शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेयर दाहालको निर्देशन : गुणस्तरीय शिक्षा प्रदान गर्न सक्रिय बन्नुस्

सोमबार, २२ असोज २०७५, १८ : १९
सोमबार, २२ असोज २०७५

चितवन– भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्रिय भएर लाग्न निर्देशन दिएकी छन् ।

सोमबार भरतपुर महानगरपालिका शैक्षिक महाशाखाले गरेको सामुदायिक माध्यामिक विद्यालयका प्रधानाध्यापकहरूको बैठक तथा आर्थिक वर्ष ०७५ र ०७६ को बार्षिक बजेट कार्यक्रम प्रबोधीकरणमा महानगर प्रमुख दाहालले प्रधानाध्यापकहरुलाई पठनपाठनलाई व्यवस्थित बनाई उत्कृष्ट नतिजा निकालेर देखाउन आग्रह गरिन् ।

‘नतिजाको आधारमा शिक्षक र विद्यालयलाई पुरस्कृत गरिनेछ’ उनको भनाई छ । कार्यक्रममा उनले विद्यालयमा दरबन्दी मिलान गरी आवश्यक विद्यालयमा दरबन्दी पठाइने विश्वास समेत दिलाइन् । ‘भौतिक निर्माणको लागि विशेष पहल गरिनेछ, विद्यालय समायोजनलाई प्राथमिकता दिएर थोरै विद्यार्थी भएका विद्यालयलाई ठूला विद्यालयसँग समायोजन गरिनेछ’ उनले भनिन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले विद्यालयका प्रअहरूलाई शैक्षिक गुणस्तर वृद्धिमा दृढ भएर अगाडि बढ्न आग्रह गरिन् । उनले भरतपुर महानगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी काम अगाडि बढाइरहेको बताइन् । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले शैक्षिक गुणस्तर वृद्धिमा शिक्षक, शिक्षिकाहरूको महत्वपूर्ण भूमिका हुने भएकाले इमान्दार भएर कार्य सम्पादन गर्न आग्रह गरे ।

उनले भरतपुरमहानगरपालिका शिक्षा क्षेत्रको गुणस्तरीय विकासको लागि सँधै क्रियाशील रहेको बताए । नारायणी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघका सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले भरतपुर महानगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर वृद्धि र पर्वाधार विकासका लागि महत्वपूर्ण नीति र योजनाहरू प्रस्तुत गरेकोमा महानगरलाई धन्यवाद दिए ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख दीपेन्द्र सुवेदीले भरतपुर महानगरपालिकाले विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक गतिविधि सञ्चालनमा सहजीकरण गर्न महत्वपूर्ण छलफल गरेकोमा धन्यवाद दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्न सबै इमानदार भएर अगाडि बढ्नुको विकल्प नभएका बताए । 

भरतपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख भूमिलाल सूवेदीले भरतपुर महानगरपालिकाले शिक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको बताए । उनले छात्रवृत्ति कार्यविधि निर्माण तथा शिक्षक कर्मचारी दरबन्दी मिलान प्रक्रिया सुरू गरिएको बताए । 

महानगरले गुणस्तरीय र व्यावहारिक शिक्षा नीति लिएको बताउँदै उनले विद्यालयको क्षैक्षिक गुणस्तर बृद्धि र भौतिक पूर्वाधार विकासमा जोड दिएको बताए । भरतपुर महानगरपालिकाभित्र १२३ वटा सामुदायिक विद्यालय, ९६ वटा निजी विद्यालयहरु छन् ।

 महानगरमा ९७४ जना तालिम प्राप्त शिक्षक छन् । शिक्षक विद्यार्थीको अनुपात २१.६ प्रतिशत छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप