केन्द्रीय संस्करण
यातायात

टुटल बहस : बन्द होइन व्यवस्थापनको खाँचो

person explore access_timeमाघ ३, २०७५ chat_bubble_outline0
मदन ढुङ्गाना

रातोपाटी

ढुङ्गेधारा बनस्थलीबाट पुल्चोकसम्मको दूरी करिब ७ किलोमिटर छ । कार्यालय समयमा सवारीसाधन प्रयोग गर्नु पर्यो भने करिब ४५ मिनेट लाग्छ । 

अझ समय कम छ र भाडाका सवारीसाधनमा झुण्डिएर जान सकिने अवस्था छैन भने ट्याक्सी नै प्रयोग गर्नुपर्छ । तर ट्याक्सी प्रयोग गर्न पनि सहज छैन । कार्यालय समयमा ट्याक्सी पाइहाल्न सहज छैन, मिटरमा जान नै पनि महँगो छ, त्यसमाथि थप पाइहालेको ट्याक्सी पनि हत्तपत्त मिटरमा जान मान्दैन । उनीहरूको भाषामा हमद अर्थात् ‘मोलमोलाइ’मा ट्याक्सी चढ्नुपर्ने हुन्छ । त्यसको सोझो मार– सामान्यतः महँगो, भाडा दरभन्दा पनि बढी पैसा तिर्न बाध्य होइन्छ ।  छ । 

यो सात किलोमिटरको यात्रा गर्न ट्याक्सीमा आउने हो भने चढ्नेबित्तिकै १४ रुपैयाँ र त्यसमा प्रतिकिलोमिटर ३९ रुपैयाँ तिर्नुपर्छ ।

बाटोमा जाम परेन र सरासर आउन पाइयो भने पनि बनस्थली ढुङ्गेधाराबाट पुल्चोक आइपुग्न २ सय ८७ रुपैयाँ तिर्नुपर्छ ।

अझ बाटोमा आउँदा जाम पर्यो भने वेटिङ चार्ज पनि थप तिर्नुपर्छ । यसो गर्दा कम्तीमा पनि ३ सय रुपैयाँ ट्याक्सीलाई तिर्नैपर्छ । 

यो त ट्याक्सीमा ‘छुस’ नहानी इमानदार चालकले लिने भाडा मात्रै हो । एकातिर कतिपय ट्याक्सीले विभिन्न स्थानमा अर्थिङ जोडेर छुस हान्छन् भने धेरैजसो चालकले ‘कति दिने’ भनेर सोध्छन् । मिटरमा हिँड्न अधिकांश ट्याक्सी मान्दै मान्दैनन् । 

यो ट्याक्सीको लुट हो कि बाध्यता हो वा राज्यको निरिहता, त्यो बेग्लै चर्चा र बहसको विषय हो । अहिले टुटल र पठाओको कुरा गर्दैगर्दा त्यो त्यतातिर प्रवेश नगरेकै राम्रो । 
अतः सस्तो मूल्यमा लिफ्ट दिने केही सेवा प्रदायकको कुरा जोडौं । 

सन् २०१७ को जनवरीबाट सुरु भएको एउटा सेवा हो टुटल । टुटल एउटा यस्तो सेवा हो जसले निजी मोटरसाइकलबाट सस्तो मूल्यमा गन्तव्यमा पुर्याइदिन सक्छ । ठ्याक्कै भन्ने हो भने ट्याक्सीभन्दा आधा मूल्यमै । 

अब अघिकै स्थान र दूरीको कुरा टुटलसँग दाँजौँ । 

ढुङ्गेधारा बनस्थलीबाट पुल्चोकसम्मको दुरी त्यही ७ किलोमिटर नै हो । तर यदि हामीले टुटल प्रयोग गरी त्यहाँ पुग्न चाह्यौँ भने समय र पैसा दुवैको बचत हुन्छ ।

टुटलले पहिलो ३ किलोमिटरसम्मको दुरीलाई जम्मा ६० रुपैयाँमा सेवा दिन्छ । उदाहरणको लागि यदि बनस्थलीबाट लैनचौरसम्मको दुरी ३ किलोमिटर वा सोभन्दा कम छ भने जम्मा ६० रुपैयाँ तिरेर यात्रा गर्न सकिनेछ । 

यदि दूरी ३ देखि ६ किलोमिटरभित्र छ भने ३ किलोमिटरपछि प्रत्येक १ किलोमिटरको थप १८ रुपैयाँ तिर्नुपर्छ । 

यदि यात्रा गर्नुपर्ने स्थान ६ किलोमिटरभन्दा बढी छ भनेचाहिँ ६ किलोमिटरपछि प्रतिकिलोमिटर २५ रुपैयाँको दरले तिर्नुपर्छ । 

अब बनस्थलीबाट पुल्चोक आउने भाडा हेरौँ । 

पहिलो ३ किलोमिटरसम्म ६० रुपैयाँ । 

अर्को ३ किलोमिटरको ५४ रुपैयाँ । 

र, बाँकी १ किलोमिटरको २५ रुपैयाँ । 

७ किलोमिटरको कुल भाडा १ सय ३९ रुपैयाँ ।

अब समयको कुरा गरौं ।

ट्याक्सीलाई करिब ४५ मिनेट लाग्ने यो दूरी पार गर्न एउटा मोटरसाइकललाई करिब १५ मिनेट लाग्छ । राइडर अर्थात् चालकलाई छोटो बाटो बारेमा राम्रो जानकारी छ भने त्योभन्दा कम समयमै गन्तव्यमा पुर्याइदिन सक्छ । 

अब यी दुईको तुलना गर्नुहोस् । धेरै समय लगाएर दुईगुणाभन्दा बढी रकम तिरेर यात्रा गर्ने कि आधाभन्दा कम शुल्क तिरेर छोटो समयमै गन्तव्यमा पुग्ने । 

पछिल्लो समय धेरैको रोजाइमा परेको थियो टुटल र पठाओ । 

जब टुटल र पठाओमाथि कारवाही सुरु भयो...

तर महानगरीय ट्राफिक प्रहरीले केही दिन अघि मात्रै टुटल र पठाओको सेवा दिइरहेका केही मोटरसाइकलमाथि कारवाहीको सिलसिला सुरु गर्यो, यसले सोसल मिडियादेखि राजनीतिक वृत्तमा बहस सिर्जना गरिदियो । 

महानगरीय ट्राफिक प्रहरीले गैरकानुनी ढङ्गले निजी मोटरसाइकलको प्रयोग गरी व्यावसायिक प्रयोजनमा प्रयोग गरेको भन्दै ४ वटा मोटरसाइकलमाथि कारवाही गर्यो । प्रहरीले यातायात व्यवस्था ऐनविपरीत एउटा प्रयोजनका लागि दर्ता भएको सवारीसाधनले अर्को प्रयोजनमा प्रयोग गरेको भन्दै ऐन अनुसार प्रतिमोटरसाइकल १ हजार रुपैयाँ जरिवाना गरेको छ । 


अब ऐनमा भएको व्यवस्था हेरौँ । 

यातायात व्यवस्था ऐन २०४९ को दफा ८ मा निजी सवारीबारे उल्लेख गरिएको छ । दफा ८ मा यस्तो भनिएको छ । 

(१) निजी प्रयोगका लागि दर्ताको प्रमाणपत्र प्राप्त सवारीलाई निजी सवारी भनिनेछ । 

(२) निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन । 

(३) निजी सवारीको पहिचानको लागि सो सवारीको अगाडि तथा पछाडि अनुसूची २ को खण्ड (ग) मा लेखिए बमोजिमको नम्बर प्लेट राख्नु पर्छ । 

अब अनुसूची २ को खण्ड ग हेरौं । 

त्यहाँ ‘रातो प्लेटमा सेतो अक्षर र अङ्कमा लेखिएको हुने पर्नेछ’ भनी उल्लेख गरिएको छ । 

मतलब निजी सवारीको नम्बर प्लेट रातोमा सेतो अक्षरले लेखिएको हुनुपर्ने भनेको छ । 

यहाँ निजी सवारीसाधनले यातायात सेवा दिन नपाइने कुरा उल्लेख गरेको छ । मतलब पैसा लिएर यात्रु ओसार्ने काम गर्न यो ऐनले बन्देज लगाएको छ । 

अब यातायात व्यवस्था ऐनको दफा १२ हेरौँ ।

ऐनको दफा १२ मा अन्य प्रयोजनको निम्ति प्रयोग गर्न नहुने बारे लेखिएको छ । 

ऐनको दफा १२ को उपदफा १ मा यस्तो लेखिएको छ । 

‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन ।’

हो अहिले ट्राफिक प्रहरीले यसै ऐनका आधारमा टुटल र पठाओमा काम गरिरहेका केही राइडर (चालक)लाई कारवाही गरिएको छ । 

उजुरी आएपछि कारवाही थालेका छौँ : ट्राफिक प्रहरी

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तका अनुसार यसबारेमा उजुरी आएपछि कारवाही थालिएको बताउँछन् । 

हेलो सरकारबाट ‘केही मोटरसाइकलले विभागबाट अनुमति नलिई यात्रु बोक्ने काम गरिरहेको भन्ने उजुरी आएकाले त्यसबारे के भएको हो बुझी कारवाही गर्नु’ भन्ने निर्देशन आयो । ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐन पल्टायो । ऐनमा रातो नम्बर प्लेटले व्यावसायिक प्रयोजनमा प्रयोग गर्न नपाउनेबारे उल्लेख भएको भेट्टायो । अनि सुरु भयो, कारवाहीको प्रक्रिया । 

एसएसपी पन्तका अनुसार अहिले प्रहरीले ४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारवाही चलाएको छ । ऐनविपरीत एक प्रयोजनका लागि दर्ता भएर अर्को प्रयोजनमा प्रयोग गरेको पाइएपछि उनीहरूलाई प्रतिमोटरसाइकल १ हजार जरिवाना गरी छाडिएको छ । 

एसएसपी पन्तका अनुसार यातायात व्यवस्था विभागले यसअघि नै केही अधिकार ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरी कारवाही गर्न सक्ने अधिकार दिएको थियो । त्यही आधारमा ट्राफिकले कारवाही थालेको हो । 

ऐनविपरीत काम गर्न मिल्दैन : यातायात व्यवस्था विभाग

यता यातायात व्यवस्था विभाग पनि ऐनविपरीत काम गर्न नमिल्ने बताउँछ । यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार ऐनविपरीत काम गरेपछि कारवाही हुनु सामान्य कुरा हो ।

उनले भने ‘औपचारिक रूपमा कारवाही गरिएको बारे जानकारी आएको छैन । तर मिडियाबाट यसबारेमा जानकारी पाएका छौँ । हामीले लिखितरूपमा कारवाही गर्नुस् भनेर भनेका छैनौँ । तर ट्राफिक प्रहरीले यसअघि गरिएको अधिकार प्रत्यायोजनबाटै कारवाही गर्न भने सक्छ । 

ट्याक्सीवालाको उजुरीपछि एक्सन !

टुटल र पठाओले यात्रु बोक्न थालेपछि ट्याक्सीको आम्दानी घटेको भन्दै विभागमा पटक–पटक उजुरी परेको थियो । ट्याक्सीको एउटै नम्बरप्लेटका लागि अहिले ६ लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्छ । अनि ट्याक्सीको दैनिक खर्च पनि बढी छ । तर ट्याक्सीभन्दा छिटो र आधा खर्चमा यात्रा गर्न पाउने भएपछि मानिसहरू ट्याक्सीको सट्टा टुटल र पठाओ प्रयोग गर्न थाले । त्यसपछि अत्तालिएका ट्याक्सी चालक र धनीले कारवाहीका लागि पटक–पटक अनुरोध गरेका थिए । त्यसपछि यो एक्सन आएको धेरैको बुझाइ छ । 

नियन्त्रण होइन नियमन गर्नुस् : टुटल

मोटरसाइकलबाटै लिफ्ट दिने प्रविधि भित्र्याउने व्यक्ति हुन् शिक्षित भट्ट । टेलिकिम इन्जिनियर हुँदै एमबीएका गोल्ड मेडलिस्ट भट्टको कन्सेप्ट थियो यो । ट्याक्सीको ठगी र बार्गेनिङ तथा समयको बर्बादी देखेपछि उनले टुटलको अवधारणा ल्याएका थिए ।

सन् २०१७ को जनवरीबाट सेवा सुरु दिन थालेको टुटल १ वर्ष बूढो भएपछि मात्रै चर्चामा आउन थालेको थियो । 

सन् २०१९ को जनवरीबाट नयाँ ढङ्ग तथा समयको बर्बादी देखेपछि उनले टुटलको अवधारणा ल्याएका थिए ।

सन् २०१७ को जनवरीबाट सेवा सुरु दिन थालेको टुटल १ वर्ष बूढो भएपछि मात्रै चर्चामा आउन थालेको थियो । 

र, सन् २०१९ को जनवरीबाट नयाँ ढङ्गले जान चाहेको थियो ।

तर वर्षको सुरुवातमै टुटलमाथि आक्रमण भयो । 

हुन त टुटलले यसअघि नै वैधानिक बन्न प्रयास गरेको थियो । तर ऐन र सरकारले ‘अप्सन बी’ नदिएपछि के गर्ने भन्ने अलमलमा थिए उनीहरू । 

ऐन संशोधनका लागि आग्रह गरिए पनि कसैले सुनेका थिएनन् ।

तर जब टुटल र पठाओमाथि आक्रमण भयो, तब यसले बहस सिर्जना गर्यो । 

अब भने टुटलले बिस्तारै वैधानिकता पाउने आशा छ भट्टमा ।

सोसल मिडियादेखि राजनीतिक तहमा बहस सुरु भएपछि यतिबेला यातायात मन्त्रालयले ऐन नै संशोधन गर्नेगरी तयारी गरेको छ । अबको केही दिनमा नै टुटल, पठाओ तथा विवाहलगायतमा प्रयोग हुने सवारीसाधनलाई सम्बोधन गर्ने गरी ऐनको मस्यौदा बाहिर आउने अपेक्षा गरिएको छ । 

सस्तो तर ‘असुरक्षित’

तर टुटल र पठाओ लगायतका यस्ता सेवा प्रयोग गर्दै गर्दा बढेको चिन्ता चाहिँ सुरक्षाको हो ।

अहिले सार्वजनिक सवारीसाधनले यात्रुको समेत बिमा गर्नैपर्ने व्यवस्था गरेको छ । तेस्रो पक्ष बिमा अनिवार्य गर्दैगर्दा यात्रु र बाटोमा हुने दुर्घटनालाई सम्बोधन गरेको छ । 

तर निजी मोटरसाइकल प्रयोग गरी दिइने यस्तो सेवामा विमा अनिवार्य छैन । यदि बिमा नगरिएको मोटरसाइकल प्रयोग गरी टुटल वा पठाओ प्रयोग गर्ने र त्यस्तो मोटरसाइकल दुर्घटनामा परे उपचार वा क्षतिपूर्ति कसले दिने भन्ने टुङ्गो लागेको छैन । 

त्यसबाहेक टुटल वा पठाओ कतिको सुरक्षित छ भन्ने बहस पनि जरुरी छ । के यहाँ यात्रा गर्दा सुरक्षित भइन्छ त ? मुख्य सवाल यही हो । यदि कुनै चालकले अनुचित व्यवहार गरे वा कुनै आपराधिक क्रियाकलाप गरे भने त्यसको जिम्मेवारी कसले लिने ?

यस विषयमा हामीले टुटलका सीईओ शिक्षित भट्टसँग कुराकानी गर्यौँ । 

शिक्षितका अनुसार सुरुमा बिमा अनिवार्य नगरिए पनि विगत ६ महिना अगाडिदेखि बिमा अनिवार्य गरिएको छ । त्यसबाहेक टुटलले ब्लक इन्सुरेन्स पनि गराउने प्रयास गरेको थियो । तर ऐनले ‘इलिगल’ बनाइदिएपछि त्यो सम्भावना रहेन । तर यदि सरकारले अनुमति दिएमा इन्स्योरेन्सलाई व्यवस्थित गर्ने भट्टको योजना छ ।

अहिले कुनै यात्रुले टुटल प्रयोग गर्छन् भने उनी गन्तव्यमा नपुग्दासम्म मोबाइलको डाटा अफ गर्न पाइँदैन । जसबाट चालक र मोटरसाइकलको ट्रेस गरिन्छ । उनीहरूको गतिविधि नियालिन्छ र सुरक्षालाई मजबुत बनाइन्छ । 

प्रत्येक चालक (राइडर) र यात्रुको डिटेल्स कम्पनीसँग सुरक्षित हुने हुँदा यदि कसैले कुनै अनुचित व्यवहार गरेमा उनीहरूलाई तत्काल कारवाही गरिन्छ । 

सीईओ भट्टका अनुसार अनुचित व्यवहार गर्ने २ जना चालकलाई प्रहरीको खोरसम्म पुर्याई उनीहरूलाई सेवा दिनबाटै वञ्चित गरिएको छ । भट्टका अनुसार सकेसम्म सुरक्षित बनाउने प्रयास भएको छ । 

५० प्रतिशत महिला यात्रु

अहिले टुटलले दैनिक ३ देखि ४ हजार यात्रुलाई सेवा दिन्छ । उनीहरूमध्ये आधा यात्रु (युजर) महिला रहेको टुटलको भनाइ छ । केही सामान्य गुनासो र उजुरी आए पनि जटिल प्रकृतिको उजुरी नआएको र यात्रुहरू सुरक्षित र खुसी नै रहेको उनी बताउँछन् ।

यसरी कमाउँछन् राइडर (चालकले)

अहिले टुटल पार्टनर प्रयोग गर्ने सवारीसाधनले सामान्य अवस्थामा कुल आम्दानीको ८० प्रतिशत कमाउँछन् । यदि कुनै यात्रुले टुटल प्रयोग गरी १ सय रुपैयाँ तिर्यो भने ८० रुपैयाँ चालकलाई र २० रुपैयाँ टुटललाई जान्छ । तर यदि चालकले दैनिक ५ वटा भन्दा बढी लिफ्ट दिएमा उसलाई ९६ प्रतिशत आम्दानी दिइनेछ भने टुटलले ४ प्रतिशत मात्रै आम्दानी राख्नेछ ।

आफूसँग मोटरसाइकल भएको व्यक्तिले टुटलको एप डाउनलोड गरी भेरिफाई भएपछि यो सेवा दिन सक्नेछन् । कामकाजी व्यक्तिले पनि घरबाट अफिस आउँदा वा अफिसबाट घर जाँदा अर्को कुनै यात्रुलाई पैसा लिएर लिफ्ट दिन सक्नेछन् । जसबाट सामान्य अवस्थामा पनि दैनिक पेट्रोल खर्च र सामान्य मर्मत खर्च उठाउन सक्नेछन् भने यात्रुले पनि बिना तनाव सस्तो शुल्कमा ट्याक्सीकै सेवा लिन सक्नेछन् ।

बन्द गर्ने कि व्यवस्थापन ?

टुटल र पठाओमाथि कारवाहीको प्रक्रिया सुरु भएपछि यसको व्यापक विरोध भएको छ । विरोधपछि ट्राफिक प्रहरी पनि केही व्याक भएको छ भने यातायात मन्त्रालयले पनि ऐन संशोधनको तयारी गरेको छ । यातायात व्यवस्था ऐनमा संशोधन गरी अब यस्ता सेवालाई व्यवस्थित गर्नेतर्फ सरकार लागेको र तत्कालै केही सम्बोधन हुने विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्याय बताउँछन् ।

आवश्यकताले पनि ऐन बन्छ : सीईओ शिक्षित भट्ट

टुटलका सीईओ शिक्षित भट्ट पनि अब यस्तो सेवालाई व्यवस्थित गर्नुपर्ने बताउँछन् । २०४९ सालको अवस्था र हालको अवस्थामा धेरै परिवर्तन आइसकेको भन्दै कतिपय ऐन वा नीति आवश्यकताले निर्धारण गर्ने र बनाउने गरेको उनी बताउँछन् । गणतन्त्र पनि आवश्यकताले आएको भन्दै अब ऐनमा केही संशोधन गरी लिगलाइज गर्नुपर्ने बताउँछन् । 

अहिले करिब १० मध्ये ८ वटा मोटरसाइलमा एकजना मात्रै यात्रु हुने गरेको भन्दै उपत्यकामा गुड्ने १० लाख मोटरसाइकलमध्ये आधाले मात्रै यो सेवा दिने हो भने पनि ट्राफिक जाममा व्यापक सुधार आउने उनको दाबी छ ।

यता नेपाल विद्यार्थी सङ्घले पनि टुटल र पठाओमाथि भएको ‘हमला’ गलत भएको भन्दै तत्काल अनुमति दिन आग्रह गरेको छ । 

टुटल र पठाओलाई सञ्चालनमा रोक नलगाउन प्रधानमन्त्रीको निर्देशन

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्रै यातायात मन्त्री रघुवीर महासेठलाई निर्देशन दिँदै स्कुटर र मोटरसाइकलले मान्छे ओसारेको नाममै कारवाही नगर्न निर्देशन दिएका छन् । पहिलेजस्तै सञ्चालनमा आउन दिन प्रधानमन्त्रीले यातायात मन्त्रीलाई निर्देशन दिए पनि यो निर्देशन अल्पकालीन हो । तर दीर्घकालमा के गर्ने भन्ने योजना सरकारसँग छैन । 

सरकार भने अझै के गर्ने भन्ने अन्योलमै छ । ‘आवश्यकताले ऐन बनाउने’ वा ऐनअनुसार नियन्त्रण गर्ने दुई विकल्प सरकारसँग छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...