शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख २८ गतेः प्रदेश ५ हेडलाइन, कहाँ के भयो ?

शनिबार, २८ वैशाख २०७६, १९ : ४९
शनिबार, २८ वैशाख २०७६

जबर्जस्तीकरणी अभियोगमा पक्राउ
जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो ।

कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनले होटलको व्यवस्था मिलाइ दिने तथा होटलको भाडासमेत तिरिदिने भनी आश्वासन देखाई होटलमा लगी करणी गरेको प्रहरीले जनाएको छ । 

खड्काले युवतीलाई मदिरा सेवन गर्न लगाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ ।

कम्युनिष्टको बजेट ढुकुटी रित्ताउन : नेतृ भुसाल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले कम्युनिस्ट सरकारले नीति तथा कार्यक्रम विकास निर्माणका काम गर्न नभई ढुकुटी रित्ताउनका लागि ल्याएको बताईन् । उनले आफ्ना आसेपासेलाई बाढ्नका लागि मात्रै बजेट ल्याउन लागेको आरोप लगाइन् ।

नेपाली काँग्रेस अर्घाखाँची पाणिनि रूपन्देही सम्पर्क समाजको प्रथम अधिवेशनको उद्घाटन र छत्रदेव रूपन्देही सम्पर्क समाजले गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेतृ भुसालले जनताको माझमा कम्युनिष्ट सरकारले गरेको गलत कामको भण्डाखोर गर्न जागरण अभियान सुरू गरेको बताइन् ।

लोकतन्त्रको चौथौ तहमा रहेको सञ्चार जगत पत्रकारलाई अङकुश गराउने गरि ल्याउन खोजेको विधेयक फिर्ता लिन आग्रह गरिन् । उनले विपक्षी दल तथा सासंदलाई प्रधानमन्त्रीले बोलेको शब्द गैरजिम्मेवारी रहेको बताइन । 

नेतृ भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादासमेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको बताइन् । सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा व्यक्त भएका अमर्यादित शव्द रेकर्डबाट हटाउन सभामुखले दिएको निर्देशनको प्रसंगमा उनले सो धारणा राखेका हुन् ।

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता
भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर जिल्लाका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको हो । 

पश्चिम नवलपरासीका सिमाना ठुठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा तथा पूर्वी नवलपरासीको त्रिवेणी नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विशेष गरी भारतबाट नेपाल प्रवेश गर्ने सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा चेकजाँच कडा बनाइएको छ । भारतको विहार प्रदेशमा मे १२ अर्थात यही वैशाख २९ गते र भारतको उत्तर प्रदेशमा मे १९ अर्थात् जेठ ५ गते निर्वाचन हुँदैछ ।

 ट्राफिक प्रहरीद्वारा चालकमाथि हातपातको आरोप
शुक्रवार साँझ गुल्मीको सदरमुकाम तम्घासमा एक ट्राफिक प्रहरीले  चालकमाथि हातपात गरेको आरोप लागेको छ ।

लु ३३ प ५३९९ नम्बरको  मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर–४  अर्खलेका ३२ वर्षीय रेमलाल बस्याललाई तम्घासको मिलनचोकस्थित सडकमा ट्राफिक प्रहरीले कुटपित गरेको आरोप लागेको हो । कुटपिटमा ट्राफिक प्रहरी जवान शिवलाल जिसी संलग्न रहेको बताइएको छ ।   

वस्याल दुई महिनाअघि मात्र पत्थरीको अप्रेशन  गरेर बसेका विरामी  थिए । उनी तम्घासको लाँकुरीमञ्चस्थित पसलबाट उक्त मोटरसाईकलमा चढेर अर्खलेस्थित घरमा जाँदै  गरेको अवस्थामा मिलनचोक सडकमा खेल्दै  गरेकी एक बालिकालाई उनको मोटरसाइकलले  सामान्य  ठक्कर दिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार वस्यालले ती बालिकालाई  समातेर अस्पतालतर्फ लैजान लाग्दै  गरेको  बेला एक्कासी आएका ट्राफिक  प्रहरी  जवान  जिसीले वस्याललाई हातपात गरेका थिए । अहिले ट्राफिक प्रहरी जवान वस्याललाई प्रहरीले नियन्त्रणमा  लिएको  जिल्ला प्रहरी कार्यालय  गुल्मीका  प्रवक्ता डिएसपी मिनबहादुर घलेले बताए । 

नगरपालिकाले बजेट फ्रिज गर्ने तर लक्षित बर्गलाई नदिने भन्दै आन्दोलन
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आदिवासी जनजाति उत्थान र विकास कार्यक्रमका लागि विनियोजित गरेको बजेट कार्यक्रम सञ्चालन पनि नगर्ने र गर्न पनि नदिई बेवास्ता गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगरपालिका समन्वय परिषद्ले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

आज शनिबार रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै महासंघले आन्दोलनको घोषणा गरेको हो । पत्रकारहरुका बीचमा नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगरका अध्यक्ष घनश्याम थापा (शंकर)ले तिलोत्तमा नगरपालिकाले आदिवासी जनजातिका लागि विनियोजन गरेको बजेट सुनियोजित रुपमा फ्रिज गराउन खोजेको बताए ।

नगरपालिकाका मेयर र प्रमूख प्रशासकीय अधिकृतको संकुचित मनसायका कारण जानाजानी बजेट का¥यान्वयनका लागि तदारुकता नदेखाउने, अल्झाउने र अल्मल्याउने काम मात्रै भइरहेको महासंघको आरोप छ । 

कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्दा समेत नगरपालिका आफैले कार्यक्रम गर्ने भनेर आफुहरुलाई फर्काएको अध्यक्ष घनश्याम थापाको भनाई छ । 

‘समय रहँदासम्म नगरपालिका आफैले कार्यक्रम गर्छु भन्ने अहिले आर्थिक वर्ष सकिन थालेपछि नगरका प्रमूख प्रशासकिय अधिकृतले सञ्चारमाध्यमहरुमा आदिवासी जनजातिलाई कार्यक्रमका लागि आह्वान गर्दा पनि आएनन् भनेर स्पष्टिकरण र अन्तरवार्ता दिंदै हिड्नु लज्जास्पद् कुरा हो’ महासंघका अध्यक्ष थापाले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप