मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यूः अब स्थल मार्गबाट पनि विदेशी नेपाल आउन नपाउने, नेपालमा कोरोना परीक्षणमा समस्या त छैन ?

शुक्रबार, ३० फागुन २०७६, ०७ : ४८
शुक्रबार, ३० फागुन २०७६

आज मिति २०७६ साल फागुन ३० गते शुक्रबार देशका ठूला राष्ट्रिय दैनिकहरुले कोरोना भाइरस सँगसँगै वैदेशिक रोजगारी, कालापानी जस्ता विषयलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् । 

कान्तिपुर दैनिकले ‘अनअराइभल भिसा वैशाख १८ सम्म बन्द’ हुने र ‘स्थल मार्गबाट पनि विदेशी आउन नपाउने’ शीर्षकमा समाचार लेखेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले व्यवस्थित भन्सारसहितका नाकाबाट मात्र स्वास्थ्य परीक्षण गरी आवागमन गराउन व्यवस्था मिलाउने निर्णय गरेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले पनि बुधबार सूचना जारी गर्दै ‘सडक मार्ग हुँदै आउने विदेशीको आवागमनलाई पर्याप्त स्वास्थ्य परीक्षण सुविधा भएका अध्यागमन जाँच चौकीसहितका नाकामा सीमित गरिने’ भनेको थियो ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोभिड–१९ को महामारीबाट बच्न भारतसँग जोडिएका खास–खास नाकाबाट मात्र व्यवस्थित रूपमा आउजाउ गर्न गृह र परराष्ट्र मन्त्रालयले समन्वय गरेर काम गर्ने बताए । व्यवस्थित नाकामा काँकडभिट्टा, जोगबनी, रक्सौल, भैरहवा र कञ्चनपुर छन् । नेपालले यसअघि नै चीनतर्फका नाकाहरू बन्द गरिसकेको छ ।

नागरिक दैनिकले नेपाल प्रहरीमा मौलाएको कमिसनको विषयमा समाचार छापेको छ समाचार यस्तो छः नेपाल प्रहरीमा मौलाएको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ताकपडा खरिद हुँदै आएको छ। ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर सामानको गुणस्तरमा पर्न गएको हो। यस वर्ष मात्र होइन विगतदेखि नै प्रहरी प्रधान कार्यालयले खरिद गर्ने लत्ताकपडामा ठूलै परिमाणको कमिसनको खेल हुँदै आएको छ। यस वर्ष पनि कमिसनकै कारण गुणस्तरहीन लत्ताकपडा, डिएसएम बुट, पार्क ज्याकेट खरिद गरिएको स्रोतको दाबी छ। ठेकेदार कम्पनीहरुले प्रहरीको प्रबन्ध शाखामा काम गर्ने कर्मचारीलाई मात्रै १० प्रतिशत कमिसन बुझाएर गुणस्तरहीन सामान बुझाउने गरेका छन्।

‘ठेकेदारले भुक्तानीको सुरु रकम जति आउँछ त्यसको १० प्रतिशत कमिसनबापत बुझाउने गरेका छन्। जुन रकम माथिसम्मै पुग्छ’, स्रोतले भन्यो, ‘यस वर्ष ७३ करोड रुपैयाँको ठेक्कामा मोबिाइलाइजेसन खर्चबापत निकासा भएको १५ करोडको १० प्रतिशत कमिसन करिब एक करोड ५० लाख रुपैयाँ ठेकेदार कम्पनीहरूले बुझाइसकेका छन्। कमिसन रकम प्रबन्ध शाखामा काम गर्ने सबै तहका प्रहरी कर्मचारीदेखि नेतृत्व तहसम्म पुग्छ।’ प्रहरी प्रधान कार्यालय चालु आर्थिक वर्ष २०७५र०७६ को बजेट खर्च शीर्षक नं २११२१ (पोसाक) मा विनियोजित रकममध्येबाट भुक्तानी भएको थियो। प्रबन्ध शाखाले सोही बजेटअन्तगर्तको २० प्रतिशत पेस्की भुक्तानी गरिसकेको छ।

यता, अन्नपूर्ण पोस्ट् दैनिकले ‘काम खोज्दैनन् वैदेशिक रोजगारीबाट फर्केका नेपाली ः ५६ प्रतिशत बेरोजगार’ शीर्षकमा वैदेशिक रोजगारीबाट फर्केका नेपालीको विषयलाई प्राथमिकता दिएको छ । वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति काम खोज्नै प्रयास गर्दैनन्। पर्केकामध्ये १४.३ प्रतिशत व्यक्तिले काम खोजेर पनि पाउन नसकेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ मा उल्लेख छ।

प्रतिवेदनअनुसार वैदेशिक रोजगारीबाट फर्केका ७५ प्रतिशत महिला बेरोजगार छन्। उता आर्जन गरेको पुँजी, सीप र प्राविधिक ज्ञानलाई उपयोग गरी स्वरोजगार बन्नेको संख्याभन्दा बेरोजगार हुनेको संख्या बढी छ। ४२.२ प्रतिशत मात्रै रोजगार तथा स्वरोजगारमा संलग्न भएको अध्ययनले देखाएको छ। प्रतिवेदनअनुसार कुनै पनि काममा संलग्न नहुने र बेरोजगार हुनेमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका बढी छन्। त्यसपछि गण्डकी प्रदेश र प्रदेश ५ का युवा बेरोजगार छन्।

नयाँ पत्रिका दैनिकले ‘नेपालमा कोरोना परीक्षण कति विश्वसनीय ? धेरैको प्रश्न छ– कतै नेपालको परीक्षणमै समस्या त छैन ?’ शीर्षकमा समाचार छापेको छ । कोरोना (कोभिड–१९) विश्वका एक सय २५ देशमा फैलिसकेको छ । बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन् । तर, नेपालमा अहिले कोही पनि संक्रमित नभएकोमा एकातिर खुसी छ भने अर्को्तिर आशंका । धेरैको प्रश्न छ– कतै नेपालको परीक्षणमै समस्या त छैन ?

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ भने नेपालको परीक्षण विश्वसनीय भएकोमा ढुक्क छन् । उनले नयाँ पत्रिकालाई भने, ‘कोरोना परीक्षण गर्ने हाम्रो ल्याबमा शंका नगर्न म सबैलाई अनुरोध गर्न चाहन्छु । किनकि, हाम्रो ल्याबको गुणस्तरको अनुगमन विश्व स्वास्थ्य संगठनले पनि गरिरहेको छ । उसले समेत मान्यता दिएकाले हामीले चिन्ता गर्नुपर्ने कारण केही पनि छैन ।’ 

नेपालमा गरिएका परीक्षणको विश्वसनीयता जाँच्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना वेलावेलामा हङकङ पनि पठाउँदै आएको छ । ‘संकलन गरेका नमुना हङकङ पनि पठाउने गरेका छौँ । सुरुमा चीनबाट आएका एकजना नेपालीमा पोजेटिभ भेटिएको थियो । उहाँको नमुना पनि हामीले हङकङ पठाएका थियौँ । हङकङबाट पनि पोजेटिभ आयो,’ उनले भने, ‘अरूको यहाँ नेगेटिभ रिपोर्ट आएको छ, उताबाट पनि नेगेटिभ आयो । त्यसैले हाम्रो ल्याबमा समस्या छैन भन्नेमा निश्चिन्त छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप