अण्डाकार चित्र
सारांश
- एड्गर एलन पो एक प्रसिद्ध अमेरिकी लेखक हुन्, जो मनोवैज्ञानिक, रहस्यमयी र गथिक शैलीका कथाहरूका लागि चिनिन्छन् ।
- उनको कथा 'द ओभल पोट्रेट' मा एक चित्रकारले आफ्नो कलाप्रतिको आसक्तिमा आफ्नी पत्नीको जीवन शक्ति सोसेर उनको चित्र पूरा गरेको वर्णन छ ।
- यस कथाले कला र जीवनबीचको द्वन्द्व तथा सृजनशील उत्कृष्टताका लागि तिर्नुपर्ने मानव जीवनको मूल्यलाई शक्तिशाली रूपमा प्रस्तुत गर्छ ।
अमेरिकी स्वच्छन्दतावाद (ट्रान्सिन्डेन्टालिज्म)का हस्ती एड्गर एलन पो (१८०९–१८४९) विशेषतः मनोवैज्ञानिक, रहस्यमयी तथा अँध्यारो पक्षलाई उजागर गर्ने ‘गथिक’ शैलीका कथाहरूका लागि प्रसिद्ध छन् । उनलाई प्रायः आधुनिक ‘होरर’ र जासुसी कथाका अग्रजका रूपमा पनि लिने गरिन्छ । उनका रचनाहरूमा मृत्यु, सौन्दर्य, पागलपन तथा आशक्ति विषयवस्तुको रूपमा देखा पर्छन् भने चाहे कवितामा होस् या कथामा, पोले प्रायः यथार्थ तथा कल्पनाबिचको भेदलाई चिरिदिएका हुन्छन् । उनका ‘द रेभन’ (कविता), ‘द टेल–टेल हर्ट’ (कथा) पश्चिमी साहित्यकै मानक रचना मानिन्छन् ।
‘द ओभल पोट्रेट’ पोको सबैभन्दा छोटा र प्रतीकात्मक रहस्यमयी कथाहरूमध्ये एक हो, जुन उनको मृत्यु पछि सन् १८५० मा प्रकाशित भएको थियो । यस कथामा एक घाइते यात्रीले टाढाको एक पुरानो महलमा एक रहस्यमय युवतीको चित्र फेला पार्छ । त्यस चित्रको इतिहास पढ्दै जाँदा उसले थाहा पाउँछ कि त्यो चित्र एक यस्तो चित्रकारले बनाएको थियो, जो आफ्नो कलाप्रति यति आसक्त थियो कि उसले थाहा नै नपाई आफ्नी पत्नीको जीवन शक्ति नै सोस्दै उनको चित्र पूर्ण बनाएको थियो । यस कथाले कला र जीवनबीचको द्वन्द्वलाई शक्तिशाली रूपमा प्रस्तुत गर्छ । सृजनशील उत्कृष्टता कहिलेकाहीँ मानव जीवनको मूल्य नै तिर्नपर्छ भन्ने गहन र अँध्यारो पक्षलाई यसले उठाएको छ । यहाँ उनको सोही कथा ‘द ओभल पोट्रेट’को नेपाली अनुवाद प्रस्तुत गरिएको छः
म गम्भीर घाइते थिएँ । मलाई खुला आकाशमुनि रात बिताउन नपरोस् भनेर सहयोगीले मलाई जबरजस्ती एउटा महलमा लिएर गयो । त्यो महल एपेनाइन पहाडमा रहेका पुराना र भव्य तर उदास देखिने भवनहरूमध्ये एक थियो।
वास्तविकतामा मात्र होइन, लेखिका र्याडक्लिफका कल्पनामा पनि यस्ता महलहरू बारम्बार देखापर्थे । हेर्दा त्यो महल केही समयका लागि छाडिएको जस्तो लाग्थ्यो, र त्यो पनि हालसालै मात्र ।
हामीले त्यस महलको सबैभन्दा सानो र कम विलासी कोठामध्ये एउटामा बस्ने निधो गर्यौं । त्यो कोठा भवनको टाढाको एउटा गोलाकार सानो भवनमा अवस्थित थियो । कोठाको सजावट सम्पन्न र आकर्षक भए पनि पुरानो र जीर्ण थियो । भित्ताहरूमा पदकहरू झुन्ड्याइएका थिए र विभिन्न स्मारक चिह्न तथा हतियारका सजावटी प्रतीकहरूले सजाइएका थिए । त्यहाँ सुनौलो बुट्टादार फ्रेममा राखिएका असाधारण रूपमा जीवन्त आधुनिक चित्रहरू पनि थुप्रै नै थिए ।
ती चित्रहरू मुख्य भित्ताहरूमा मात्र होइन, महलको अनौठो वास्तुकलाका कारण बनेका अनेक कुनाकाप्चाहरूमा पनि झुन्ड्याइएका थिए । सम्भवतः ज्वरोका कारण बढ्दै गरेको मेरो आफ्नै भ्रमका कारण म ती चित्रहरूमा असाधारण रुचि लिन थालेँ । त्यसैले मैले पेद्रोलाई कोठाका भारी झ्यालका पल्लाहरू बन्द गर्न भनेँ । किनभने, रात परिसकेको थियो । मेरो ओछ्यानको शिरानतिर रहेको अग्लो मैनबत्तीदानमा मैनबत्तीहरू बाल्न र ओछ्यानलाई घेरेका कालो मखमली पर्दाहरू पूरै खोल्न आदेश दिएँ ।
म यो सबै त्यसकारण गराउन चाहन्थेँ कि निदाउन नसके पनि कम्तीमा ती चित्रहरूलाई हेर्दै र सिरानीमाथि भेटिएको एउटा सानो पुस्तक पढ्दै समय बिताउन सकूँ । त्यो पुस्तकमा ती चित्रहरूको वर्णन र समीक्षा गरिएको थियो ।
धेरैबेरसम्म म पढिरहेँ । धेरैबेरसम्म श्रद्धापूर्वक ती चित्रहरू हेरिरहेँ । समय चाँडै बित्यो र गहिरो मध्यरात आइपुग्यो ।
मैनबत्तीदानको स्थान मलाई मन परेन । मेरो निदाइरहेको सेवकलाई नब्युँझाई, कठिनाइका साथ हात बढाएर मैले त्यसलाई सारें ताकि त्यसको प्रकाश पुस्तकमाथि अझ राम्ररी परोस् ।
तर यस कार्यले पूर्णतः अप्रत्याशित परिणाम ल्यायो । धेरैवटा मैनबत्तीका किरणहरू अब कोठाको एउटा भित्ते खोपामा परे, जुन यसअघि ओछ्यानको खम्बाका कारण गहिरो छायामा लुकेको थियो । त्यही क्षण मैले त्यहाँ एउटा चित्र स्पष्ट प्रकाशमा देखेँ, जसमा यसअघि मेरो ध्यान परेको थिएन ।
त्यो एउटा युवतीको चित्र थियो, जो भर्खरै युवावस्थामा प्रवेश गर्दै थिई । मैले चित्रलाई हतारमा एकझल्को हेरें र तुरुन्तै आँखा बन्द गरेँ । मैले किन त्यसो गरेँ भन्ने कुरा सुरुमा मलाई पनि स्पष्ट भएन । तर आँखा बन्द राखेकै अवस्थामा मैले आफ्नै मनमा त्यसको कारण खोज्न थालेँ । त्यो सोच्ने समय पाउन गरिएको सहज प्रतिक्रिया थियो । मलाई मेरो दृष्टिले धोका त दिएको छैन भन्ने निश्चित गर्नु थियो । कल्पनालाई शान्त पार्नु र फेरि बढी संयमित तथा स्पष्ट दृष्टिले चित्र हेर्नु थियो ।
केही क्षणपछि मैले फेरि चित्रतर्फ स्थिर दृष्टि लगाएँ । अब मैले सही देखिरहेको छु भन्ने कुरामा मलाई कुनै शङ्का थिएन । मैनबत्तीको उज्यालो पहिलो पटक क्यानभासमा पर्दा मेरो चेतनामाथि फैलिँदै गरेको निद्राको तन्द्रा एकाएक हटेको थियो र म अचानक पूर्ण जागृत भएको थिएँ ।
मैले भनिसकेको छु, त्यो चित्र एउटी युवतीको थियो । त्यसमा केवल टाउको र काँध मात्र चित्रित गरिएको थियो । कलाको भाषामा यसलाई ‘भिन्येट’ शैली भनिन्छ । शैलीगत रूपमा यो सुलीका प्रसिद्ध चित्रहरूसँग मिल्दोजुल्दो थियो । उसका हात, वक्षस्थल र चम्किला कपालका टुप्पासमेत बिस्तारै पृष्ठभूमिको गहिरो तर अस्पष्ट छायामा विलीन भएका थिए ।
चित्रको फ्रेम अण्डाकार थियो, अत्यन्तै सुन्दर सुनौलो र मोरिस्क शैलीका नाजुक बुट्टाहरूले सजिएको । कलात्मक दृष्टिले हेर्दा त्यो चित्रभन्दा उत्कृष्ट केही हुन सक्दैनथ्यो ।
तर मलाई यति गहिरोसँग झस्काउने र प्रभावित गर्ने कुरा न त चित्र बनाउने कलाकारको सीप थियो, न त त्यस युवतीको अमर सौन्दर्य । त्यसको कारण मेरो तन्द्राको कल्पनाले त्यसलाई जीवित व्यक्तिको टाउको ठानेको पनि थिएन । मलाई तुरुन्तै थाहा भयो कि चित्रको संरचना, शैली र फ्रेमका विशेषताहरूले त्यस्तो भ्रम सम्भव नै हुन दिँदैनथे ।
यी कुराहरूमा गम्भीरतापूर्वक विचार गर्दै म करिब एक घण्टासम्म आधा बसेर र आधा पल्टिएर चित्रतर्फ टकटकी लगाएर हेरिरहेँ । अन्ततः मैले त्यस प्रभावको वास्तविक रहस्य पत्ता लगाएँ ।
म फेरि ओछ्यानमा पल्टिएँ । त्यो चित्रको जादु यसको अभिव्यक्तिको पूर्ण जीवन्ततामा थियो ।
सुरुमा त्यसले मलाई झस्कायो, त्यसपछि अन्योलमा पार्यो, त्यसपछि वशमा ग¥यो, र अन्ततः भय मिश्रित विस्मयले भरिदियो । गहिरो श्रद्धा र आश्चर्यका साथ मैले मैनबत्तीदानलाई फेरि पुरानै स्थानमा राखेँ । अब त्यो चित्र दृष्टिबाट ओझेलमा परेको थियो ।
त्यसपछि मैले उत्सुकतापूर्वक चित्रहरूको इतिहास समेटिएको पुस्तक खोजेँ । अण्डाकार चित्रसँग सम्बन्धित पृष्ठ खोलेर मैले त्यहाँ यी अनौठा शब्दहरू पढेँ—
‘उनी अनुपम सौन्दर्यकी युवती थिइन् र सौन्दर्य जत्तिकै हर्ष र जीवन्तताले भरिएकी थिइन् । तर दुर्भाग्यको घडी त्यही थियो, जब उनले चित्रकारलाई देखिन्, प्रेम गरिन् र विवाह गरिन् ।
चित्रकार उत्साही, अध्ययनशील, कठोर स्वभावका थिए । उनको पहिलो प्रेम उनको कला थियो । उनी भने अनुपम सौन्दर्यकी, हँसिली, उज्याली र जवान हरिणीझैँ चञ्चल थिइन् । उनी सबैलाई प्रेम गर्थिन् । घृणा गर्थिन् भने केवल त्यस कलालाई, जसले उनको प्रेमीसँग प्रतिस्पर्धा गथ्र्यो । उनी केहीसँग डराउँथिन् भने केवल रङका बट्टा, ब्रस र ती सरसामाग्रीहरूसँग डराउँथिन्, जसले उनलाई आफ्नो प्रियको साथबाट टाढा लैजान्थे ।
त्यसैले जब चित्रकारले आफ्नी नवविवाहिता पत्नीको चित्र बनाउन चाहेको कुरा सुनाए, त्यो उनका लागि पीडादायी क्षण थियो ।
तर उनी नम्र र आज्ञाकारी थिइन् । उनी धेरै हप्तासम्म महलको त्यो अँध्यारो र अग्लो त्यस भवनको कोठामा चुपचाप बसिन्, जहाँ माथिबाट मात्रै उज्यालो झर्थ्यो र फिक्का क्यानभासमा पर्थ्यो ।
चित्रकार भने आफ्नो काममा गौरव अनुभव गर्थे । घण्टौँ, दिनौँसम्म चित्र बनिरह्यो । उनी कल्पनामा हराउने, आवेगशील र चञ्चल स्वभावका व्यक्ति थिए । त्यसैले उनले देखेनन् कि त्यो एकान्त कोठामा झर्ने कठोर प्रकाशले उनकी पत्नीको स्वास्थ्य र जीवन शक्ति बिस्तारै सुकाउँदै थियो ।
सबैले देख्थे, तर उनले देखेनन् । यद्यपि उनी मुस्कुराइरहिन् । कहिल्यै गुनासो गरिनन् । किनभने उनले देख्थिन् कि उनका प्रसिद्ध पति आफ्नो काममा कति आनन्दित थिए । दिनरात उनी उनको चित्र बनाइरहेका थिए । यो त्यही स्त्रीको, जसले उनलाई अत्यन्त प्रेम गर्थी, तर जो दिनप्रतिदिन कमजोर र निराश बन्दै गइरहेकी थिई । चित्र हेर्नेहरू बिस्तारै त्यसको समानताको कुरा गर्थे ।
उनीहरू भन्थे, ‘यो कलाकारको अद्भुत प्रतिभा र आफ्नी पत्नीप्रतिको गहिरो प्रेमको प्रमाण हो ।’ अन्ततः यो चित्र सम्पन्न हुनै लाग्यो । अब त्यस कोठामा कसैलाई प्रवेश गर्न दिइएन । चित्रकार आफ्नो कामप्रतिको उन्मादमा यति डुबेका थिए कि उनले क्यानभासबाट आँखा हटाएर आफ्नी पत्नीको अनुहारतर्फ हेर्न पनि छोडेका थिए ।
उनले यो पनि देखेनन् कि क्यानभासमा लगाइरहेका रङहरू वास्तवमा आफ्नी पत्नीका गालाबाट हराउँदै गएका रङहरू थिए । धेरै हप्ता बिते । अब केवल ओठमा एउटा अन्तिम ब्रसको स्पर्श र आँखामा एउटा अन्तिम रङको छाया थप्न बाँकी थियो ।
त्यही बेला स्त्रीको जीवन शक्ति निभ्न लागेको दियोको ज्योतिजस्तै एकपटक फेरि टिम्टिमायो । अन्तिम ब्रस चलाइयो । अन्तिम रङ थपियो । एक क्षणका लागि चित्रकार आफूले बनाएको कृतिको सम्मुख मन्त्रमुग्ध भएर उभिए । तर अर्को क्षणमै उनी काँप्न थाले । उनको अनुहार फिक्का भयो । आँखा भयले फैलियो । अनि उनले ठुलो स्वरमा चिच्याए, ‘यो त साँच्चिकै जीवन हो !’
त्यसपछि उनी एकाएक आफ्नी प्रिय पत्नीलाई हेर्न फर्किए, उनी मरिसकेकी थिइन् ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण