शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पको मध्यावधि पूरा : बनेन मेक अमेरिका ग्रेट अगेन

सोमबार, ०७ माघ २०७५, १४ : १७
सोमबार, ०७ माघ २०७५

आज जनवरी २०, २०१९  ।  दुई वर्षअघि आजकै दिन डोनल्ड ट्रम्प ठुला सपनाका साथ अमेरिकाको ४५औं राष्ट्रपतिका रूपमा ह्वाइट हाउस प्रवेश गरेका थिए  ।  सन् २०२१ को जनवरी २० सम्मको चारवर्षे राष्ट्रपतिकालको आधा समय बितिसकेको छ  ।  यतिबेला उनको मध्यावधि मूल्या्कन गर्दा कतिपय सपना चकनाचुर भएका छन् भने कतिपय चकनाचुर हुने सम्भावनातिरै बढेका छन्  ।  

‘अमेरिका फस्टु’ र मेक ‘अमेरिका ग्रेट एगेन’को सपना देखाएर राष्ट्रपति जितेका ट्रम्प मूलतः मेक्सिको सिमानामा पर्खाल लगाउने, ओबामा केयर हटाउने र आप्रवासी फिर्ता पठाउनेलगायतका एजेन्डाका साथ राष्ट्रपति बनेका थिए  ।  तर आधा कार्यकाल बित्दा पनि ती एजेन्डा कार्यान्वन हुन सकेका छैनन् र बाँकी दुई वर्षमा किनारा नलाग्ने सम्भावनातिरै बढिरहेका देखिन्छन्  । 

ट्रम्पको मूल मुद्दा मेक्सिको सिमानामा पर्खाल लगाएरै छोड्ने र त्यसको पैसा मेक्सिकोलाई तिराउने थियो  ।  यसबीचमा मेक्सिकोले तिर्ने कुरै आउँदैन भनेर उनको एजेन्डा नै खारेज गरिदिएको छ भने आफ्नै पैसामा बनाउने सम्भावना पनि सदाका लागि टाढिँदै छ  ।  अहिले उनी त्यही एजेन्डाका लागि ५, ७ बिलियन अमेरिकी डलरको पर्खाल बजेट नदिएसम्म गभर्मेन्ट सटडाउनको पासो थापिरहेका छन् । विडम्बनाकै कुरा हो, उनले ह्वाइट हाउस प्रवेश गरेको दोस्रो वार्षिकोत्सव मनाइरहदा अमेरिका ३० दिने कीर्तिमानी गभर्मेन्ट सटडाउन भोगिरहेको छ । 

यसबीचमा ट्रम्पले आप्रवासीप्रति आफ्नो कडा रवैया प्रस्तुत गर्दै अध्यागमनसम्बन्धी विभिन्न आदेश जारी गरेर कार्यकारी आदेशको कीर्तिमान नै बनाए । तीमध्ये केही कार्यान्वयन भए पनि अधिकांश आदेश अदालतले रोक लगाइदिँदा कार्यान्वयन नै भएनन् । परिणामतः उनी न्यायाधीश र अदालतसँग पनि धेरै पटक आमनेसामने हुँदा उनको अदालतविरोधी छवि बन्यो । 

जहाँसम्म सदनबाट अध्यागमन विधयेक पारित गर्ने कुरा थियो, रिपब्लिकन बहुमत भएको बेला त्यस्तो सम्भावना हुँदाहुँदै पनि त्यसका लागि उनले कुनै तत्परता नै देखाएनन् । अब त क्यापिटल हिलमा डेमोक्रेटको बहुमत कायम भएको छ । बाँकी दुई वर्षमा त्यस्तो कुनै सम्भावना देखिँदैन । 

राष्ट्रपति ट्रम्पले बितेको दुई वर्षको अधिकांश समय ट्विटरमार्फत् मिडियासँग झगडा गरेरै बिताए । मूलधारका खासगरी अमेरिकी उदार मिडियालाई फेक मिडिया भन्दै उनले आक्रमण गरिरहे । सीएनएन र द न्युयोर्क टाइम्सलाई स्थायी शत्रुका रूपमा व्यवहार गर्दै उनले उनीविरूद्धका समाचारलाई फेक न्युज, फोनी स्टोरी भनिरहे ।  मिडिया पनि उनले बोलेका झुटको सङ्ख्या गन्दै उनीविरूद्धको मोर्चामा डटिरह्यो । समग्रमा उनको मिडियासँग सम्बन्ध राम्रो हुन सकेको छैन । लडाईं जारी नै छ ।  पछिल्लो स्थिति हेर्दा यो लडाइँमा प्रकारान्तरमा उनी हार्ने सम्भावना नै बढी देखिन्छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले बितेका दुई वर्ष ह्वाइट हाउसलाई अमेरिकी राष्ट्रपति कार्यालयभन्दा पनि ट्रम्प टावरकै रूपमा बढी चलाए ।  आफन्तहरूलाई ह्वाइट हाउसमा भर्ने नयाँ प्रेसिडेन्ट बसाएर अमेरिकी परम्पराविरूद्ध एक किसिमको जहाँनिया शासन नै कायम गरे ।  धेरै अमेरिकीहरू उनको यो तौरतरिकाले अमेरिकी गौरवमय परम्परा स्खलित भएको ठान्छन् र यसलाई शर्मको विषय भन्न रूचाउँछन् । 

ट्रम्पको यो दुईवर्षे शासनकालमा हायर र फायर हुने मन्त्री, ह्वाइट हाउस उच्च पदाधिकारीको कीर्तिमान नै बन्यो । कानुनमन्त्री, रक्षामन्त्री, विदेशमन्त्री, संयुक्त राष्ट्रसङ्घका लागि राजदूतजस्ता महत्त्वपूर्ण पदमा मात्र मान्छे फेरिएनन्, ह्वाइट हाउसका प्रमुख कार्यकारी नै दुई पटक फेरिइसके । छोड्नेहरूमा पनि अधिकांशले सम्मानजनक बिदाई पाएनन् ।  उनीहरूले ट्रम्पमा सहकार्यको संस्कृति नै नभएको र निरङ्कुशता हावी भएको अनुभव सुनाए ।  यसरी एकपछि अर्काे गरेर महत्त्वपूर्ण पदका पदाधिकारी फेरिँदा प्रशासनले स्थायित्व पाउन सकेनन् र उनका एजेन्डाहरू गतिशील हुन सकेनन्, बीचैमा दुर्घटित भए । यो क्रम अझै जारी छ । 

ट्रम्पले आफ्नो दुईवर्षे कार्यकालमा अमेरिकालाई संयुक्त राष्ट्रसङ्घका महत्त्वपूर्ण एजेन्सीहरूबाट बाहिर निकाले ।  नाटोमा रहेर अमेरिकाको पक्षमा क्रियाशी युरोपियन राष्ट्रहरू र क्यानाडाजस्ता मित्रशक्तिलाई पनि चिढ्याउने काम गरे । मध्यपूर्व र अफगानिस्तान मामलामा पनि उनले परम्परागत भूमिकाबाट अमेरिकालाई बाहिर पारे ।  इरानसँगको आणविक सम्झौता, हरितगृहसँग सम्बन्धित पेरिस सम्झौतालगायतका महत्त्वपूर्ण सम्झौताबाट हात झिकेर अमेरिकालाई एक भरपर्दाे साझेदारका रूपमा खरो उभिन दिएनन् ।  उत्तर कोरियासँग दुस्मनीबाट सुरु गरेका उनले अहिले हात मिलाइरहेका छन् । ताइवानलाई नजिक बनाएर चीनसँग व्यापारिक युद्ध गरिरहेका छन् ।  समग्रमा अमेरिकाले वर्षाैंदेखि एक महाशक्तिका रूपमा आफ्ना पक्षधरहरूको अभिभावकत्व भूमिका निर्वाह गर्दैआएकोेमा ट्रम्पले त्यसो हुन नदिएर अमेरिकालाई एउटा देशको भूमिकामा मात्र सीमित पारे । 

राष्ट्रपति ट्रम्पको दुई वर्ष मुद्दा मामिला र झमेलामै बितेको छ ।  उनले ह्वाइट हाउसलाई प्रतिवादी झगडियाको किल्लाजस्तो बनाएका छन् र एकपछि अर्काे वकिल खरिद गर्दै आफ्नो प्रतिरक्षा गरिरहेका छन् । मूलतः उनी रूसी ह्याकरको सहायताले चुनाव जितेको आशंकामा घेरिएका छन् र मुलर समितिले उनीमाथि छानविन जारी राखेको छ ।  यो दुई वर्ष उनी एकपछि अर्काे गरेर रूसी मामलामा आफ्नो संलग्नता नभएको बताउँन जोड लगाइरहेका छन् । 

यसैबीच ट्रम्पकै निर्देशनमा रूसीहरूसँग साँठगाँठ गरेको आरोप स्वीकार गरेका उनका चुनावी सहयोगीदेखि कानुनी सहयोगीहरू जेलको चिसो हावा खाइरहेका छन् ।  तर बिडम्बना जसलाई राष्ट्रपति बनाउन उनीहरूले त्यसो गरे, उनीहरू जेलमा छन् भने त्यसो गर्न लगाएर राष्ट्रपति भएका ट्रम्प भने ह्वाइट हाउसमा छन् ।  उनी सीधै भनिरहेका छन् अमेरिकाको राष्ट्रपतिले कुनै गल्ती गर्दैन र गरे पनि उसले आफूले आफैलाई माफ गर्न सक्छ ।  यस्तो जोखिमपूर्ण विन्दुमा पुगेका राष्ट्रपति प्रतिनिधिसभामा बहुमत हासिल गरेको डेमोक्रेटसँग पौठेजोरी खेलिरहेका छन् ।  यो द्वन्द्व बढ्दै गयो भने ट्रम्पमाथि अविश्वासको प्रस्तावको गाज नगिर्ला भन्न सकिन्न । 

राष्ट्रपति ट्रम्पले शासन गरेको मध्यावधि निर्वाचनमा रिपब्लिकनहरूले तल्लो सदन हाउस अफ रिप्रेन्जेटिभ्स गुमाएका छन् भने माथिल्लो सदन सिनेटममा दुई सिट थपेर सिनेटर सङ्ख्या ५३ पुर्याएका छन् ।  १०० सदस्यीय सिनेटमा यसअघि नै ५१ सिटको झिनो बहुमत रहेकाले दुई सदस्य थपेर त्यसले खासै तात्विक महत्त्व राख्दैन जति तल्लो सदन गुमाउनुले राख्छ ।  सिनेटलाई छोडेर बाँकी चुनावमा ट्रम्पको रिपब्लिकन दल नराम्ररी हारेको छ । यो पनि उनको कार्यकाल असफल रहेको एक प्रमाण हो । 

राष्ट्रपति ट्रम्पले बितेको दुई वर्षमा उनले केही सफलता पनि हासिल गरेका छन् । त्यसमध्ये एउटा महत्त्वपूर्ण सफलता अर्थतन्त्रको मजबुती हो । यसबीचमा अमेरिकी डलरको भाउ बढेको छ, रोजगारीमा पनि वृद्धि आएको छ, व्यापार घाटा घटेको छ । यद्यपि यो सफलता उनकै कार्यकालको भन्दा पनि ओबामा कालको पछिल्लो समयमा लिइएका सकारात्मक नीतिहरूको परिणाम पनि हुन सक्छ । अबको दुई वर्षमा पनि यो क्रम जारी रहन्छ कि रहँदैन, त्यो भने हेर्न बाँकी छ । 

ट्रम्पको अर्काे सफलता भनेको ओबामा केयरलाई घाइते बनाउन सक्नु हो ।  ओबामा केयरको विकल्प दिन असफल भए पनि यसलाई कम प्रभावी बनाउन र क्रमशः फेजआउट बनाउने दिशामा लैजान उनले आंशिक सफलता हासिल गरे । अमेरिकी जनताको पक्षमा यो निर्णय नभए पनि उनले ओबामा र डेमोक्रेटविरुद्धको प्रतिष्ठायुद्ध भने जिते । 

ट्रम्पको अर्काे सफलता भनेको रिपब्लिकनहरूले वर्षाैंदेखि भन्दै आएको ट्याक्स रिफर्म बिल भनिने करसम्बन्धी सुधारात्मक विधेयक पास गराउनु हो ।  मूलतः धनी र कर्पाेरेटको पक्षमा फाइदा पुर्याउने यो बिलले मध्यम वर्गका अमेरिकीहरूको पनि करमा छुटको दायरा बढाएर केही राहत दिएको छ । यद्यपि यो विधेयक निम्न आय भएकालाई कागलाई बेल पाक्यो हर्ष न विष्मत जस्तै हो । 

ट्रम्पले दक्षिणपन्थी न्यायाधीशहरू भर्ना गरेर अमेरिकी सर्वाेच्च अदालतलाई दक्षिणपन्थी बनाउन पनि सलफता हात पारेका छन् ।  यही बेला न्यायाधीशको पद खालि हुनु र दुवै सदनमा रिपब्लिकनको बहुमत रहनुले पनि उनको पक्षमा काकताली परेको देखिन्छ । 

समग्रमा ट्रम्प आफ्नो पहिलो दुई वर्षे कार्यकालमा अमेरिकालाई उल्टो दिशामा हिडाउने अभियानमा आंशिक सफल भएका छन् । उनले अमेरिकालाई एक महाशक्ति अभिभावक राष्ट्रबाट अमेरिका देशमा खुम्च्याएका छन् ।  अमेरिकीलाई रैथाने र आप्रवासीका रूपमा दुई कित्तामा विभाजित बनाएर रिपब्लिकन पार्टीलाई नै एक सीमासम्म हाइज्याक गर्न सफल भएका छन् । उनको अगाडि रिपब्लिकन पार्टी नै छैन जस्तो परिस्थिति सिर्जना भएको छ । भेट्रन रिपब्लिकन सिनेटर जन मेक्कनको असामयिक निधनपछि उनलाई पार्टीमा लगाम लगाउने व्यक्तिको अरू अभाव देखिएको छ ।  रिपब्लिकन मूल्य र मान्यताबाट पार्टी विचलित हुँदा पनि ट्रम्पकासामु निरिह हुनुपरेकाले थुप्रै रिपब्लिकन स्वनामधन्यहरू बीचैमा राजनीतिबाटै बाहिरिएका छन् । 

प्रस्तुत परिस्थितिमा सन् २०२० को राष्ट्रपतीय चुनावमा उनलाई रिपब्लिकन पार्टीमा चुनौती दिने सम्भावना कम हुँदै गएको छ ।  डेमोक्रेटहरूमा राष्ट्रपति उम्मेद्वारहरूको लामो सूची देखिँदा उनलाई अर्काे कार्यकाल सहज नबन्ला भन्न सकिन्न । तर ट्रम्पमाथि रूसी साँठगाँठको तरबार झुण्डिरहेकाले यदि त्यसमा उनी दोषी भेटिए भने कुनै पनि बेला उनीमाथि अविश्वासको प्रस्ताव आउन सक्छ । त्यस्तो अवस्थामा रिपब्लिकनहरूले पनि उनलाई काँध थाप्ने स्थिति आउँदैन ।  यसै पनि धेरै मोडरेट रिपब्लिनहरू ट्रम्पले रिपब्लिकन मूल्य मान्यतालाई नै तहसनहस पारेर पार्टी हाइज्याक गरेको भनेर खुशी छैनन् । 

अमेरिकी राष्ट्रपति ट्रम्प एकै पटक धेरै शत्रु बनाएर आगोसँग खेलिरहेका छन् ।  प्रस्तुत पृष्ठभूमिमा उनका लागि बाँकी दुई वर्ष मात्र हैन, हरेक दिन नै चुनौतीपूर्ण रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीप भट्टराई
प्रदीप भट्टराई
लेखकबाट थप