मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नापी विभागले गर्दा फेवातालको मापदण्ड कायम गराउन ढिला भो : पर्यटनमन्त्री लम्साल

बुधबार, ०४ भदौ २०७६, १९ : ०९
बुधबार, ०४ भदौ २०७६

पोखरा– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नापी विभागले गर्दा फेवातालको मापदण्ड कायम गराउन ढिलाई भएको बताएका छन् । बुधबारको गण्डकी प्रदेश सभामा बैठकमा सांसदहरुले शून्य तथा विशेष समयमा उठाएका जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री लम्सालले यस्तो बताएका हुन् । 

आफूहरु नियमित छलफलमा जुटेर सहयोगका लागि आग्रह गरिरहँदा समेत नापी विभागले सहयोग नगरेको उनको आरोप छ । यसअघि गएको वर्ष माघ ९ गते फेवाताल संरक्षणका लागि मन्त्री लम्सालकै संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो । सोही कुरा स्मरण गर्दै उनले भने, ‘हामीले समिति बनाएर नियमित काममा जुटिरहेका छौं । तर, नापी विभागले वास्ता नगर्दा ढिलाई भयो ।’

भूमि सुधार तथा नापी विभागबाट जगतराज जोशीको टिम आएर नाप गरेपनि नाप आफूहरुलाई नदिएको भन्दै उनले गुनासो गरे । नाप पाए सिमाँकन सुरु गर्ने योजना बनाएपनि सो टोलीले नाप प्रधानमन्त्री कार्यालयमा दिने बताएको उनले उल्लेख गरे । 

प्रधानमन्त्री कार्यालयमा नापी विभागबाट टोली पठाउन आग्रह गरेको समेत उनले उल्लेख गरे । ‘छिट्टै टिम पठाउने कुरा भएको छ,’ उनले भने, ‘हामीले आग्रह गरिरहेका छौं ।’ नापी विभागले छिटो काम गरिदिए आफूहरुलाई सजिलो हुने समेत उनले बताए ।

यसअघि अधिवक्ता खगेन्द्र सुवेदीले फेवाताल संरक्षणमा सर्वोच्चले दिएको आदेशमा सरकारले चासो नदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्साललगायत अन्य ९ जनालाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका छन् । तर, आफूहरुलाई रिटबारे आझै केही आदेश नआई सकेको उनले बताए ।

 बुधबारको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान,उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले दिएका थिए । सभाको अर्को बैठक बिहीबार दिउसो १ बजे बस्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप