बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ऋण तिर्न खर्च कटौती गर्दै नेपाल एयरलाइन्स, एक वर्षमा २ अर्ब २७ करोड बचत गर्ने दावी

बुधबार, २० कात्तिक २०७६, १७ : ००
बुधबार, २० कात्तिक २०७६

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले संस्थागत सुधारका लागि आफ्नो कार्य संचालन तथा व्यवस्थापनमा व्यापक सुधार गर्ने बताएको छ ।

 बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निगमले संस्थाको बिग्रँदो साखलाई माथि उठाउन ठूलो प्रयत्न गरिएको र भावी दिनमा अझ सशक्त रुपमा अघि बढ्ने गरी कार्ययोजना ल्याएको बताएको हो । 

निगमका कार्यकारी अध्यक्ष खरेलले संस्थाको कार्यप्रगति सहितको कार्यपयोजना प्रस्तुत गर्दै निगमको ऋण तिर्न र संस्थाको व्ययभार कम गर्ने गरी वार्षिक २ अर्ब २७ करोड बचत गर्ने योजना ल्याएको बताएका छन् । 
यसै आर्थिक वर्ष २०७६÷०७७ मा मात्र एक अर्ब ६९ करोड ३३ लाख ५२ हजार ८ सय ७० रुपैयाँ बढी खर्च जोगाउन सफल भएको निगमले जनाएको छ । यसै बचत मार्फत संस्थाको ऋणमा ३३ करोड भूक्तानी दिन सकिएको खरेलले जानकारी दिए । 

संस्थागत खर्चदेखि एयर बसको इन्धन मर्मत संचालन तथा व्यवसायिक प्रवन्ध समेतको खर्च कम गरी यस्तो बचत गरिएको निगमले जनाएको छ ।  

भावी दिनमा हवाई इन्धनको बचतबाट मात्र वार्षिक दश करोडमाथि बचत गर्ने निगमले लक्ष्य लिएको छ । यसका लागि निगमले फ्लाइट वे (बाटो) लाई परिवर्तन गरी दूरी कम गर्नेदेखि अनावश्यक फ्यूँल स्टोर र ढुवानीलाई समेत कम गर्ने बताएको छ । 

साथै, हवाईको गति र हाईटलाई व्यवस्थित गरि दुरीको हिसाबमा कम लागतमा बढि फाइदा हुने स्थानहरुमा उडान भरी वार्षिक २ करोड खर्च बचत गर्ने जनाएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडानमा निगमले दिँदै आएको होटल तथा खानपानको सुविधामा समेत मितव्ययिता अपनाई वार्षिक २ करोड बचत गर्ने निगमले जनाएको छ । 

यता, जहाज संचालन व्यवस्थापन तथा मर्मत क्षेत्रको इन्जिनियरिङ पाटोमा पनि अनावश्यक खर्च कम गरी वार्षिक करिब १० करोड खर्च बचत गर्ने निमगले जनाएको छ । यसै चालु आर्थिक वर्षको तीन महिनामा मात्र यो शीर्षकमा ७ करोड ७ लाख बचत गर्न सफल भएको निगमको भनाइ छ । 
व्यवसायिक सुरक्षाबाट भने निगमले वार्षिक ५८ लाख ५५ हजार ८ सय रुपैयाँ बचत गर्ने प्रक्षेपण गरेको छ । यसका लागि टिकट काट्ने एजेन्ट(जीएसए)हरु कम गर्नेदेखि एजेन्टसँग सिट फ्याक्सन ग्यारेन्टी समेत गरिने जनाइएको छ । हाल निगमले अन्तर्राष्ट्रिय उडानमा ८१ प्रतिशत र आन्तरिक उडानमा ७९ प्रतिशत सिट भर्न सफल भएको बताएको छ । 

निगममा सुधार
यस आर्थिक वर्षदेखि प्रतिफल देखिने गरी संस्थागत सुधारमा निगम लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । संस्थागत सुधारदेखि जहाज संचालन र व्यवस्थापनमा सम्म निगमले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको जनाएको छ । 

‘नेपाल वायुुसेवा निगम तपाई हाम्रै निगम हो । हामीले जनसेवामा पूर्ण लगनसिल छौं’ खरेलले भने, ‘साथै हामी व्यवसायी पनि हौं । त्यसैले व्यवसायमा पनि हामीले छलाङ्ग मार्ने प्रयत्न गरेका छौं । मैले निगमको नेतृत्व सम्हालेदेखि यस संस्थाको सुधारको प्रतिवद्धता जनाएको छु । अहिले त्यो प्रतिवद्धता पुरा गर्दै छु ।’

निगमले आफ्नो सेवामा व्यापक सुधार गरेको जनाएको छ । अन्तर्राष्ट्रिय उडानमा विशेष खेलिएको र धेरै भिभिआईपी उडान समेत भरिसकेको निगमले जनाएको छ । त्यस्तै निगमको एयर बसको सेवा सुुविधामा समेत सुधार गरिएको जनाइएको छ । उचित खानपानदेखि व्यवस्थित सिट र साउण्ड सिस्टमा समेत सुधार गरिएको प्रमुख खरेलको भनाई छ । 

अब विभिन्न समस्याले विग्रिएर एयरर्पोटमा ग्राउण्डेट भएका जहाजलाई यथाशीघ्र मर्मत गरी आन्तरिक तथा बाह्य उडान भरिने समेत खरेलले जानकारी दिए ।

हाल त्रिभुवन विमानस्थलमा निगमका ६ वटा चिनियाँ जहाज ग्राउण्डेट अवस्थामा छन् । 

तत्काल तीन नयाँ स्थानमा उडान भर्ने 
नेपाल वायुसेवा निगमले तत्काल तीन नयाँ स्थानमा उडान भर्ने गरी तयारी पूरा गरेको जनाएको छ । जापानको नारिता, साउदीको रियाद र चीनको गोन्जाओमा निगमको नयाँ उडान भर्ने गरी आपसी समन्वयन भइरहेको हो  । यी तीन क्षेत्रमा सम्भव भए आउँदो मार्चसम्ममा उडान भरिसक्ने निगमले बताएको छ । 

सबै प्रक्रिया पुगिसक्दा पनि नारितामा जहाज ह्याङ्गिकको समस्याले उडानमा ढिलाइ भएको निगमको भनाइ छ । 

योसँगै निगमले व्यवसायीक नयाँ गन्तव्य खोज्ने क्रममा चीनको बेइजिङ र साङ्घाइ सहित विभिन्न देशका ७ नयाँ स्थानहरुमा उडानका लागि आवश्यक गृहकार्य गरिरहेको जनाएको छ । 

चीनको दुई स्थानसहित बंगलादेशको ढाका, म्यानमारको योङ्गोन, भेतनामको हानओइ, कम्बोडियाको नोम फेन र श्रीलङ्काको कोलम्बो निगमको नयाँ गन्तव्य सूचीमा परेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप