आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सांसद अपहरणको आरोप लागेका श्रेष्ठले भने- ‘प्रमाणित भए माननीयज्यूहरुकै अगाडि झुन्डिएर मर्न तयार छु’ (भिडियो)

सोमबार, ०५ जेठ २०७७, १३ : ५३
सोमबार, ०५ जेठ २०७७

काठमाडौं । नेकपा सांसद कृष्णकुमार श्रेष्ठ उर्फ किसन श्रेष्ठले आफूलाई लागेको सांसद अपहरणको आरोप प्रमाणित भए झुन्डिएर मर्न तयार रहेको बताएका छन् ।  सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले प्रमाणित गरे सांसदहरुकै अगाडि आफू झुन्डिन तयार रहेको बताए । उनले डा. बाबुराम भट्टराईलाई लक्षित गर्दै हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुन्डिन तयार हुनुहुन्छ भन्दै प्रश्न गरे । 

उनले भने– ‘सभामुख महोदय, यहाँ केही हप्ता अगाडि सांसद अपहरणको कुरा आएर म लगायत माननीय महेश बस्नेतको जुन चरित्र हत्या भयो । सम्पूर्ण माननीय ज्यूहरुलाई साक्षी राखेर भन्न चाहन्छु, अपहरणको आरोप लगाउनेलाई म चुनौती दिन चाहन्छु, यदि प्रमाणित भयो भने सबै माननीयज्यूहरुको अगाडि झुन्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुन्डिन तयार छन् ?’ 

सांसदहरु श्रेष्ठ, महेश बस्नेत र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई लकडाउनका बेला जनकपुर पुगेर समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ ।  उनले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपालको छुटेको भूमी लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गर्ने घोषणाले सबै नेपालीलाई खुसी तुल्याएको समेत उल्लेख गरे । उनले लामो समयदेखि भारतसँगको सीमा विवाद कुटनीतिक तबरबाट समाधान गर्ने सरकारको निर्णय आफैमा ऐतिहासिक रहेको उल्लेख समेत गरेका छन् । 

उनले सरकारको नीति तथा कार्यक्रम जनताको हितका लागि भएको, जनतालाई राहतको व्यवस्था गरेको, कृषि क्षेत्रको विकास, घरेलु तथा मझौला उद्योगको विकास गर्नेतर्फ केन्द्रीत भएको भन्दै खुसी व्यक्त गरे ।  उनले स्वास्थ्य संस्थाको विकास गर्ने नीतिले सबै नेपालीमा स्वास्थ्य पहुँच पुग्ने अपेक्षा लिएको पनि उल्लेख गरे । 
हेर्नुहोस् भिडियोः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप