको विषयमा केही एजेण्डा अगाडि सारेका छन् । उनको मूल मुद्दा भनेको प्रदेशको नाम कोशी खारेजी र पहिचानसहितको नामकरण हो । त्यसबाहेक इलामसँग सम्बन्धित प्रतिबद्धता पनि उनले जनतासामु जाहेर गरेका छन् । जसमा इलामको समस्या तथा सम्भावनाको विषयमा एक्स्पर्टको टिम बनाएर अध्ययन गर्ने र त्यसलाई नीति कार्यक्रम मार्फत सम्बोधन गराउन पहल गर्ने, इलामको चिया, इलामको ५ अ, इलामको उत्पादित कृषिजन्य उत्पादनलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरसम्म सबैको पहुँचमा पुर्‍याउने, कृषिबाट उत्पादित वस्तुहरू बिचौलियाका हातमा नपर्ने गरी सोझै कृषकले नाफा खान सक्ने गरी, उनीहरूले मूल्य पाउन सक्ने गरी नीति ल्याउन पहल गर्ने उनको प्रतिबद्धता छ ।

रास्वपाका उम्मेदवार मिलन लिम्बूले इलाम निर्माणको ७ वटा बाचा गरेका छन् । ७ वटा बाचामध्ये इलामलक्षित ६ बाचा उनका प्राथमिकतामा छन् ।

दमक–रवि फाल्गुनन्द सडक, मेची राजमार्ग, मदन भण्डारी राजमार्ग र दुर्गापुर–दानाबारी, माइबेनी बेसिन र गैंडे, महमाई, गजुरमुखी बेसिनको स्तरोन्नति समयमै सम्पन्न गराउन पहल गर्ने उनको बाचापत्रमा उल्लेख छ । यस्तै इलाममा देखिएको विद्युत्, खानेपानी, सिँचाइ तथा इन्टरनेटको समस्यालाई निराकरण गरी नागरिकसम्म समृद्ध इलामको अनुभूति गराउन पहल गर्ने उनको एनेण्डा छ ।

सुस्ताएको इलामको पर्यटनलाई पुनर्जागृत गर्न इलाम बजार, माइपोखरी, लारुम्बा, गजुरमुखी र सिद्धी जस्ता धार्मिक पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रबर्द्धन गरी इलामको अर्थतन्त्र बलियो बनाउन पहल गर्ने लिम्बुको बाचापत्रमा समेटिएको छ ।

अकबरे, अलैंची, अदुवा, अम्लिसो, अर्थोडक्स चिया, ओलन, आलुको उत्पादन, भण्डारण र प्रबर्द्धन गर्ने, अलैंचीको उत्पादनमा आएको ह्रासलाई न्यूनीकरण गर्दै त्यसको विकासमा पहल गर्नेमा उनको जोड छ ।

इलाममै सुविधासम्पन्न अस्पताल भवन, उपकरण र आवश्यक चिकित्सकको व्यवस्था गर्न पहल गर्ने, पढेर पनि बेरोजगार रहेका विद्यार्थीलाई एसइइ परीक्षापछि आम्दानीमूलक सिप निःशुल्क तालिम दिने, सबै पालिकामा भइरहेका खेलमैदानलाई स्तरोन्नति गर्दै खेलाडीको विकासका लागि प्रशिक्षणको व्यवस्था मिलाउन पहल गर्ने उनका इलाम लक्षित एजेण्डा हुन् ।

राप्रपाका लक्ष्मी गुरुङ, एकीकृत समाजवादीका जीतवहादुर राई, जनम पार्टीका प्रेमदीप थाम्सुहाङ, राप्रपा नेपालका गणेशबहादुर चौहान, मंगोल नेशनल अर्गनाईजेसनका मणिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपाल पार्टीका धनराज राना मगर, नेपाल मजदुर किसान पार्टीका श्यामकुमार दर्जी, नेपाली जनता दलका रेशम बहादुर सुनार, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीका जसवन्त विक्रम शाह पनि चुनावी मैदानमै छन् ।

इलाम २ मा डाँकप्रसाद गौतम, दिपेश बोहोरा, अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्याल स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन् । राप्रपाका गुरुङ, एकीकृत समाजवादीका राई र जनमतका थाम्सुहाङले चुनावी एजेण्डा बनाए पनि बाँकी उम्मेदवारको चुनावी प्रचार अभियान खासै देखिँदैन ।

राप्रपाले नागरिकको जनजीवनभन्दा व्यवस्था परिवर्तनको एजेण्डालाई प्रमुख बनाएको छ भने एकीकृत समाजवादीका राई र जमतका थाम्सुहाङले पहिचानको एजेण्डालाई मुखरित गरेको पाइन्छ । तर, मतदातालाई उम्मेदवारको एजेण्डामा न चासो छ, न विश्वास । इलाम–२ का सबैजसो बस्तीमा पुग्दा उपनिर्वाचनलाई लिएर नागरिकमा कुनै उत्साह देखिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप
लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप