कसरी नाङ्गियो साइपाल ?
आफुभन्दा होचा टाकुराहरुमा
सेता हिउँ जस्ताको तस्तै रहँदा
निर्वाचित सरकार
आफ्नो दुई वर्षको कार्यकाल पुरा गर्दा नगर्दै
नैतिकता गुमाएर सर्वाङ्ग नाङ्गो भए जस्तै
नैतिकताको सेतो टोपी
बिहानीको घाममा टलक्क टल्काएर मुस्कुराउने साइपाल
देशका नेताहरु जस्तै
कसरी सर्वाङ्ग कालो भएछ, र
आफ्नो छाती खुम्च्याउँदै
कतै लुक्न खोजे झैं देखिएको छ
खै ! यति छोटो समयमै एकाएक
विगत दुई वर्षिभत्रै
कसरी नाङ्गियो पार्टी र नेताहरु ? अर्थात्
कसरी नाङ्गियो साइपाल ?
आफु वयस्क भएदेखि नै
औलागाड सम्मै पुगेर यार्सागुम्बा बटुल्दै
आफ्नो जीवन चलाउने गरेका स्थानीय
जो अहिले स्थानीय जनप्रतिनिधि पनि छन्
वयस्क हुने वित्तिकै
पार्टीको सदस्यता लिएर
पार्टी कार्यालय र नेताहरुकै प्रदक्षिणा गर्दै
झण्डै दुई दशक विताइसकेको
इमान्दार कार्यकर्ता जस्तै
उनी पनि आश्चर्यमा छन्
कसरी नाङ्गियो पार्टी र नेताहरु ? अर्थात्
कसरी नाङ्गियो साइपाल ?
काँडा गाँउ विकास समितिलाई
साइपाल गाँउ पालिका बनाएपछि
प्रसन्न देखिएका स्थानीय जनप्रतिनिधि
साइपालको सौन्दर्यमा
पार्टी एकता भएर कम्युनिष्ट पार्टी बनेपछि
इमान्दार कार्यकर्ताले
देशमा समाजवाद आएको सपना देखे जस्तै
आफ्नो क्षेत्रको विकास पनि देख्थे
पार्टीभित्रै विचौलिया पसेर
नेताहरुका इमान र धर्म चोर्न थाले जस्तै
साइपालबाट पनि जडीबुटी चोरि हुन थालेको थियो
इमान्दार कार्यकर्ताले
पार्टी भित्रको क्रियाकलाप
विधि र प्रणाली अनुसार चलोस् भन्ने चाहना राखे जस्तै
ती जनप्रतिनिधि पनि
यार्सा संकलन र जडीबुटी संरक्षणलाई व्यवस्थित गर्न चाहन्थे
तर यतिखेर इमान्दार कार्यकर्ता जस्तै
उनी पनि आश्चर्यमा छन्
कसरी नाङ्गियो पार्टी र नेताहरु ? अर्थात्
कसरी नाङ्गियो साइपाल ?
पटक पटक अग्ला हिमाल आरोहण गरिसकेका आरोहीहरु, र
पार्टीभित्र आफूलाई
नैतिकताको पहरेदार ठान्ने कार्यकर्ताहरु
दुबै आश्चर्यमा छन्
हिउँ हराउन कसरी सक्छ ? अर्थात्
पार्टी र नेताहरुका आवरण हराउन कसरी सक्छ ?
विज्ञहरु भन्छन्-
हिउँको भार बढी भएको हुनसक्छ, वा
तापक्रम बढ्न गएकोले
ठूलो हिमपहिरो खसेको हुनसक्छ, अर्थात्
जितको दम्भको भार बढी भएको हुनसक्छ, वा
क्षमता विहिन लोभीहरुको भीड बढ्न गएकोले
ठूलो वैचारिक स्खलन भएको हुनसक्छ
अचम्म त माथि माथिको हिउँ मात्र नभएर
वर्षौंदेखि जमेको 'आइस' पनि पग्लिएको देखिन्छ, अर्थात्
संशोधनवादी पार्टी र नेताहरु मात्र नभएर
क्रान्तिकारी भनिएकाहरुमा पनि वैचारिक विचलन देखिन्छ
तर यतिखेर इमान्दार कार्यकर्ता जस्तै
स्थानीय जनप्रतिनिधि पनि आश्चर्यमा छन्
कसरी नाङ्गियो पार्टी र नेताहरु ? अर्थात्
कसरी नाङ्गियो साइपाल ?
***
१४ कार्तिक २०७७
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण