नेकपा विवाद : शक्तिकेन्द्र सक्रिय

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेका असन्तुष्टिलाई लगातार उपेक्षा गर्ने हठ पालेसँगै नेपाल विभिन्न विदेशी शक्तिकेन्द्रहरु सक्रिय हुन थालेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएका असन्तुष्टिलाई पूर्वसहमति एवं विधिसम्मत निकास दिन आनाकानी गर्दै मुलुक र स्वयं सत्तारुढ दललाई केही सातादेखि अनिर्णयको बन्दी बनाइरहेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठक स्थगित गर्दै नेतृत्व तहमा सहमति खोज्ने प्रयास जारी रहे पनि सुखद् नतिजा निस्कन सकिरहेको छैन ।
प्रधानमन्त्री एवं अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान टु वान’ वार्ता हुन थालेको छ । दुई अध्यक्षबीचको वार्ताले सार्थक निकास निकाल्ने अपेक्षा भइरहेको समयमा विभिन्न विदेशी शक्तिले पनि सत्तारुढ नेकपाभित्रको विवादमा आफ्नो अनुकुल नतिजाका लागि दौडधुप बढाएका छन् ।
चिनियाँ राजदूतको सक्रियता
काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसँग भेटघाट तीव्र बनाएकी छन् । आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी उनले मंगलबार वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।
गत वैशाखमा सरकारले विवादास्पद दुई अध्यादेश जारी गरेसँगै नेकपाभित्र विवाद चर्किएको अवस्थामासमेत चिनियाँ राजदूत यान्छीले नेकपाका नेताहरुसँग भेटवार्ता गरेकी थिइन् । उनको भेटवार्तासँगै नेकपाभित्रको विवाद साम्य भएको परिस्थितिलाई विश्लेषकहरु ‘संयोग’ मात्र हो भनेर मान्न नसकिने बताउँछन् ।
भारतीय अखबार हिन्दूस्तान टाइम्सले मंगलबारको संस्करणमा ‘नेपालमा चीनमाथि भारी पर्नेछ भारतको कुटनीति’ आशयको शीर्षकमा समाचार प्रकाशन भएको छ । जसमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, चिनियाँ राजदूतको सक्रियतालाई सुक्ष्म रुपमा भारतले हेरिरहेको चर्चा गरिएको छ ।
स्रोतलाई उद्धृत गर्दै सो अखबारले लेखेको छ, ‘भारतले नेपालको मामलामा सोझै हस्तक्षेप गरेको छैन, तर चीनको गतिविधिमाथि भारतको नजर कायम छ, पर्दा पछाडिबाट भारत–नेपाल सम्बन्ध सामान्य बनाउने प्रयास जारी छ ।’
सोही स्रोतलाई उद्धृत गर्दै उक्त समाचारमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले नै नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र चीनको भूमिकाका बारेमा निगरानी गरिरहेको उल्लेख छ । भारतको विदेशमन्त्रालयले पनि नेपालको राजनीतिक हलचललाई सुक्ष्म ढंगले हेरिरहेको जनाइएको छ ।
अर्कोतिर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अन्योलमा परिरहेको अवस्थामा अमेरिकाले पनि नेपालमा पछिल्लो समय बढ्दो राजनीतिक गतिरोधलाई चासोका साथ हेरिरहेको विश्लेषकहरु बताउँछन् ।
कुटनीतिक मामलाका जानकार एवं पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ नेपालमा पछिल्लो सयम भारत, चीन र अमेरिकाको चासो बढिरहेको बताउँछन् । ‘सबैको आ–आफ्नै स्वार्थ छ,’ उनले भने, ‘यहाँ एउटा स्वार्थ एक्टिभ भएपछि अर्को पनि स्वाभाविक रुपमा एक्टिभ भइहाल्छ ।’
राजनीतिक विश्लेषक हरि रोका नेपालको सन्दर्भमा कुनै न कुनै रुपमा भारत र अमेरिकाको स्वार्थ जोडिएको तर्क गर्छन् । पछिल्लो समय चिनियाँ राजदूतको सक्रियता बढिरहेको अवस्थामा भारत र अमेरिका पनि आफ्नो स्वार्थ रक्षाका लागि कुनै न कुनै रुपमा लागिरहेको उनको भनाइ छ ।
एमसीसीको एउटा बुँदामा ‘भारतको पनि सहमति आवश्यक’ भनेर शर्त राख्नुले एमसीसीका बारेमा अमेरिका र भारतको साझा स्वार्थ जोडिएको सहजै बुझ्न सकिने उनले बताए । ‘भारतले दशगजा मै बाँध बनाउनु पर्दा नेपाललाई सोध्नु नपर्ने, तर नेपालले आफ्नो भूभागभित्र ट्रान्समिसन लाइन बनाउनका लागि भारतको सहमति लिनुपर्ने भन्ने प्रावधान आफैंमा अनौठोमात्र होइन, देशका लागि घातक पनि हो ।’
प्रधानमन्त्री ओलीले पार्टीभित्र गुम्सिएका गुनासोलाई सुनेर नेतृत्वकर्ताको हैसियतले निकास दिनुपर्ने विश्लेषकहरुको भनाइ छ । उनीहरु नेकपाका अन्य नेताहरुले पनि पार्टीभित्रको विवाद आन्तरिक रुपमै समाधानका लागि जोड गर्नुपर्ने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
-
इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प
-
शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित
-
महावाणिज्य दूतावासको आयोजनामा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया
-
समाजवादी मोर्चा गठन दुई वर्ष पूरा, औचित्यमाथि प्रश्न
-
चिडियाखानामा चोरको हातबाट फुत्किएका दुर्लभ रेडपाण्डाको मृत्यु