विवादित पात्र महिमानसिंह विष्ट : गाविस अध्यक्षलाई सरुवाको धम्कीदेखि रेशमलाई थुन्ने पत्रसम्म

काठमाडौँ । सर्वाेच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले पठाएको एक पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बुधबार केही घण्टा जेलमा परे ।
चौधरीलाई जेलमा राख्ने पत्र लेख्ने विष्ट पटकपटक विवादमा आइरहने पात्र हुन् । उनी सिन्धुपाल्चोकमा गाविस सचिव हुँदादेखि नै विवादमा आएका पात्र हुन् भने नुवाकोटमा श्रेस्तेदार र कञ्चनपुरमा तहसिलदार हुँदासमेत विवादमा मुछिएका थिए ।
विष्टले विभिन्न कालखण्डमा गरेका केही विवादित घटना–
गाविस अध्यक्षलाई सरुवाको धम्की
सर्वाेच्च अदालतमा सेवा प्रवेश गर्नुअघि विष्ट नायब सुब्बाका रूपमा सिन्धुपाल्चोककै साविकको एउटा गाउँ विकास समितिमा सचिव थिए । सोही क्रममा गाविसका अध्यक्षसँग उनको विवाद भयो । विवाद बढेपछि विष्टले गाविस अध्यक्षलाई नै सरुवा गरिदिन्छु भनी धम्की दिएको चर्चा सर्वाेच्च अदालतमा अझै चल्ले गर्दछ । पछि ती गाविस अध्यक्ष डराएर सरुवा गराउन मिल्छ र भन्दै जिल्ला विकास समितिसम्म पुगेका थिए ।
नुवाकोटमा न्यायाधीश र कर्मचारीसँग लफडा
विष्ट नुवाकोटमा हुँदा समेत न्यायाधीश र कर्मचारीसँग विवादमा मुछिएका थिए । आफू बिहानै कार्यालयमा आउने भएकाले अन्य कर्मचारी पनि कार्यालय समय अगावै कार्यालयमा आउनु पर्ने भन्दै धम्क्याउन थालेपछि पुराना कर्मचारीले राजीनामा समेत बुझाएका थिए । त्यसबाहेक तत्कालीन जिल्ला न्यायाधीश लोकजंग शाहसँग समेत उनको विवाद भएको थियो ।
सेवाग्राही महिलालाई न्यायाधीश आफैँले फोन गरी मुद्दा जिताइदिन्छु भनी यौन सम्पर्क गर्न बोलाएको भन्दै विष्टले उजुरी गरेका थिए भने पैसा खाएर मुद्दाको जितहार गराएको आरोप लगाएका थिए । न्यायाधीश र अन्य कर्मचारीसँग विवाद बढेपछि सर्वाेच्च अदालतले विष्टको सरुवा गराएको थियो ।
कञ्चनपुरमा समेत लफडा, त्यसपछि सर्वाेच्च तानिए
नायब सुब्बाबाट शाखा अधिकृत भई नुवाकोटमा स्रेस्तेदार बनेका विष्ट पछि कञ्चनपुर जिल्लामा तहसिलदार बनेर गएका थिए । दुई वर्ष अगाडि उनी कञ्चनपुरको तहसिलदार बन्दा स्रेस्तेदार बिदामा रहेको समयमा निमित्त स्रेस्तेदारको जिम्मेवारी सम्हालेका थिए । सोही समयमा एक कानुन व्यवसायीले ल्याएको निवेदन दरपीठ गरेपछि उनी फेरि विवादमा तानिएका थिए ।
कञ्चनपुर जिल्ला अदालत बारले विष्टको सम्बन्धमा विज्ञप्ति नै निकालेर विरोध गरेपछि सर्वाेच्च अदालतले विष्टलाई कञ्चनपुरबाट तानेर सर्वाेच्च अदालतमा काजमा राखेको थियो । तर बुधबार फेरि यिनै विष्टले अर्काे कान्ड गरे ।
सर्वोच्च अदालत प्रशासन र आफ्नै महाशाखा प्रमुखसँग समेत समन्वय नगरी विष्टले रेशमलाल चौधरीलाई पक्राउ गर्न पत्र लेखेपछि उनी फेरि विवादमा आएका छन् । यसपटकको विवाद सामान्य नभएर जटिल प्रकृतिको रहेको र क्षेत्राधिकार नाघेको कारण उनीमाथि कारबाही गर्ने तयारी गरिएको छ ।
अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेको समयमा उनले रेशम चौधरीलाई थुनामा राख्न भन्दै पत्रमात्रै काटेनन्, राष्ट्रपतिले अपराधको राजनीतीकरण गरेको आरोपसमेत लगाए । अनि कैलाली जिल्ला अदालतबाट कैदी पुर्जी आउँदै गर्छ, अहिलेचाहिँ थुनामा राख्नु भन्दै पत्र लेखेपछि उनीमाथि नै छानबिन र कारबाहीको दायरमा आएका हुन् । विष्टलाई प्रहरीले बुधबार नै पक्राउ गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला