यो क्रिकेट स्टेडियमको नामकरण वेस्ट इन्डिज क्रिकेट टोलीका पूर्वकप्तान भिभ रिचर्ड्सको नाममा गरिएको छ । एन्टिगुआ एन्ड बर्बुडामा रहेको यो स्टेडियम सन् २००७ को विश्वकपका लागि तयार पारिएको थियो । त्यतिबेला यो स्टेडियममा ‘सुपर–८’ चरणका खेलहरू खेलाइएको थियो ।
नवौँ टी–२० विश्वकपमा यो स्टेडियममा समूहगत चरणका चारवटा खेल र ‘सुपर–८’ चरणका चार खेल खेलाउने कार्यक्रम रहेको छ । यो स्टेडियमको दर्शक क्षमता १० हजार रहेको छ । यो स्टेडियमले सन् २००७ को विश्वकपमा भने वैकल्पिक पाटो अपनाएर दर्शक क्षमता दोब्बर बनाएको थियो ।
यो स्टेडियममा सन् २००७ मा वेस्ट इन्डिज र अस्ट्रेलियाबिच पहिलो टेस्ट खेल खेलाइएको थियो । यो स्टेडियममा नर्थ स्ट्यान्ड र साउथ स्ट्यान्ड रहेका छन् । साउथ स्ट्यान्डमा भने सन् २००८ मा आएको हावाहुरीले क्षति पुर्याएको थियो ।
सर भिभियन रिचर्ड्स स्टेडियम यस्तो स्टेडियम हो, जहाँ खेलाडीले अन्डरग्राउन्ड ‘पास वे’ को प्रयोग गर्छन् । सन् २०१५ को अप्रिल १३ मा इङ्ल्यान्डविरुद्धको टेस्ट सुरु हुनुअघि स्टेडियमको दुई पाटाको नाम वेस्ट इन्डिजका पूर्वक्रिकेटर कर्टली एम्ब्रोस र सर एन्डी रोबर्ट्सको नाममा राखिएको थियो ।
सन् २००९ मा भने यो स्टेडियम बन्द हुने अवस्थामा पुगेको थियो । सोही कारणले इङ्ल्यान्डविरुद्धको टेस्टमा खराब आउटफिल्डका कारण खेल १० ओभरमा झारिएको थियो । त्यसपछि मैदानको अवस्था झनै नाजुक भएकाले आईसीसीले एक वर्षका लागि मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन रोक लगाएको थियो ।