शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जतिसक्दो चाँडो विद्यालय बन्द गरौंः सिम्खडा

बुधबार, २१ फागुन २०७६, १९ : ४४
बुधबार, २१ फागुन २०७६

काठमाडौं । चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले सरकारले चैत्र ५ गते नकुरी त्योभन्दा अगावै विद्यालयहरु बन्द गर्नुपर्ने सुझाव दिएका छन् । कोरोना भाईरस (कोभिड–१९) को विश्वभरि संक्रमण फैलिएको र यसले ठूलो संख्यामा मानवीय क्षति पुर्याएको उल्लेख गर्दै नेपालले पनि बेलैमा सचेतना अपनाउनुपर्ने सिम्खडाको भनाई छ । 

बुधबार राजधनीमा  पत्रकार सम्मेलनको आयोजना गर्दै सिम्खडाले कोरोनाको संक्रमण हुन नदिनको लागि भिडभाडमा जान नहुने तर्क गर्दै विद्यालय भनेको भीड हुने ठाउँ भएकोले जतिसक्दो चाँडो विद्यालय बन्द गरिनुपर्ने तर्क गरे । उनले भने, ‘विद्यालय बन्द हुँदा शहरको जनघनत्व पनि अत्यन्तै कम हुने । र कोरोनाको संक्रमण हुने जोखिम पनि न्यून हुने सम्भावना म देख्दछु ।’ 

उनले शहरमा आफ्ना बालबच्चाहरुको शिक्षाको लागि डेरामा बस्ने अभिभावकहरु पनि विद्यालय बन्द भएपछि आफ्नो जन्मस्थान् जान बाध्य हुने सुनाउँदै यो नै सवैभन्दा राम्रो विकल्प हुने तर्क गरे ।  यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरेको थियो । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र संत्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउन उपयुक्त हुने भन्दै मन्त्रालयले हिजोमात्रै एक विज्ञप्ति प्रकाशित गरेर यस्तो सुचना प्रवाह गरेको थियो । 

त्यसैगरी, विज्ञप्तिमा ‘विद्यालयमा सभा, समारोह, वार्षिक उत्सवलगायतका जनभेला हुने प्रकृतिका कार्यक्रमहरु आयोजना नगर्न, नगराउन पनि मन्त्रालयले सबैमा आह्वान गर्दछ’ उल्लेख गरेको छ । मन्त्रालयको यस्तो विज्ञप्ती आएको भोलिपल्ट अर्थात आज (बुधबार) पत्रकार सम्मेलन गरेर समाजसेवी सिम्खडाले त्यो भन्दा अघि नै विद्यालय बन्द गर्न सरकारलाई सुझाव दिएका छन् । उनले जति ढिलाई गरे त्यति नै बढि संक्रमणको जोखिम हुने खतरा पनि औंल्याए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप