बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोरोना फैलिएको सनसिटी अपार्टमेन्टभित्रको एउटा कथा’

बिहीबार, ०४ वैशाख २०७७, १८ : २३
बिहीबार, ०४ वैशाख २०७७

कहाँबाट शुरु गरौँ ! एकाएक बतासजसरी फैलिरहेको कोरोनाको महामारी सामाजिक संजालका हरेक पानामा, अनलाइन न्यूज पोर्टलका हरेक हेडलाइनमा, रेडियो अनि टेलिभिजन जताततै चर्चामा छ । लाग्छ, ऊ संसारलाई जित्न चाहन्छ र त्यसैले दुनियाँसामु आफ्नो शक्ति प्रदर्शन गरिरहेको छ ।

कोरोना भनेको के हो ? यसले किन यस्तो चर्चा पाईरहेको छ ? यस्तो लाग्छ, यो कुनै भाइरस होइन, अदृष्य काल हो । यही कालसँग विश्व नै लुकामारी गरिरहेको छ यतिबेला । मेरो यस्तै–यस्तै सोच अनि समाचारका हेडलाइन, सामाजिक संजालमा हुने बहस अनि मजाकहरुकै बीच अचानक आफ्नै घरको परिसरभित्र आइसके छ कोरोना । पत्तै भएन । 

२०७७ साल वैशाख १ गते नयाँ वर्ष, मुलुक लकडाउनमा थियो । नयाँ वर्षको उत्सव कहिँ कतै थियो त मात्र सामाजिक संजालमा । म पनि सामाजिक संजालमा साथीभाई, आफन्तहरुसँग नयाँ वर्षको उत्सव मनाइरहेको थिएँ । अचानक सनसिटी अपार्टमेन्टमा एकाएक कालो बादल मडारियो । सामाजिक संजाल एकाएक नयाँ वर्षको शुभकामनालाई पछि पार्दै सनसिटी अपार्टमेन्टको समाचार र सूचनाले भरिए । 

चारैतिर डर र त्रासले मन ढक्क फूलेर आयो । जब प्रहरीले सनसिटीबासीलाई बाहिर ननिस्कनु भन्दै माइकिङ गर्दै सनसिटी अपार्टमेन्टलाई सिलबन्दी ग¥यो । लौ किन ? के भयो र ? प्रश्न माथि प्रश्न गरिरहेका अपार्टमेन्टबासीलाई अपरिचित व्यक्तिले जवाफ दिए, ‘यो अपार्टमेन्टको ब्लक नं. ‘ए’ को १५ औँ तल्लामा बस्ने एकै परिवारका ३ सदस्यलाई कोरोना भाइरसको आशंकामा अस्पताल लगिएको छ । तपाईहरुको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो । चुपचाप भित्र बस्नुहोस् ।’ 

अपरिचित व्यक्तिको वाक्य पुरा हुन नपाउँदै हावासरी सबै मिडियामा र सामाजिक संजालमा यो हेडलाइन बनिसकेको थियो । अचानक सास रोकिएजस्तो भयो । धर्ती भासिएजस्तो भयो । एक मनले तर्क–बिर्तक गर्न थाल्यो । एकाएक मामु, बाबा, दिदी, दाजु, भाउजु साथीभाई, इष्टमित्र सबैको फोन पालैपालो बज्न थाल्यो । आँखाबाट अनवरत रुपमा आँशु बग्न थाल्यो । हुन त कोरोना एक भाइरस हो र यसको संक्रमण हुँदैमा मरिहालिन्छ भन्ने होइन । सजगता अपनाइरहेकाले त्यति डराउनु पर्ने त थिएन तर खै किन हो, यसको असर यति गहिरो गरि परेछ कि, लाग्यो– अब मरिन्छ ।

हामी सबैको प्रार्थना थियो– ती तीनै जनामा संक्रमण नेगेटिभ आइदियोस् । तर दुर्भाग्य, गएका ३ जनामध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भयो । प्रहरीले सिल गरेको अपार्टमेन्ट, कोरोना पुष्टि भएको समाचारले आत्तिएको मन, अनि आज बिहानमात्रै खाली भएको पानीको जार, नानीको खाने दुध सकिएको, अनि खाद्यान्नलगायतका सरसामान पनि सकिन लागेको । केही सोच्न नसक्ने भएँ । सामान खरिद गर्दा एकै पटक धेरै किन ल्याउने ? सबैलाई चाहिन्छ, एउटाले सबै सामान कुम्ल्याउँदा अर्कोले नपाउन सक्छ । यही सोचले हप्ता दिनका लागि एक पटक सामान खरिद गर्ने गरेको थिएँ । अब अर्को हप्ताको लागि सामान किन्ने बेला भएको थियो ।

हे भगवान ! मेरो बच्चाले दुध बिना खाना नै खान्न । बिहान दुध, दिउँसो दुध, राति दुध उसको दिनचर्या दुधबाट शुरु हुन्छ र दुधमा अन्त्य हुन्छ । यसले मलाई झनै अस्थिर बनायो । आमा हुँ, अवश्य पनि बच्चाको जति चिन्ता अरु कसको होला र ?

मैले बच्चालाई सम्झाएर भनेँ, ‘अब दुधको सट्टामा जे छ, तिमीले त्यही खानु है ।’ उसले सबै कुरा बुझेजसरी टाउको हल्लाउँदै भनी, ‘मामु मलाई भोक लाग्दा अलिकति सानो बटुकामा दिस्योस् न’ । मेरो आँखाबाट आँशु रोकिएन । यस्तो दिन पनि आउँदो रहेछ । प्रहरीले अपार्टमेन्ट सिल गरिसक्यो । कुनै पसलको नम्बर पनि छैन । पसलहरु सबै बन्द छन् । अब के गर्ने ? अब के हुन्छ ? यस्तो अवस्थामा एउटैमात्र सहारा बनेर आउने भनेको मुटु भक्कानिएर निस्कने आँशु रहेछ । आँखाबाट बगिरहेको आँशु नै पहिलो सहारा हुने रहेछ । म रोएको देखेर मेरा दुईजना बच्चा मेरो नजिकै आएर बसे । नरोइस्योस् न भन्दै मलिन अनुहार बनाएको देख्दा आफूलाई सम्हाल्न बाध्य भएँ ।

म किन यति कमजोर भएँ ? किन डराएँ ? के भएको हो र ? फेरि म किन आत्तिनु प¥यो ? हामी त अर्को ब्लकमा बस्छौँ । घुलमिल पनि छैनौँ । भेटघाट पनि छैन । हामी त यो महामारीबाट बच्न सरकारले गरेको लकडाउनको पालना गरेर बसेका छौँ । किन डराउनु प¥यो ? मन बुझाउने प्रयास गरिनै रहन्छु । हुन त नडराउँ पनि कसरी, म त एक दिन बिराएर अफिस पनि गइरहेको छु । बैंकको जागिरे म, ग्राहकको सेवामा हामी खटिइरहेका छौँ । अफिसमा भिन्न ठाउँका मानिसहरुको आवतजावत हुन्छ । कर्मचारी पनि भिन्न भिन्न स्थानका छौँ । 

घरमा साना साना बच्चा भएकाले बिहान दुध र तरकारी लिन पनि म नै जान्छु । यति ठूलो अपार्टमेन्ट छ । पूर्व मेचीदेखि पश्चिम महाकाली एवं देश विदेशसम्मका मान्छे बस्छन् । लिफ्टबाट ओहोर दोहोर हुन्छ । मलाई पनि कतै कोरोनाले आक्रमण त गरेन ? अनेक कुरा मनमा खेल्नु स्वाभाविक थियो । तर विश्व स्वास्थ्य संगठनको नियमअनुसार सुरक्षा सतर्कता भने मैले अपनाएको छु । अफिस म आफ्नै साधनमा गएको छु । कसैसँग हात मिलाएको पनि छैन । पुरै सर्तकता अपनाएर मास्क, पन्जा, सेनिटाइजर प्रयोग गरेको छु । घर आउनासाथ नुहाएरमात्र बच्चाको सामु जान्छु । फेरि पनि मन डराएको छ । रोएको छ । आत्तिएको छ । तै पनि सम्हालिनु छ ।

आज २०७७ साल वैशाख ३ गते सनसिटी अपार्टमेन्टको ब्लक  ‘ए’ का ३०० घर परिवारको आर.डी.टी. परीक्षण गरियो । सबै सतर्कताका साथ टाढाटाढा लाईनमा बसेका छन् । २८ दिनदेखि यही अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका सदस्यहरु लिफ्टमा हिँडे होलान् । पसल गए होलान् । कति जनासँग भेट गरे होलान्.। यस्तै प्रश्नले घायल बनाएको मन, डर र त्रास कै बीच विस्तारै विस्तारै हिँड्दै परीक्षण गर्न परिवारकासाथ आएका ती साना बालबालिकाहरुतिर गए ।

यसैबीचमा एउटा बच्चालाई उसको आमा र २ जना स्वास्थकर्मीले बलपूर्वक परीक्षण गराउने कोशिस गरे । बच्चा चिच्याई चिच्याई रोइरहेको छ । बच्चाले जवरजस्ती भाग्ने कोसिस ग¥यो तर सकेन । बाध्य बनी सूई घोच्न दियो । ऊ चिच्याएर रोएको दृष्यले मलाई निकै दुःखी बनायो । ६ वर्षकी मेरी छोरी आँखा सामु टक्क अडिन् । सम्हालिसकेको मेरो मन फेरि एकाएक भावुक बन्यो । 

तनाबका बीच छट्पटाइरहेका अपार्टमेन्टवासीका ३०० घर परिवारको आर.डी.टी. परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आयो । एकैछिन अगाडिको त्यो सन्नाटा उघ्रियो । सबैले हर्षले ताली बताए ।

सनसिटी अपार्टमेन्टमा पाँचवटा ब्लक छन् । ए, बी, एच, आई र जे मा लगभग ५०० परिवारका १८०० जना यो भवनमा बसोबास गर्दछन् भने केही व्यक्तिले अपार्टमेन्ट भाडामा दिएर विदेशमा बसोबास गर्दै आएका पनि छन् । कति आफ्नो घर भाडामा लगाएर अपार्टमेन्टमा बस्दै आएका छन् । आजको दिनमा जति जना अपार्टमेन्टमा थिए, ती सबै हर्ष उल्लासका साथ ताली बजाउँदै, थाल ठोक्दै कोरोना मुक्त सनसिटीको आभास दिइरहेका थिए । एकैछिन रमाए पनि अझै चारवटा ब्लकको परीक्षण गराउँनै बाँकी छ । परीक्षणका लागि सरकारसँग कति किट छन् ? हामी सबैको टेष्ट गर्न पुग्छ कि पुग्दैन ? यही अन्यौलमा हामी अपार्टमेन्टको झ्यालबाट काठमाडौं नियाँलिरहेका छौँ । 

सबैले एक मिनेट समय दिएर सोचौँ, मनन् गरौँ, चन्द्रमामा मानव बस्ती बसाउने सपना बुनिरहेका, कृत्रिम चन्द्रमा बनाएका विश्वका शक्तिशाली राष्ट्रहरुलाई आँखाले देख्न नसकिने भाइरसले आत्थु आत्थु परिदिएको छ । भगवान नै हामी हौँ भन्नेहरु आज भगवानको स्तुतिमा लिन छन् । यो कुनै दैवी शक्तिको संकेत त होइन ? मानव जातिले प्रकृतिमाथि गरेको अन्यायको बदला त होइन ? अनेक तर्क बितर्क हुन थालेको छ विश्वमा । मानव जातिलाई एक पटक सोच्न बाध्य बनाइदिएको छ ।

हामी स्वाभिमानी नेपाली हौँ । हाम्रो धरालतमा रहेर आत्मनिर्भरतामा जोड दिन सक्नुपर्छ अब हामीले ।  लहलह धानका बाला लहराउने फाँटहरुमा, डाँडा, पाखा, पाटाहरुलाई बाँझो नछोडौँ । अप्राकृतिक चीजबाट टाढा बसौँ । प्रकृतिलाई जोगाऊँ, प्रकृतिलाई आफ्नो कब्जामा लिने काम नगरौँ । 

जन्मपछिको मृत्यु सत्य हो । त्यसैले आत्मबल बलियो बनाएर कोरोनाविरुद्ध लड्न हामी तयार हुनुपर्छ । कोरोनाले दिएको यो यातनाबाट बाहिर आउन आत्मबल बलियो बनाएर सबैले कसरी सुरक्षित रहने भनेर सरकारले दिएको निर्देशनको पालना गरौँ । अनुशासित बनौँ । आखिर ज्यान रहे हामी रहन्छौँ, हामी रहे देश अनि सारा विश्व रहन्छ । समय मै सचेत बनौँ आफु बचौँ र सन्ततिलाई पनि बचाऔँ ।

शोभा न्यौपाने
सनसिटी अपार्टमेन्ट, पेप्सीकोला काठमाडौं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शोभा न्यौपाने
शोभा न्यौपाने
लेखकबाट थप