बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आधिकारिक जन्ममितिको समस्या

मङ्गलबार, ०९ वैशाख २०७७, ११ : ३७
मङ्गलबार, ०९ वैशाख २०७७

-अधिवक्ता राजु थापा

विश्वव्यापी रूपमा फैलिएको कोरोनाको महामारीका कारण भएको बन्दाबन्दीले तुलनात्मक रूपमा म आजकाल फुर्सदिलो भएको छु । 

वर्षौंदेखि सम्पर्कमा नआएका व्यक्तिसँग पनि सम्पर्करत हुन प्रयास गरिरहेको छु । यसै क्रममा कोरियामा रहेका एकजना चिनजानका पूर्वसहयोगी भाइलाई हालखबर के छ भनेर टेक्स्ट म्यासेज पठाएँ । 

जवाफमा उनले म त बर्बाद भएँ । ७ वर्षअघि बिहे गरेकी श्रीमतीलाई, ३ वर्षदेखि अनवरत कोसिस गर्दा पनि कोरिया ल्याउन नसक्ने अवस्था भयो । अब घर फर्कने तयारी गर्दैछु भनेर म्यासेज पठाए । मुख्य कारण यस्तो रहेछ । उनले ७ वर्षअघि स्थानीय निकायमा विवाह दर्ता गराएका रहेछन् । 

स्थानीय निकायको विवाह दर्ताको प्रमाणपत्रमा फलानाकी नातिनी, फलानाकी छोरी फलाना ठाउँ बस्ने वर्ष २७ की फलानीसँग उनको सामाजिक परम्पराअनुसार विवाह भएको हो भनिएको रहेछ । तर जुन मितिमा बिहे गरियो त्यो मितिमा दुलही २६ वर्ष १२ महिना ३ दिनको भएकी रहिछिन् ।

 नेपालमा यस्तोमा २६ वर्ष कटेको भोलिपल्टै २७ वर्षकी भन्ने अचम्मको प्रचलन छ । उक्त स्थानीय निकायले पनि सोही अनुरूप २७ लेखि दिएछ । अब कोरियन सरकारी निकायमा सो बिहे दर्ता प्रमाणपत्र देखाउँदा, तिम्रो श्रीमती बिहे गरेको दिन २७ वर्ष नभई २६ वर्ष १२ महिना ३ दिन भएकाले तिम्रो यो कागजपत्र शङ्कास्पद भयो भनिदिएछ । 

नेपालमा यस्तै लेख्ने चलन छ भन्दा त्यस्तो चलन कहाँ छ त्यसको प्रमाण देखाउ भनेर तिरिखिरी पारिरहेको रहेछ । वास्तवमा हाम्रो स्थानीय निकायले यति वर्षको नभनेर यति जन्म मितिको फलाना भनिदिएको भए त्यो समस्या नै हुँदैन थियो तर हाम्रा अधिकांश सरकारी निकाय, अड्डा अदालतमा वर्ष यतिको मात्रै भन्ने चलन छ । यही समस्याको अगाडि उनी हार खाने अवस्था सिर्जना भएको रहेछ ।

वास्तवमा भन्ने हो भने आजसम्म पनि कतिपय नेपालीको यकिन जन्म मिति कति हो भन्ने स्वयंलाई थाहा नभएको अवस्था छ । दुर्गम क्षेत्रमा घरमै सुत्केरी गराउने प्रचलन छ । 

कतिपय दुर्गमका महिलाहरु घाँस दाउरा लिन जाँदा जङ्गलमै सुत्केरी भएर, भारीसँगै नवजात शिशु बोकी घर आएका प्रशस्त उदाहरणहरु छन् । यस्ता महिला र उनको परिवार प्रायः अशिक्षित हुने भएकाले पनि कुन वर्ष, कुन महिना, कुन दिन बच्चा जन्मिएको भनेर उनीहरुले हेक्का राख्दैनन् । 
अर्कोतर्फ दुर्गम क्षेत्रका अधिकांशले जन्म दर्ता नै गर्दैनन् । अनि विद्यालय गएका बालबालिकालाई शिक्षकले नै अन्दाजमा जन्म मिति राखिदिने गरेका छन् । विद्यालय नगएकाहरुका हकमा भने नागरिकता बनाउँदा ताका सम्बन्धित अधिकारीले हचुवामा जन्ममिति राखिदिने गरेका प्रशस्त उदाहरण छन् । १५, २० वर्ष अघिसम्म जन्म मिति भनिएको ठाउँमा यति वर्ष भनेर मात्र राख्ने चलन थियो ।

उदाहरणका लागि पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीको नागरिकतामा जन्म मितिको ठाउँमा वर्ष २१ लेखिएको छ । त्यसकारण पनि उनको जन्ममितिमा भएको विवादको कारण, उनले प्रधान न्यायाधीशको जिम्मेवारीबाट राजीनामा दिनुपरेको थियो । अर्काे एउटा सर्वसाधरणको पनि उदाहरण लिऔँ । 

कैलाली जिल्लाको श्रीराम चौधरीको उमेर हचुवाको भरमा २५ वर्ष भनेर लेखिएको रहेछ । उनकै सहोदर भाइले वृद्ध भत्ता लिन सुरु गर्दा पनि उनी त्यस्तो सरकारी सुविधाबाट वञ्चित छन् । सरकारी संयन्त्रले यकिन जन्ममिति नतोकिदिएका कारण विगतमा यस्ता अनेकन समस्या आएका प्रशस्त उदाहरणहरु छन् ।

अर्कोतर्फ नेपालमा वर्ष गणना गर्ने पनि अचम्मको प्रचलन छ । जस्तो १२ महिना पूरा गरेर १ दिन बढी भएको बच्चाको उमेर २ वर्ष भन्ने चलन छ । अनि उमेर भनिदिँदा पनि ५ को गुणणले आउने प्रतिफल अनुसार जस्तो २० वर्ष, २५ वर्ष, ३० भनिने गरिन्छ । यसरी मितिलाई ख्याल नगरी कसैको उमेर जथाभावी भनिदिदा स्वदेशमा त समस्या पर्ने नै भयो, विदेशमा समेत नेपालीहरुलाई अनेकन समस्या पर्ने गरेको छ । कोरियाका ती नेपाली भाइ यही कारणले प्रताडित हुन पुगेका छन् ।

यसकारण पनि जन्ममिति, उमेर जस्तो अत्यन्त संवेदनशील विषयमा यति उति नभनी सटिक जन्म मिति नै प्रयोग गर्न, गराउन सरकारी निर्देशन ल्याउन ढिला भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा