केन्द्रीय संस्करण

बङ्गलादेश जाने खेलाडीको बिदाई

person access_timeकात्तिक २१, २०७५ chat_bubble_outline0

काठमाडौँ– सत्रौँ एसियाली खुला कराते च्याम्पियनसिपमा सहभागी हुन बङ्गलादेश जाने तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोलीलाई आज बिदाई गरिएको छ । 

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो । खेलाडीलाई बिदाई गर्दै राखेप सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिए । यही कात्तिक २३ देखि २५ गतेसम्म सो प्रतियोगिता बङ्गलादेशको ढाकामा हुँदैछ ।

प्रतियोगिताको पुरुषमा राकेश महर्जन र भीमबहादुर थापा तथा महिलामा आस्मी तामाङले खुला तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । 

अन्तर्राष्ट्रिय कराते अर्गनाइजेसन (आईकेओ) क्योकुसिनकाइ, बंगलादेशको आयोजनामा हुने प्रतियोगितामा राजु तुलाधरले टिम व्यवस्थापक तथा चन्द्रश्याम डंगोल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । नेपाली टोली बुधबार बंगलादेशको ढाका जानेछ । 

मुल्मीको अध्यक्षतामा स्नुकर संघ पुनर्गठन 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्नुकरका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीको अध्यक्षतामा नेपाल विलियर्ड स्नुकर तथा पुल संघ आज पुनर्गठन गरेको छ । पुनगर्ठित संघको उपाध्यक्षमा विन्देश्वर श्रेष्ठ, ध्रुव तुलाधर, मनोज खड्गी, हीरा दाहाल र गोपाल माली, महासचिवमा केशवराज अधिकारी, सचिवमा मुकेश बुढाथोकी, सह–सचिवमा सञ्जयकुमार मुल्मी, कोषाध्यक्षमा गंगाराम श्रेष्ठ तथा सह–कोषाध्यक्षमा केशर मल्ल रहेका छन् । 

सदस्यमा राजन लामा, सरोज कार्की, एलिना महर्जन, विवश केसी, निर्मल पाण्डे, मनोजकुमार सिंह, मनोज केसी, राधा श्रेष्ठ, सुवास राई, गजराज खड्का र राखेपबाट २ प्रतिनिधि छन् । पदाधिकारीहरुलाई राखेपका सदस्य–सचिव विष्टले आज प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । पुनर्गठित संघलाई समय साक्षेप विधान संशोधन गरी राखेपबाट स्वीकृति लिइ तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ