मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : अमेरिकाले दियो नेपाली सेनालाई शक्तिशाली विमान, काँग्रेस बैठक स्थगित

बुधबार, ०२ पुस २०७६, १९ : ५१
बुधबार, ०२ पुस २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको बेथिति र कर्मचारी अभावबारे मंगलबार रातोपाटीले समाचार प्रकाशन गरेपछि बुधबार बिहान सरकारी अधिकारीहरुले विमानस्थल अध्यागमन कार्यालयको अनुगमन गरेका छन् । 

गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा प्रेस सल्लाहकार सूर्य थापालगायतका अधिकारी अध्यागमनको निरीक्षणमा पुगेका हुन् ।

अध्यागमन कार्यालयमा कर्मचारी अभावले पारेको असर र घन्टौँ लाइनमा बस्नुपरेको बारे रातोपाटीले मंगलबार समाचार प्रकाशन गरेको थियो । १ सय ३६ जना अधिकृतहरुको दरबन्दी रहेको विमानस्थलस्थित अध्यागमन कार्यालयमा जम्मा ९४ जना मात्रै अधिकृत काममा रहेको र जनशक्ति अभावका कारण आगमन तथा प्रस्थानका लागि सेवाग्राहीले घण्टौं लाइनमा बस्नुपरेको समाचार प्रकाशन भएलगत्तै अनुगमन भएको छ । 

निरीक्षणका क्रममा अध्यागमन सुधारका निम्ति भएका कामबारे गृहमन्त्रीले अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलबाट ब्रिफिङ लिएका थिए । अध्यागमन सुधारको योजना अनुसार अहिले अध्यागमन कार्यालयमा अत्याधुनिक प्रविधियुक्त कम्प्युटर, नेपाली पोर्ट नामक तथ्यांक राख्ने डाटाबेस, पासपोर्टको स्क्यानर आदि वस्तुको व्यवस्था गरिँदै छ । 

अबको केही समयमा नै आगमनतर्फ २२ वटा र प्रस्थानतर्फ १५ वटा गरी कुल ३७ वटा डेस्कको सञ्चालन हुनेछ । यही विषय पौडेलले गृहमन्त्रीलगायतका अधिकारीलाई जानकारी गराउनु भएको थियो ।

अध्यागमन कार्यालयका पूरै डेस्क सञ्चालनमा ल्याउने हो भने दरबन्दी अनुसारका सबै कर्मचारी आवश्यक रहेको पौडेल बताउँछन् । तर कर्मचारी अभावका कारण अहिले पूरै डेस्क सञ्चालनमा ल्याउन सकिएको छैन । 

सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउन लागिरहेको छ । जसका कारण यस वर्षको पुसको मध्य अर्थात् जनवरी १ बाट पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको छ । 

एयरपोर्ट मानवअधिकार

त्यसैगरी, वैदेशिक रोजगारीमा जानेहरुले अझैपनि आफुले गर्ने काम तथा कम्पनीको बारेमा र तलब तथा सेवा सुविधाका विषयमा राम्रोसँग जानकारी नपाएको गुनासो गरेका छन् । 

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल अध्यगमन विभागमा अनुगमन गर्दा यस्तो गुनासो आएको बताएको हो । 

आयोगले बुधबार गरेको अनुगमनमा वैदेशिक रोजगारीमा जानेहरुले आफू कुन कामका लागि जान लागेको हो ? कम्पनी कस्तो हो ? सम्बन्धित देशको भाषा, कानून तथा समस्या पर्दा कसलाई सम्पर्क गर्ने लगायतका विषयमा जानकारी नराखेको पाइएको बताएको छ । 

त्यस्तै फ्रि भिसा फ्रि टिकट भनिए पनि अझै १० हजारभन्दा बढी रुपैयाँ तिरेर जानुपरेको गुनासो वैदेशिक रोजगारीमा जानेहरुले गरेको पाइएको आयोगका सदस्य सुविप पाठकले बताए  । 
आयोगकका निर्देशक मुराहरी खरेलले कामदारहरुले आफुले पाउने तलब बताए पनि त्यस सम्बन्धी सम्झौता पत्र नपाएको बताए । 

वैदेशिक रोजगारीमा जानेहरुको सुरक्षा, र काम गर्ने कम्पनीसँग भएको सम्झौता अनुसार काम होस् भन्ने उद्देश्यसहित आयोगले अनुगमन गरेको उनले बताए । 

दोस्रोपटक वैदेशिक रोजगारीमा जानेहरुले केही बढी जानकारी भएको बताएपनि त्यो प्रयाप्त नभएको आयोगको भनाई छ । वैदेशिक रोजगारीमा जानेहरुले सकेसम्म आफुहरुले जानकारी लिएर काम गर्न हिंडेको बताएका छन् ।

विभागका कार्यकारी निर्देशक ईश्वरराज पौडेलले वैदेशिक रोजगारीमा जानेहरुले आफ्नो कागजात आफैसँग नराखेसम्म सुरक्षित हुने अवस्था नरहने बताए ।

तर वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मरकुमार भूसालले भने वैदेशिक रोजगारीमा जानेहरुलाई नयाँ तरिकाले ठग्ने प्रवृति बढेको बताए । 

राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जानेहरु कुनै न कुनै रुपमा ठगिदै आएको बताउँदै यस सम्बन्धी रिपोर्ट छिट्टै सरकारलाई बुझाउने समेत जनाएको छ । अहिले दैनिक १ हजार ५ सय जना वैदेशिक रोजगारीमा जाने गरेका छ । 

आप्रवासन 

यता नेपालमा बढ्दै गएको आप्रवासन समस्यालाई व्यवस्थित तथा कम गर्न अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले २४ बुँदे सुझाव दिएको छ । 

उक्त प्रतिवेदन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सार्वजनिक गरे । उक्त प्रतिवेदनले आप्रवास सम्बन्धी प्रशासनका लागि सम्बद्ध सबै तहमा राष्ट्रिय समन्वय संरचनाको स्थापना गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।

कार्यक्रममा श्रम मन्त्री रामेश्वर राय यादवले आप्रवासी समस्यालाई व्यवस्थित गर्न सरकारले नीतिगत सुधारमा विशेष ध्यान दिएको बताए । उनले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई सिप, ज्ञान, भाषा लगायतका विषयमा दक्ष बनाउन कल्याणकारी कामहरु गर्दै आएको समेत बताए ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले नेपाल सहित ८१ वटा देशको अप्रवासन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । 


काँग्रेस बैठक 

बिहीबारदेखि जारी काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार पनि फेरि बस्दै नबसी स्थगित भएको छ । वरिष्ठ नेता पौडेल पक्षका नेताहरु उनको निवास बोहोराटारबाट सानेपा नगएपछि बैठक स्थगित भएको हो । 

यसअघि सोमबार पनि पौडेल पक्ष केन्द्रीय समितिद बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भएको थियो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शार्माले पूर्ण सहमतिको खोजिका लागि आजको बैठक स्थगित गरिएको रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार आगामी बैठक पुस ४ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । पूर्वमहामन्त्री कृष्ण सिटौलासहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा.रामशरण महत, डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, कल्याण गुरुङ र हृदयराम थानीलगायतका नेताहरुले बोहोराटारमा आन्तरिक छलफलमा गरेका थिए ।

देउवा पक्षले सहमति नभएका विषयमा पार्टी कार्यालय सानेपामा छलफलका लागि पौडल पक्षलाई बोलाइएको थियो । उनीहरु बोहोराटारमै अल्मलिएपछि देउवाले आजको बैठक शुक्रबारलाई सारेका हुन् ।

सेना विमान 

नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा  एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूत र्याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती विमान हस्तान्तरण गरे । 

छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूूगोलका लागि उपयुुक्त मानिन्छन् । नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा यी विमानबाट महत्वपूूर्ण योगदान पुुग्नेछ । 

अमेरिकी सरकारबाट हालसम्म प्रदान गरिएको यो सबैभन्दा ठूलो सुुरक्षा अनुदान हो । दुुई हजार ३०० केजी भारवहन क्षमताका यी विमानले २५ हजार फिटसम्मको उचाइमा उडान भर्नेछ ।

निकै शक्तिशाली इञ्जिन जडान भएका यी विमानले नेपालको मनाङमा पनि उडान भर्न सक्नेछन् । 

तीन चालक दलसहित १८ जना यात्रु क्षमताका यी विमान विपदमा चिकित्सक टोली र राहत सामग्री ओसारपसार, प्याराजम्प, ठूूला खाले दुुर्घटनामा घाइते उद्धार र कहिले काहीँ विशिष्ट व्यक्तिको सवारीका लागि प्रयोग गरिने नेपाली सेनाले जानकारी दिएको छ । 

दुुर्गम क्षेत्रमा अत्यावश्यक सामान ढुवानीका लागि पनि यी विमान प्रयोग गरिने बताइएको छ । यी दुुई विमानको मूूल्य करिब एक करोड ५० लाख अमेरिकी डलर रहेको जानकारी दिइएको छ ।
यी दुुई विमान प्राप्त गरेसँगै अब नेपाली सेनासँग साना र मध्यमखाले गरी सात वटा विमान र १५ हेलिकप्टर भएका छन् ।

समारोहमा प्रधानसेनापति पूूर्णचन्द्र थापाले अमेरिकी सरकारका तर्फबाट नेपाली सेनालाई उपलब्ध हुँदै आएको तालीम र यस प्रकारका सहायताले दुुई देशबीचको सम्बन्ध विस्तारमा योगदान पुुगेको बताए । 

राजदूूत बेरीले नेपालको आवश्यकताअनुुसार मानवीय सहायताअन्तर्गत विपद् व्यवस्थापनका लागि सहयोग पुु¥याउने हेतुले उपलब्ध गराइएको विमान दुुई देशबीच सम्बन्ध सेतुुका रुपमा रहने विश्वास व्यक्त गरे ।

प्रहरी र सरकारी वकिल 

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो सम्मेलन पौष ४ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । 

अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्ने तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्य सहित महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले फौजदारी न्याय प्रणाली र प्रशासनसँग सम्बन्धीत सम्मेलन भएकाले न्यायीक कार्यहरुसँग जोडिएका सबै पक्षको समस्टिगत सहभागिता रहने बताए । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी र सरकारी वकीलहरुसँग भएका कानूनी र व्यवहारीक अनुभवहरुको विश्लेषण सम्मेलनमा हुने बताए । उनले सम्मेलनबाट आगामी दिनमा गरिने अनुसन्धानलाई थप प्रभावकारी बनाउन सकिने आधारहरु आउने विश्वास समेत व्यक्त गरे ।

तीन दिन सम्म सञ्चालन हुने सम्मेलनमा ३ सय २० जना अनुसन्धानकर्ता प्रहरी अधिकृतहरु, २ सय ७० जना अभियोजनकर्ता सरकारी वकिलहरु र ३५ जना पर्यवेक्षकहरु सहित ६ सय २५ जनाको सहभागिता रहनेछ । 

सडक दुर्घटना न्यूनिकरण 

सडक विभागका महानिर्देशक केशव शर्माले अधिकांश सडक दुर्घटनाहरु मानविय कारणले हुने गरेको बताएको छन् । रिपोर्टस क्लबमा भएको साक्षत्कारमा महानिर्देशक शर्माले विश्वव्यापी अध्ययनले पनि सडक दुर्घटनाको पहिलो कारण मानविय त्रृटी नै भएको देखाएको बताए । सवारी चालक, यात्रु वा पैदल यात्रीका कारणले दुर्घटनाहरु हुने गरेको उनको भनाइ छ ।

त्यसैगरि सडकको अवस्था, सडक सुहाउँदो सवारी नहुनु र सवारीको यान्त्रिक कारणले पनि दुर्घटनाहरु हुने गरेको उनले बताए । पछिल्लो समय सडक विभागले विभिन्न राजमार्गहरुमा सडक सुरक्षालाई ध्यानमा राख्दै सडक सुधारका विभिन्न योजनाहरु लागुु गरेको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सडक दुर्घटना न्यूनिकरणमा सम्बन्धित निकायको ध्यान जान नसकेको बताए । 

महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले उपत्यकामा दैनिक हुने ¥यालीहरुका कारण ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको बताए । 

एउटा ट्राफिक प्रहरीले ९ सय सवारी हेर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

पक्राउ

यता, नक्कली कागजात बनाई फरक व्यक्तिहरुले सवारी चालक अनुमतिपत्रको ट्रायल दिइरहेको अवस्थामा ट्राफिक प्रहरी महाशाखाको टोलीले पक्राउ गरेको छ । 

गुर्जुधारामा रहेको भेईकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोटको खाडाचक्र घर भइ अहिले चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने दिपक शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट दुई थान ल्यापटप, एक थान प्रिन्टर र जिल्ला पशासन कार्यालय लेखिएको नेपाली नागरिकताको नक्कली कार्ड ११ थान बरामद गरिएको छ । 

त्यसैगरि यातायात व्यवस्था कार्यालयबाट ट्रायल परीक्षाको लागि जारी गरीने विभिन्न नाम, थर र ठेगाना भएका व्यक्तिहरको एप्लीकेन्ट आइडी को फोटोकपी ३० थान लगायतका सामाग्री बरामद गरेको छ ।

खेलाडीहरुलाई सम्मान

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीहरुलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ । 

महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै महानगरका मेयर चिरीबाबु महर्जनले सागमा पदक विजेता खेलाडीहरुलाई बधाई दिँदै एसियन गेम र ओलम्पिकमा पदक जितेर आएपछि यो भन्दा ठूलो रकमले सम्मान गर्ने बताए । उनले महानगरभित्रका ए डिभिजन क्लबहरुलाई ४ लाख, बि डिभिजन क्लबहरुलाई ३ र सि डिभिजन क्लबहरुलाई २ लाख रुपैयाँ तयारीका लागि दिइएको बताए । 

सम्मान कार्यक्रममा स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले काठमाडौं उपत्यकाको सभ्यता १६ औं सताब्दीको युरोपियन सभ्यतासँग मेल खाने गरेको बताए । 

पाटनको कृष्णमन्दिर, काष्ठमण्डप तथा मूर्तिकलाको गरिमामय परम्परा रहेको उनले बताए । 

ललितपुर महानगरले नगरपालिको १०० औं स्थापना दिवस पनि मनाएको छ ।

प्रकाश दाहाल स्मृति 

प्रथम प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय तेक्वाङ्दो प्रतियोगिता हुने भएको छ । पुस ४ र ५ गतेबाट खुल्ला राष्ट्रिय तेक्वाङ्दो प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । 

तेक्वाङ्दोका मुख्य प्रशिक्षक कविराज मालीका अनुसार प्रतियोगितामा १३ जिल्लाका करिब ५ सय खेलाडीको सहभागिता रहनेछ । ५५ वटा स्वर्ण पदकका लागि हुने प्रतिस्पर्धामा फाइटतर्फ ४७ र पुम्सेमा ७ पदक रहेका छन् । नागदह तेक्वाङदो डोजाङ्गको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप