शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल रेडक्रस सोसाईटी: दक्षिण एसियाकै सफल संस्था

मङ्गलबार, १४ फागुन २०७५, १३ : ५७
मङ्गलबार, १४ फागुन २०७५

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको विशेष महाधिवेशन यही फागुन १८–१९गते यहाँ हुँदैछ । महाधिवेशनले विराटनगर महाधिवेशनले पारित गरेको संशोधित विधानमा आएको समस्याबारे छलफल गरी संस्थागत निर्णय लिने बताइएको छ । 

सोसाइटीका सभापति सञ्जीव थापाले नेरेसो अरुभन्दा छुट्टै गैसस भएकाले छुट्टै मौलिक कानून बनाएर अघि बढ्नुपर्ने पत्रकारहरुलाई सोमबार बताए । दक्षिण एसियाकै सफल संस्था भएको जिकिर गर्दै गोरखा भूकम्पमा संस्थाले गरेको मानवीय सहयोग इतिहासकै सर्वाधिक उपलब्धि भएको बताए । उनका अनुसार भूकम्पपछि नेरेसोले सात हजार घर बनाउने लक्ष्य राखेकामा हालसम्म ६ हजार ९५ घर निर्माण गरिसकेको छ । भूकम्पमा क्षतिग्रस्त भृकृटीमण्डपस्थित रक्तसञ्चार केन्द्रको काम ललितपुर ग्वार्कोमा सारिएकामा अब एक महिनाभित्र केन्द्रीय कार्यालय कालीमाटीमा अस्थायी केन्द्र राखिने पनि उनले बताए । 

नेरेसोका महामन्त्री देवरत्न धाख्वाले स्थापनाको ५५ वर्षमा नेरेसोले नेपालको छवि बनाउन सफल भएको जिकिर गरे । उनले दशवर्षे सशस्त्र द्वन्द्वका बेला राज्य र माओवादी पक्षलाई समदूरीमा राखेर जहाँ सरकार पुग्दैन त्यहाँ रेडक्रस भन्ने मान्यतालाई कायम राखिएको बताए ।

उपमहामन्त्री हरिप्रसाद न्यौपानेले नेरेसोका हाल नेपालका ७७ जिल्लाका १५१६ उपशाखामा ५ हजार ८३१ जुनियर रेडक्रस सर्कल रहेको जानकारी दिए । कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले गत वर्ष मुलुकका ७३ जिल्लाका एक सय आठ स्थानबाट तीन लाख ४४ हजार युनिट रगत र रक्ततत्व वितरण गरिएको र एम्बुलेन्स सेवा ६९ जिल्लाका १६९ स्थानबाट दिइएको बताए ।

उनका अनुसार खानेपानी, सरसफाइ, स्वास्थ्य, जनजीविका विषय आदिका ९० परियोजना सञ्चालन गरिरहेको नेरेसोले भूकम्पका बेला गरेको सहयोगले ८० लाख लाभान्वित भएको जानकारी दिए । नेरेसोको मिडिया संयोजक दिव्यराज पौडेलले मिडिया र रेडक्रसबीच आपसी सहयोगका लागि आह्वान गरे । 

रेडक्रसको अन्तरराष्ट्रिय समितिका नेपाल नियोग प्रमुख अन्द्रे पेकेले रेडक्रस संस्थाहरुले आफूलाई सदैव पवित्र सावित गर्नुपर्नेमा जोड दिए । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घका नेपाल कार्यक्रम समन्वयकर्ता एर्वे गजेऔले समुदायका लागि सबैसँग समन्वय राखी आफूलाई दक्ष बनाउने रेडक्रसको प्रयत्न रहिरहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप