मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

हालसम्म ५८ हजार यात्रुले गरे अग्रिम टिकट बुकिङ, ट्राफिक प्रहरीसम्म आइपुगे यस्ता गुनासा

बिहीबार, ०९ असोज २०७६, २१ : ५९
बिहीबार, ०९ असोज २०७६

काठमाडौं – यातायात व्यवसायीले टिकट बुकिङ खुला गरेसँगै चार दिनको अवधिमा ५८ हजार ३७० जनाले अग्रिम टिकट बुकिङ गराएका छन् । यातायात व्यवसायीले दशैंलाई लक्षित गर्दै गत असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । 

चाडबाड सुरु भएसँगै ट्राफिक प्रहरीले दशैं, तिहार र छठ पर्वको अवसरमा उपत्यकामा ट्राफिक व्यवस्थापन सुरक्षा योजना लागू गरेको छ । चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि ट्राफिक प्रहरीले सुरक्षा योजना लागू गरेको हो । जसअनुसार ट्राफिक प्रहरीले यात्रुहरुको समस्यालाई समाधान गर्नेगरी  गुनासो सुन्ने व्यवस्था मिलाएको छ । 

जसमा अग्रिम बुकिङ टिकट नपाएको, टिकटमा भएको गाडी नम्बर र चढ्ने गाडी नम्बर फरक परेको, टिकटमा सिट नम्बर उल्लेख नभएको, बढी भाडा लिएको, टिकट काटेकोमा यात्रु नलिइ गएको, नागढुंगा क्षेत्रमा बढी ट्राफिक जाम भएको लगायतका गुनासो आएको ट्राफिक प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरीका अनुसार असोज ५ देखि ८ गतेसम्म ३५४ चालक मापसे कारबाहीमा परेका छन् भने लामो दूरीको सवारी साधनमा २ चालक नराख्ने ३ सवारी साधन कारबाहीमा परेका छन् । 
यस्तै हेल्मेट नलगाउने तथा तीब्र गतिमा सवारी हाक्ने, १२ जना, बढी भाडा असुल्ने ९८ सवारी साधन, ओभरलोड तथा छतमा यात्रु राख्ने ३६ सवारी साधन पनि कारबाहीमा परेका छन् भने र्याकरद्वारा ९६ वटा सवारीसाधान तानेर बाटो खुलाइएको छ । 

हाल यात्रुलाई सहज सेवा प्रदान गराउने उद्देश्यले सादा पोसाकमा विभिन्न टिकट काउन्टरको अनुगमन तीब्र पारिएको छ भने पोशाक तथा परिचयपत्र लगाउन कडाइ गरिएको छ । ट्राफिक प्रहरीले सवारी साधनमा भाडादर टास्न समेत अनुरोध गर्दै सार्वजनिक यातायातमा सचेतनामूलक सामग्री पनि राखिएका छन् । 

ट्राफिक प्रहरीले ४ दिनको अवधिमा राजधानी बाहिरिने विभिन्न नाका भएर ४९ हजार ८८ सवारी साधन बाहिरिएको पनि जनाएको छ।  ट्राफिक महाशाखाका प्रवक्ता एसपी रवि कुमार पौडेलले हाल उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन गरिएको जानकारी दिए ।

नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिण्काली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष सञ्चालनमा रहेका हुन् । 

यस्तै ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायी, उपभोक्ता समूहका प्रतिनिधिहरुसमेत  ट्राफिक भोलेन्टियरको रुपमा उपत्यकामा खटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप