केन्द्रीय संस्करण
अन्तरवार्ता

राजाको अधिनायकवाद त ढल्यो, देउवाको कसरी बच्छ ? : अर्जुननरसिंह केसीको अन्तरवार्ता

person explore access_timeबैशाख २४, २०७५ chat_bubble_outline0
लिलु डुम्रे

रातोपाटी

१३औं महाधिवेशनमा काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षबाट महामन्त्रीमा चुनाव लडेका अर्जुननरसिंह केसीपराजित भएका थिए । निर्वाचनपछि मध्यधारमा देखिएका सिंह पछिल्ल्लो केन्द्रीय समितिको बैठकबाट देउवाप्रति रुष्ट देखिएका छन् । देउवामा हुकुमी शैली बढेको उनको ठहर छ । काँग्रेसको भर्खरै सकिएको केन्द्रीय समितिको विषयमा आधारित रहेर रातोपाटीका लागि लिलु  डुम्रेले गरेको वार्ता ।

अन्तरवार्ताको सुरु तपाईंले सामाजिक सञ्जालमा व्यक्त गरेको विषयवाट गरौं ।  सञ्जालमा तपार्इंले ‘हरसम्भव प्रयास गर्दा पनि सहमति र वैधानिक बाटोमा पार्टीलाई ल्याउन सकिएन, पार्टी नेतृत्व निरङ्कुशता र पार्टी कब्जाकै बाटोमा उन्मुख देखियो’ भन्नुभएको छ । पार्टी नेतृत्व निरङ्कुश हुँदै गएको तपाईंको ठहर हो ?

मेरो दृष्टिकोण केन्द्रीय कार्यसमितिको बैठकमा बडो प्रष्टसँग राखेको छु । त्यसको बाबजुत अहिले जुन अवस्था वा कालखण्डमा काँग्रेस रहेको छ ।  लामो बैठकपछि जाने सन्देश सबैको प्रतिनिधित्व हुने तथा भावना पनि समेटिने गरेर एउटा बाटो निकालौं भनेर भयङ्कर प्रयत्न गरियो । बैठकका क्रममा रामचन्द्रजीसँग पनि कुरा गरेँ । उहाँले सभापतिसँग कुरा गर्न भन्नुभयो । सिटौलाजीसँग पनि कुरा गरेँ । नोट अफ डिसेन्ट लेख्ने मानसिकता बनाएका युवा साथीहरूलाई धेरै नर्मलाइज गर्ने कोसिस गरेँ ।

आम मानिसमा तथा कार्यकर्तामा बैठक वाद प्रतिवाद, दोष आरोप प्रत्यारोप गरेर सिद्धिएको गलत सन्देश जाने भएकाले सभापतिसँग पनि कुरा गरँे । असन्तुष्टिहरूलाई सम्बोधन गर्न सभापतिलाई विनम्रताका साथ आग्रह गरेको थिएँ । निर्वाचनपछिको पहिलो बैठकमा पनि भनेको थिएँ । निर्वाचन परिणामको पहिलो दोषी सभापति हो । त्यसपछि क्रमशः महामन्त्री, पदाधिकारी, वरिष्ठ नेता हो । पाँचौँमा हारको भाग मेरोमा आउँछ । भागवण्डाअनुसार जिम्मेवार छु भनेकै थिएँ । केही न केही रूपमा दोषको भागी हामी अरू पनि छौं । प्रमुख जिम्मेवारी लिनेको प्रमुख जिम्मेवारी हुन्छ । तापनि बडो काँटछाँट गरेर केन्द्रीय कार्यसमितिको तहमा पु¥याइयो ।

केन्द्रीय समिति जिम्मेवारभन्दा निरन्तर सङ्घर्ष गरेर आएका धनराज गुरुङ जस्तो व्यक्ति कसरी जिम्मेवार हुन्छ ? उनले प्रदेश÷ प्रतिनिधि सदस्यको टिकट नै पाएनन् । एक समयमा विद्यार्थी मोर्चामा गगन–गुरु भनेपछि जनप्रिय नेतृत्व स्थापित गरेका थिए । हार जिम्मेवारीमा केन्द्रीय समितिमा उनको के भूमिका छ भन्दै आवाज पनि उठेको हो । तथापि सामूहिक रूपमा जिम्मेवारी लिने कुरालाई हामीले स्वीका¥यौं । मस्यौदाको छलफलपछि जुन रूपमा प्रस्ताव गर्ने भनिएको थियो तद्अनुरूप आएन । आफ्नो ढङ्गले प्रस्तुत गरियो । प्रस्तुत गर्नासाथ पास पास भनियो । स्वयम् वरिष्ठ नेता रामचन्द्र पौडेलले केही कुरा राख्छुभन्दा पनि समय दिइएन । विजय गच्छदारले बोल्न इच्छा राखेका थिए । उनलाई पनि बोल्न दिइएन । मस्यौदा अध्ययनका लागि सबैलाई वितरण गर्न आग्रह गरेको थिएँ । सुनुवाइ नै भएन ।

अहिले विवादको अवस्था बाहिर नदेखाऔं भन्ने मेरो मनसाय हो । तर त्यस अनुरूप भएन । विरोधका रूप तत्कालै आइहाल्यो । विधिवत रूपमा महाधिवेशन सकिएको दुई महिनामा पदाधिकारी चयन गरिसक्नुपर्ने हो । अहिले दृष्टान्त देखाउँदा सुशील कोइरालाको पालामा पनि यस्तै भएको भन्दै उदाहरण दिने गरिएको छ । लोकतन्त्र भनेको निरन्तर सिक्दै परिमार्जन गर्दै जाने व्यवस्था हो । फलानो बेलामा यस्तो भएको थियो, अहिले पनि त्यस्तै गर्छु भन्नु सान्दर्भिक हुँदैन । विगतमा कुनैले ज्यान लिएको थियो भनेर मैले किन मार्न नपाउने भन्न मिल्छ र ? पुरानो परम्परालाई देखाउने पनि एउटा बाहना हो । सुशील कोइरालाले त समयभित्र केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेका थिए ।

कोको  व्यक्ति पदाधिकारी हुन्छन् भन्नेमा पनि चिन्ता होइन । मैले जे गरेँ, त्यही कार्यशैली नै ठीक हो भन्ने प्रवृत्तिबाट म दुःखी पनि छु । त्यो कार्यशैलीलाई स्वीकार गर्ने पक्षमा पनि म छैन । आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै अब मिलेर जाऊँ भन्ने मेरो मनसाय र सदासयता हो । मेरो सदासायतालाई कमजारीका रूपमा हेरियो भने म कमजोर चाहिँ छैन । सीमित गिरोहभित्र नै रमाउने र सबैको सभापति बन्न नसक्ने जुन सोच देखियो । त्यसले पार्टीलाई नयाँ गति दिन्छ भन्ने लागेको छैन । हुकुमी र हाकिम शैली जुन अवलम्बन गरिएको छ । सम्पूर्ण काँग्रेसका साथीहरूले चिन्तन गर्नुपर्ने अवस्था आएको छ । चिन्तित हुनुपर्ने बेला त हुँदै हो चिन्तन गर्ने बेला पनि आएको छ ।

शेरबहादुरलाई सभापतिमा जिताउनमा मेरो सहयोगका विषयमा पनि  प्रश्न उठाइन्छ । मैले असल ठानेर जे गरेको थिएँ । गलत रहेछ । यस्तो भूमिकाले पार्टी चल्दैन । २१औं शताब्दीको पार्टी हुकुमी र हाकिम शैलीबाट चल्न सक्दैन । ठाडो ठाडो तरिकाले बहुमतको आधारमा मैले जे गरे पनि ठीक हुन्छ भन्न पाइँदैन ।

निर्वाचन पराजयपछि बसेको समीक्षा बैठकले दलको आम कार्यकर्तामा नयाँ ऊर्जा दिन सकेन भन्ने तपार्इंको निष्कर्ष हो ?

यही पात्र र प्रवृत्तिबाट दलको पुनः जागरणको आशा रहेन । सुधारका लागि मलाई कुनै नेतृत्वको लोभ पनि होइन । दललाई पुनर्जीवित गरेर होनाहार युवाहरूलाई आउने पाँच वर्षमा सुम्पिनुपर्छ । कुन ठाउँमा बसेर म काम गर्नपर्छ म तयार छु । जनताको भावना जित्ने साथीहरूलाई नेतृत्व सुम्पिनु पनि पर्छ ।

सामूहिक नेतृत्व र सामूहिक जिम्मेवारीको भावनासहित तीव्र रूपमा पार्टीभित्र सुधारको कार्य सञ्चालन गर्नुपर्छ । अहिलेको कार्यशैलीबाट पार्टी चल्दैन । नीतिगत, नेतृत्वगत, संरचनागत, व्यवस्थापनका रूपमा विधिसङ्गत नभएको कुराहरूलाई छानबिन गरेर हामी नयाँ बाटोमा जानुपर्छ ।

सभापतिलाई मैले पनि भोट दिएका कारण उहाँबाट नै सुुधारवादी नेतृत्वको सुरुवात होस् भन्ने चाहान्छु ।

सभापतिले विगतमा पार्टी फुटाउँदा आफूसँग भएका बाहेक अरूलाई आफ्नो बनाउन सक्नुभएकै छैन । सभापतिको शैली बेठीक देखिएको छ । वाद प्रतिवादको घर्षणपछि सत्य निरूपण गरिन्छ ।


 
केन्द्रीय बैठक अघिदेखि तपाईंलाई मध्यधारको नेताका रूपमा चिनिएको थियो । मध्यस्थता गर्दै आउनुभएको तपाईंलाई सभापतिले अवमूल्यन गरेको जस्तो  लागेको हो ?

मलाई अवमूल्यन गरेर केही हुँदैन । तर के भने सिङ्गै पार्टीभित्रको सबै साथीहरूलाई अवमूल्यन गर्नुभयो । शेरबहादुरको पक्षबाट महामन्त्रीमा लडेको मलाई अवमूल्यन गर्नुभयो नै । सभापतिकै प्रतिस्पर्धी रामचन्द्र पौडेलको अवमूल्यन गर्नुभएको छ । उहाँले  आफ्नो समूहभन्दा बाहिर रहेका वरिष्ठ नेताहरूको नै अवमूल्यन गर्नुभएको छ ।

सभापतिले सिमित व्यक्तिको साथ लिएर अहिलेको जटिल अवस्थाको सामाना गर्ने सोच्नुभएको छ । वर्तमानको कठिन परिस्थितिमा एक्लै हिँड्न खोज्दा यसले दलमा ठूलो घाटा ल्याउँछ । उहाँका साथमा पनि केही प्रतिशत कार्यकर्ता होलान् । जनस्तरमा हेर्दा हेर्दा उहाँ अप्रिय देखिनुहुन्छ ।

म अहिले कुनै समूहसँग छैन । पार्टीभित्र सुधारवादी आन्दोलनका निम्ति पौडेल, सिटौला लगायत अन्य नेताहरूलाई सँगै राखेर धेरै पटक कुरा गरेको छु । म सबैसँग एक चरण सल्लाह गरी के गर्ने निर्णय गर्छु । एक पटक खुट्टा चालेपछि म पछि फर्किन्नँ ।


 
हारको जिम्मेवारी कसले लिने विषयमा धेरै नेताले बोले । हारका कारण पहिल्याउने क्रममा विभिन्न कारणहरू प्रस्तुत गरिए । विधान विपरीतका समिति खारेजीको चर्को माग उठ्यो । सहमतिबाट प्रस्ताव ल्याउने भन्दै दुई दिन बैठक लम्ब्याइयो । एक पक्षले सर्वसहमति भनी नसक्दै अर्को पक्षले बहुमतमा लादिएको निर्णय भनियो । पदाधिकारी पनि विधान कुल्चेर नै मनोनयन गरियो । 

बैठक हात्ती आयो, हात्ती आयो– फुस्सा जस्तै भयो नि ?

हुकुमी र हाकिमी शैली जुन सामान्तवादी अर्थात जिम्मलवाला प्रवृत्तिले एक्काइसौं शताब्दीमा सामाना गर्न सकिँदैन । सभापतिमा सबैलाई संयोजन गर्ने शक्ति हुनुपथ्र्यो । त्यस अनुरूप गर्नसक्नुभएन ।

सभापतिको राजीनामा माग्ने पक्षमा पनि म छैन । निर्वाचित सभापतिलाई कि त प्रक्रियागत रूपमा हटाउनुपर्छ कि सुधार गर्नुपर्ने हुन्छ । सुधार गर्ने नै हाम्रो प्रयत्न हो । काँग्रेसमा रहेका भिन्न–भिन्न समूहलाई एकै ठाउँमा मैले वार्ता र संवाद गरकै थिएँ । सभापति मात्रै पनि जिम्मेवार होइन । कुनै बाटो निकाल्न पर्छ भन्ने नै मेरो धारणा हो । मुली जति जिम्मेवार होला त्यति नै मेरो जिम्मेवारी नहोला । तर जिम्मेवारी आफ्नो हैसियत अनुसारको हुन्छ नै ।

मैले जे गरें, त्यही नै ठीक हो भन्ने शैली अधिनायकवादी शैली हो । सल्लाह, विमर्श केही पनि छैन । आफूसँग नजिक भएका चार जनासँग मात्रै सल्लाह गरेर मात्रै हुन्छ ? यत्रो ठूलो पार्टीमा आफ्नो कुरा मात्रै अन्तिम सत्य भन्ने हुन्छ ? पार्टीमा परिस्थिति जसरी विकास भएको छ, त्यसले हामी गम्भीर हुनुपर्ने अवस्था छ ।

बैठकमा मिलेर र मिलाएरै जानुपर्छ भन्ने मेरो दृढता थियो । भाषा, शब्द, शैलीका लागि एक पटक सबै सदस्यलाई अध्ययन गर्न दिएको भए धेरै विषय मिल्ने थिए । महामन्त्रीले पढ्ने, सभापतिले पास पास भन्ने । यस्तो अलोकतान्त्रिक प्रक्रिया पनि कहीँ हुन्छ । गिरिजा, सुशीलको पालामा पनि छलफल र ड्राफ्ट पेश भइसकेपछि पुनः केही व्यक्ति राखेर सबैको विचार समेट्ने गरी प्रस्ताव पेश हुने प्रचलन थियो । म काँग्रेसको केन्द्रीय सदस्य भएको १८–१९ वर्ष भयो । कहीँ कहिले पनि नदेखेको परिघटना देखेँ । एक पटक ड्राफ्ट वितरण नगरी पनि पास गर्न मिल्छ ? यस्तो निरङ्कुश तरिका पनि हुन्छ ? यस प्रकारले अघि बढ्न जसले अभिप्ररित गरे पनि गलत बाटोतिर सभापतिलाई हिँडाइरहेका छन् ।

सभापतिले दलमा अधिनायकवाद स्थापित गर्ने कोसिस गर्दैछन् भनेर काँग्रेसकै नेताहरू भन्छन् । तपाईंको यसप्रति धारणा ?

राजाको अधिनायकवाद त ढल्यो । पार्टीभित्रको अधिनायकवाद पनि ढल्छ । उहाँले पार्टी कब्जा गरेदेखि पार्टी अझ कमजोर भएर जान्छ ।

पार्टी कब्जा होइन । वाम गठबन्धनसँग सशक्त मुकाविला गर्नुपर्ने बेला हो । एक भएर बढौं भन्ने हाम्रो सोच हो । सभापतिले विगतमा पार्टी फुटाउँदा आफूसँग भएका बाहेक अरूलाई आफ्नो बनाउन सक्नुभएकै छैन । सभापतिको शैली बेठीक देखिएको छ । वाद प्रतिवादको घर्षणपछि सत्य निरूपण गरिन्छ । पार्टीभित्रका विविधतालाई पनि त्यसैगरी संयोजन गर्नुपर्छ । द्वन्द्व व्यवस्थापन भनेको हिंसात्मक आन्दोलन गर्ने पक्षसँग मात्रै हुँदैन । सबैको यथोचित सम्मानका लागि घर, पविार, पार्टी सबैतिर साझा स्वामित्वको परिस्थिति निर्माण गर्नुपर्छ । केन्द्रीय समितिमा बहुमत भएकैले सबैलाई पेलेर जानसक्छु भन्ने सभापतिको गलत सोच छ ।

दलमा फरक धारका नेताहरूको कुरा नै सुन्न नचाहने पार्टी सभापति । दलमा गुट उपगुट विस्तार हुँदैछन् । बलियो प्रतिपक्षको भूमिका काँग्रेसबाट अपेक्षा नगरे पनि भयो है ?

मलाई चिन्ता नै त्यही हो । केन्द्र, प्रदेश, गाउँ र नगरमा प्रतिनिधित्व गरिरहेका काँग्रेसका निर्वाचित सदस्यहरूलाई संयोजन गरेर अघि बढ्नुपर्ने अवस्था छ । तर पार्टी सेट व्याक भयो । दुखद् घटनाक्रम सुरु भएको छ ।

काँग्रेस कमजोर हुँदैन भन्नेमा म ढुक्क छु । कसैले पार्टी कब्जा गर्न खोज्दैमा जनता त कब्जा हुँदैनन् । कार्यकता सबै कब्जा हुँदैनन् । कार्यकर्ताको आत्मबल बढाउने, नयाँ सोच विचारसहित पार्टीभित्र आन्दोलन गर्नु बाध्यात्मक अवस्थाहरू देखिँदैछन् ।

अब अन्तिममा, आम नागरिकको तर्फबाट वर्तमान सरकारको सकरात्मक प्रयासका रूपमा यातायात सिन्डिकेटको खारेजीलाई लिएका छन् । राज्यका सबै अङ्गले साथ दिएको विषयमा काँग्रेसले किन विरोध गर्नुपरेको ?

काँग्रेस त्यसको विपक्षमा छैन । काँग्रेसले संस्थागत रूपमा कुनै निर्णय गरेको छैन । सिन्डिकेट तोडिनुपर्छ भन्ने पक्षमा छौं । तर व्यवसायीको लगानी सुरक्षालाई पनि ध्यान दिनुपर्छ । सन्तुलित तरिकाले होस भन्ने हाम्रो दृष्टिकोण पक्कै हो । देशका अरू क्षेत्रमा पनि सिन्डिकेट छ । विगतको परम्परा हो । हाम्रै पार्टीमा पनि सिन्डिकेट छ ।

सिन्डिकेट तोड्दै जाने कुरामा काँग्रेसको साथ रहन्छ । मुख्य सचिवले धरपकडको विरोधमा विज्ञप्ती निकाल्नु स्वभाविक हो । विपक्षी दलले धरपकडका विषयमा बोल्नुपर्छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ