मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
गण्डकी प्रदेश

गण्डकीमा घटे कण्डम प्रयोगकर्ता, बढे एचआईभी सङ्क्रमित

मङ्गलबार, १६ असार २०८३, १४ : १२
मङ्गलबार, १६ असार २०८३

सारांश

  • गण्डकी प्रदेशमा कण्डम प्रयोगकर्ता घट्दा एचआईभी सङ्क्रमितको सङ्ख्या बढेको छ ।
  • पछिल्लो तीन वर्षमा गण्डकी प्रदेशमा कण्डम वितरण २७ प्रतिशतले घटेको छ भने सङ्क्रमितको सङ्ख्या बढेको छ ।
  • एचआईभी सर्नुको मुख्य कारण असुरक्षित शारीरिक सम्पर्क हो, जसमध्ये कास्की जिल्लामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा बढी छ ।

पोखरा । गण्डकी प्रदेशमा यो वर्ष एचआईभी सङ्क्रमितको सङ्ख्या बढेको छ । एकातिर एचआईभी सङ्क्रमण रोक्ने भरपर्दो र सुलभ साधन कण्डमको प्रयोगकर्ता घट्दै जाँदा अर्कोतर्फ सङ्क्रमित बढेको तथ्याङ्क स्वास्थ्य मन्त्रालय गण्डकीको तथ्याङ्क छ ।

प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीका अनुसार पछिल्लो तीन वर्षमा कण्डम वितरण २७ प्रतिशतले घटेको छ ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशभर २३ लाख ९७ हजार ६ सय ९८ थान कण्डम वितरण भएकोमा चालु आर्थिक वर्ष २०८२/८३ को जेठसम्म आइपुग्दा यो सङ्ख्या घटेर १७ लाख ३३ हजार २ सय ५९ थानमा खुम्चिएको छ । तीन वर्षको अवधिमा ६ लाख ६४ हजारभन्दा बढी थान कण्डम वितरण घटेको हो ।

यता सङ्क्रमितको सङ्ख्या भने चालू वर्षमै झन् बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा २ सय १० जनामा पोजेटिभ देखिएको थियो भने गत वर्ष २०८१/८२ मा १ सय ५६ जना भेटिए । चालू वर्षको जेठ मसान्तसम्म यो बढेर १ सय ७९ जना पुगेका छन् । सङ्क्रमित सङ्ख्या बढ्नुको प्रमुख कारण परीक्षणको दायरा पनि हो ।

सरकारले २०८०/८१ मा ३८ हजार ३ सय ६४ जनाको मात्रै परीक्षण गरेको थियो भने २०८१/८२ मा २७ हजार ७ सय ४० जनाको परीक्षण गरिएको हो । चालू आवमा ५२ हजार ६८७ जनाको परीक्षण भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । परीक्षणको दायरा बढेका कारण सङ्क्रमित पुष्टि हुने दर बढेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. राजेन्द्र पौडेलले बताए ।

अध्ययनहरूका अनुसार, नेपालमा एचआईभी सर्नुको मुख्य कारण असुरक्षित शारीरिक सम्पर्क हो । झण्डै करिब ६६ प्रतिशत एचआईभी असुरक्षित सम्पर्कबाट सर्ने गरेको तथ्याङ्क छ । सङ्क्रमणको तथ्याङ्क हेर्दा सबैभन्दा उच्च जोखिममा कास्की जिल्ला छ ।

चालु वर्ष प्रदेशभर पहिचान भएका १ सय ७९ सङ्क्रमितमध्ये १ सय ४१ जना अर्थात् ७८.७ प्रतिशत कास्की जिल्लाकै मात्र छन् । बढी जोखिममा रहेको कास्कीमै कण्डम वितरणको सङ्ख्या अत्यधिक घटेको छ । तीन वर्षमा ५ लाख ११ हजार ७ सय ७८ बाट घटेर ४ लाख ११ हजार ३९ थानमा झरेको छ ।

गण्डकी प्रदेशमा एआईभी सङ्क्रमितहरूको उपचार र स्वास्थ्य अनुगमनका लागि आवश्यक पूर्वाधारमा प्राविधिक चुनौती देखिएको पौडेलले बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको सीडी–४ काउन्ट मेसिन र भाइरल लोड परीक्षण मेसिन प्रयोगमा नहुँदा एआरटी उपचार लिइरहेका सङ्क्रमितको नियमित अनुगमनमा समस्या भएको उनले सुनाए ।

‘एआरटी सेवा लिइरहेका ३ हजार १ सय ७१ जना सङ्क्रमित छन् । उनीहरूको नियमित स्वास्थ्य अनुगमनमा कठिनाइ भएको छ,’ उनले भने, ‘हाल प्रादेशिक रोग नियन्त्रण केन्द्रबाट म्यानुअल रूपमा परीक्षणको वैकल्पिक व्यवस्था मिलाएर सेवालाई निरन्तरता दिइएको छ ।’ सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरू पनि यसको उच्च जोखिममा छन् । यस्तो सङ्क्रमण नियन्त्रण गर्न सञ्चालित ओपीओइड प्रतिस्थापन थेरापी सेवामा जेठसम्म १ सय ३१ जना आबद्ध भएका छन् ।

जसमध्ये ६९ जनाले मेथाडोन र ६२ जनाले ब्युप्रिनोर्फिन सेवा लिइरहेका छन् । यसका साथै, सङ्क्रमितहरूमा हुने क्षयरोगको थप सङ्क्रमण जोखिम पनि रहेकोले यसको न्यूनीकरणका लागि प्रदेशका १० वटा अस्पताल र १ वटा प्राथमिक स्वास्थ्य केन्द्र गरी ११ ठाउँमा टिबी–एचआईभी एकीकृत उपचार सेवा सञ्चालन भइरहेको सरकारले जनाएको छ ।

  • के आमाबाट बच्चामा पनि एचआईभी सर्छ ?

नेपाल सरकारले सन् २०२६ सम्ममा आमाबाट बच्चामा हुने एचआईभी सङ्क्रमणलाई पूर्ण रूपमा निवारण गर्ने राष्ट्रिय लक्ष्य राखेको छ । यसै रणनीति अन्तर्गत गण्डकी प्रदेशमा आमाबाट बच्चामा सर्न सक्ने सङ्क्रमण रोकथाम कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रदेशभर वार्षिक रूपमा गर्भवती महिलाहरूको एचआईभी परीक्षण गरिने भए तापनि सङ्क्रमण पुष्टि हुने दर भने न्यून छ । प्रादेशिक जनस्वास्थ्य केन्द्रको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार तीन वर्षमा १ लाख ३२ हजारभन्दा बढी गर्भवतीको परीक्षण भैसकेको छ ।

गर्भवती महिलाबाट जन्मने शिशुमा नसरोस् भन्नका लागि सरकारी स्वास्थ्य संस्थाहरूमा गर्भवतीको निःशुल्क एचआईभी जाँच गर्ने व्यवस्था मिलाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा ५२ हजार ६ सय ६८ जना गर्भवतीको परीक्षण गरिएको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा ४६ हजार २ सय ३६ जना र चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म ३३ हजार १ सय ७० जना गर्भवती महिलाको परीक्षण सम्पन्न भइसकेको छ । विगत तीनवटै आर्थिक वर्षहरूमा गण्डकी प्रदेशभर वार्षिक रूपमा मात्र ५ जना गर्भवती महिलामा एचआईभी सङ्क्रमण पुष्टि भएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को जेठसम्म पहिचान भएका ५ जना सङ्क्रमित गर्भवती महिलाहरूमध्ये स्याङ्जामा २ जना, कास्कीमा १ जना, गोरखामा १ जना र नवलपरासी पूर्वमा १ जना छन् । सङ्क्रमण पुष्टि भएका गर्भवती महिलाहरूलाई तुरुन्तै एआरटी उपचार सेवामा आबद्ध गराई जन्मिने बच्चालाई सङ्क्रमणबाट जोगाउने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप