शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रलाई काउली देखाउने जस्तै ओलीलाई ढाँट्ने को ?

बिहीबार, २६ असार २०७६, १७ : ३५
बिहीबार, २६ असार २०७६

काठमाडौँ– ‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलेँ, विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु तर मलाई थाहा नदिइएकाले आफू लज्जित हुनुप¥यो, त्यसप्रति क्षमापार्थी छु’
यो भनाई कुनै सामान्य नागरिक वा कुनै कर्मचारीको होइन । यो भनाई त शक्तिशाली कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी ओलीको हो । बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा राष्ट्रिय चर्चाको विषय बनेको फलफूल तथा विषादी परीक्षण नगर्ने आफ्नै निर्णय दवावमा उल्ट्याएको प्रसङ्ग कोट्याउँदै प्रधानमन्त्री केपी ओलीबाट उच्चारण भएका शब्दले के संकेत गर्छ ? 

हत्तपत्त कसैसँग झुक्न नचाहाने भनेर चिनिएका प्रधानमन्त्री ओली बिहीबार यति सहजै क्षमापार्थीको तहमा पुगे कि कार्यक्रममा उपस्थित कसैले पनि ओलीबाट यस्तो प्रतिकृया आउला वा उनले क्षमा माग्लान् भन्ने सोचेका समेत थिएनन् । तर ओलीले क्षमाप्रार्थी नै भनेपछि कार्यक्रममा सहभागी सबै मुखामुख गर्न पुगे । 

प्रधानमन्त्री ओलीले गत असार २१ गते बसेको आफ्नै पार्टी नेकपाको संसदीय दलको बैठकमा नेताहरुले भारतीय दूतावासले पत्र नै पठाएर आफ्नो देशबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण गर्ने निर्णय परिवर्तन गर्न दवाव दिएको भन्दै आलोचना भएपछि त्यसको जवाफमा ओलीले भनेका थिए, ‘खोइ पत्र, कहाँ छ पत्र ?’ उनले यसरी नै प्रतिप्रश्न गरेका थिए । 

प्रधानमन्त्रीले निर्णय उल्ट्याउन कसैले दवाव नदिएको र पत्र पनि कसैले नपठाएको दावी गरेको ४८ घण्टा नवित्दै दूतावासको पत्र सार्वजनिक भयो । जब दूतावासले लेखेको पत्र सार्वजनिक भयो, त्यसपछि प्रधानमन्त्रीले झुठ बोलेको भनेर सर्वत्र आलोचना हुन थाल्यो । हुनु स्वाभाविक पनि थियो ।  

प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएका कारण आफूले नेपाली जनताको सामू लज्जित हुनु परेकोमा माफी समेत माग्न भ्याए ।  ढिलोचाँडो यस प्रसंगमा प्रधानमन्त्रीले माफी मागे । यसलाई राम्रै संकेत मान्नुपर्छ । किनकि देशको प्रधानमन्त्रीले गलत बोलेर जनताको सही सुचना पाउने अधिकार हनन गर्नु न्यायोचित हुँदैन ।

त्यसअर्थमा प्रधानमन्त्रीले आफ्नो गल्तीमा माफी माग्नुलाई स्वभाविक मानिन्छ । तर, प्रसंग माफीको मात्रै होइन । प्रधानमन्त्री ओलीले अर्को गम्भिर कुरा पनि गरेका उठाएका छन् । त्यो हो– ‘मलाई झुक्याइयो । अर्थात बेलैमा जानकारी दिएन ।’ हो, सबैभन्दा गम्भिर र संवेदनशील विषय यही हो । झण्डै दुई तिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्री हुन् केपी ओली । अनि यस्तो प्रधानमन्त्रीलाई गलत सूचना दिने, समयमा सूचना नदिने अथवा सूचना नै लुकाउने ? सम्भव छ ? सामान्य नागरिकले यो कुरा विश्वास गर्दैनन् । तर प्रधानमन्त्रीले नै भनेपछि विश्वास नगरेर सुखै छैन । 

यदि प्रधानमन्त्रीले भनेझै समयमा सूचना नपाएरै क्षमा माग्नु परेको हो र प्रधानमन्त्रीले झुठ बोल्नुपरेको हो भने यसरी गल्ती गर्ने को हुन् त ? मन्त्रीहरु, मुख्यसचिव, सचिवहरु, प्रधानमन्त्री कार्यालयका कर्मचारी, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु ? यसको छानविन होला ? यसको जिम्मा पनि प्रधानमन्त्रीलाई नै छोडौं । उनले बिहिबारै भनेका छन् ‘यसको सोधखोज गर्दैछु ।’ तत्कालको जनआक्रोश साम्य पार्न प्रधानमन्त्रीले पक्कै यसो भनेका होइनन् भने त्यसको सत्यतथ्य बाहिर आउला । होइन, दुधको साक्षी बिरालो भनेजस्तै हो भने फेरि हुने गरिने अरु निर्णयमा पनि प्रधानमन्त्रीले मलाई यसरी नै थाहा नै छैन भनेको अवस्थामा त्यतिवेला नेपाली जनताले हाम्रो प्रधानमन्त्रीले बोलेका कुरालाई कसरी र कुन आधारमा विश्वास गर्ने ? यो प्रश्न आम नेपाली जनताको हुनेछ । हुन त प्रधानमन्त्रीका पछाडी सिंगो कर्मचारी, चारवटा सुरक्षा संगठन, अनि सबैभन्दा ठुलो पार्टीका नेता कार्यकर्ता छन् तर त्यति हुँदाहुदै पनि प्रधानमन्त्रीलाई किन सूचना दिइँदैन ? कि यसमा पनि प्रतिकृयावादी वा विदेशी शक्तिको चलखेल भएको त होइन ? आम चासोका रुपमा हेरिएको छ । 

यस प्रसंगमा पञ्चायतकालको एक घटना जोड्नु उपयुक्त हुन्छ । घटना यस्तो थियो– तत्कालीन राजा वीरेन्द्र क्षेत्रीय भ्रमणका क्रममा विभिन्न जिल्ला जाने गर्दथे । त्यसै क्रममा एकपटक उनी जुम्ला जिल्लाको भ्रमणमा जाने निधो भयो । राजा जुम्ला जाने भएपछि चाँजोपाँजो मिलाउन दरबारका कर्मचारीदेखि त्यसबेलाका पञ्चेहरु खटिए । उतिवेला सडकमार्गले जुम्लालाई छोएकै थिएन । राजा जुम्ला जाने भएपछि त्यसको एक हप्तादेखि सुरक्षा तथा अन्य बन्दोबस्तीका सामानसहित हेलिकोप्टर दैनिकजसो जुम्ला उड्थ्यो । तर, त्यसक्रममा सुरक्षा बन्दोबस्तीमात्रै होइन भक्तपुरमा फलेको काउली समेत ओसारिन्थ्यो ।

जुन काउली जुम्लामा राजा वीरेन्द्रले भ्रमण गर्ने स्थान वरपर लगेर गाडिन्थ्यो । त्यसरी काउली गाड्न वीरेन्द्रले अहएका भने थिएनन् । त्यो त वीरेन्द्रका नजिकका र पन्चेहरुको योजना थियो । त्यही अनुसार जूम्लाका पाटामा काउली फलाइयो । जब वीरेन्द्र जुम्ला पुगे र हेरे छक्क परे । ‘जुम्लामा काउली ?’ वीरेन्द्रको प्रश्न नसकिँदै जवाफ आयो, ‘हो सरकार ! हजुरको शासन व्यवस्थामा जताततै विकास भएको छ । यो पनि एउटा विकास नै हो ।’ आफ्ना सहयोगीको यस्तो जवाफ आएपछि वीरेन्द्र खुशी हुँदै आफ्नो कार्यकालमा राम्रै विकास भएको ठानेर फर्किएका थिए ।  

राजा वीरेन्द्रलाई जस्तै प्रधानमन्त्री केपी ओलीलाई पनि आफ्नै आसेपासे र नजिककाहरुले घेराबन्दी गरेर गुमराहमा राखेका त हैनन् ? प्रधानमन्त्री ओलीले सोधखोज गरेर दोषीलाई कारबाही गर्ने बताइसकेको अवस्थामा अब कस्तो एक्सन हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप