शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
आमा र यमदूतहरु– १२

“बूढा ! छोराले त नरकबाट रक्षा गर्न नसक्ने भो नि !”

सिकारप्रेमी बडापुरोहित कति बाठा ! मृत्यु ब्राह्मणको होस्, छेत्रीको वा वैश्यको – खाने र आर्जन गर्ने एउटा सुवर्ण अवसर
शनिबार, १५ कात्तिक २०७७, ०३ : १२
शनिबार, १५ कात्तिक २०७७

Title Photo Background: https://www.facebook.com

 

 

 

सत्ताइस

चर्को घाममा टलक्क चिन्डे टाउकामाथि लामो लर्कने टुप्पी, निधारमा तीनधर्के चन्दनमुनि नाकेडाँडीको फेदमाथि रातो टीका, काँधमा जनैको पासो, जाँघमा धोतीको परिधान— कथावाचक बाजे राडी ओछ्याइएको व्यासासनमा जमेर बसेका छन् ।

“श्री गणेशय नमः । हरि ओम् तत्सत् । गरुड उवाचः ।” दान–दक्षिणा महात्म्यको सातौँ अध्याय यसरी सुरु भयो । नियमानुसारको क्रम यथावत् छ । पहिले संस्कृत पाठको वाचन, त्यसपछि त्यसको नेपाली कथाको प्रस्तुति, बीच–बीचमा सचेतनाकारी जल–वर्षा । पुरोहित बाजे संस्कृतको अर्थ बुझ्छन् कि उनले नेपाली भाषाटीका घोकेर कथा कण्ठ गरेका हुन्, भन्न सकिँदैन । श्रोतागणमा संस्कृत बुझ्ने कोही छैनन् । बाजे म संस्कृतमा पारङ्गत पण्डित हुँ भनेझैँ गरी पाता पल्टाउँदै, फिँज काड्दै, झिँगा र भुसुना धपाउँदै, नाकबाट चुहुन लागेको पसिना पुछ्दै ह्वार्र संस्कृत पाठ वाचन गर्छन् । श्रोताले सुनून् वा नसुनून् उनलाई पर्वाह छैन । उता पुरोहित पटर–पटर पढिरहेछन्, यता श्रोताहरू कुहिराका काग भएर झकाउँदै र ओइलाउँदै जान्छन् ।

बाजे म संस्कृतमा पारङ्गत पण्डित हुँ भनेझैँ गरी पाता पल्टाउँदै, फिँज काड्दै, झिँगा र भुसुना धपाउँदै, नाकबाट चुहुन लागेको पसिना पुछ्दै ह्वार्र संस्कृत पाठ वाचन गर्छन् । श्रोताले सुनून् वा नसुनून् उनलाई पर्वाह छैन । उता पुरोहित पटर–पटर पढिरहेछन्, यता श्रोताहरू कुहिराका काग भएर झकाउँदै र ओइलाउँदै जान्छन् ।

“सूतजी भन्नुहुन्छ ...” छ्याप्प पानी छ्यापेर आफ्ना सिकारगणलाई चनाखा तुल्याउँदै सिकारी बाजेको सिकार पुराणको नेपाली अर्थको दैलो घुरुक्क उघ्रियो । “पापीहरू यमराजको यातनाबाट मुक्त हुने उपाय के छ ” सूतजीको सोधाइको जवाफमा बडीबाजे मुक्तिको रणनीतिमाथि प्रकाश पार्न थाल्छन्, “हे सूतजी !”

फेरि सुरु भयो लिङ्गभेदको कुरुप कथा ! “हे गरुड ! अपुत्री र पापीहरूको दुर्गति पहिले कहियो ।” त्यसउप्रान्त पुरोहित बाजे पुत्र लाभ गर्ने जुक्ति बताउँछन्, “हरिवंंशको कथा सुन, विधिपूर्वक चण्डी पाठ गर अथवा भक्तिपूर्वक शिवजीको आराधना गर । पुत्र लाभ हुन्छ–हुन्छ, फरक खाँदैन । जब पुत्रको जन्म हुन्छ, पितृहरू पुन्नाम नाउँ गरेको नरकबाट तत्काल मुक्त भइहाल्छन्, । एउटै धर्मात्मा पुत्रले सम्पूर्ण कुललाई तार्छ, र उसले लोकमाथि विजय पनि गराउँछ ।”

बाजेका ओठमा गोचर भएको फिँज हेर्दै म कल्पना गर्छु— मानौँ कि बडीबाजेले बताएको मुक्तिको विधि सही हो । जो निरक्षर छन्, र जो पुरोहितलाई दान–दक्षिणा अर्पण गरेर माथि बताइएका कथा सुन्न, पाठ गर्न वा आराधना गर्न असमर्थ छन् तिनले के गर्ने होला ? भगवान् नामक रहस्य निराकार शून्यमा आदि कालदेखि अनन्त कालसम्म भूमिगत छ, मेरो प्रश्न आदि कालदेखि अनन्त कालसम्म अनुत्तरित रहन अभिशप्त छ ।

पितृलाई स्वर्गको बाटो खोलिदिने पुत्र कस्तो हो ? आफ्ना उत्तराधिकारी पुरोहित बाजेका मुखबाट उत्तर दिन भगवान् बाजे अघि सरिहाल्छन् । व्याइते ब्राह्मणीबाट जन्मेका छोराले स्वर्ग जाने राजमार्ग निर्माण गरिदिन्छ । तर ल्याइतेबाट जन्मेकाले नरक पुर्‍याउँछ । ठूल्दाइलाई पुलुक्क हेरेर म आँखाको सानले भन्छु, “बूढा ! छोराले त नरकबाट रक्षा गर्न नसक्ने भो नि !”

पितृलाई स्वर्गको बाटो खोलिदिने पुत्र कस्तो हो ? आफ्ना उत्तराधिकारी पुरोहित बाजेका मुखबाट उत्तर दिन भगवान् बाजे अघि सरिहाल्छन् । व्याइते ब्राह्मणीबाट जन्मेका छोराले स्वर्ग जाने राजमार्ग निर्माण गरिदिन्छ । तर ल्याइतेबाट जन्मेकाले नरक पुर्‍याउँछ । ठूल्दाइलाई पुलुक्क हेरेर म आँखाको सानले भन्छु, “बूढा ! छोराले त नरकबाट रक्षा गर्न नसक्ने भो नि !”

ठूल्दाइ अविश्वासको भावमा पुरोहित बाजेतिर मौन कटाक्ष प्रक्षेपण गर्नुहुन्छ ।

अर्ती–उपदेशका थोक विक्रेता बडीबाजे एक डोज अर्ती पिलाउँछन्, “यस्तो जानेर हे गरुड ! ब्राह्मणले हीन जातिकी कन्या त्यागोस् । हे गरुड ! सवर्ण स्त्रीमा सवर्ण पतिबाट जो औरस पुत्र उत्पन्न हुन्छन्, तिनै पुत्रहरूले गरेको श्राद्ध र ब्राह्मणहरूलाई दिएको दानले पितृहरूलाई सरासर स्वर्गमा पुर्‍याउँछन् । ”

ब्राह्मण जातका यी पुरोहितको दान–दक्षिणा प्राप्त गर्ने लालसा अत्यन्त प्रबल छ । त्यसकारण सुस्वादु भोजन र मनमाफिकको धन प्राप्त गर्ने कुनै पनि मौकालाई हातबाट फत्किन नदिन बाजे औधी सचेत छन् । त्यसैले त उनी आज्ञा गर्छन्, “हे गरुड ! आफ्ना पुत्रले श्राद्धादि गर्दा पितृहरू स्वर्ग जान्छन् भन्ने कुरा त के भनूँ, अर्कैले क्रियादि गरिदिँदा प्रेत स्वर्ग गएको कथा तिमीलाई कहन्छु, सुन ।”

पुरोहित कथा कहन थाल्छन् । कथा कुतूहल, नाटकीयता र रोमाञ्चले भरिपूर्ण छ । कथाको समय त्रेतायुग हो र कथाको परिवेश हो सुन्दर महोदय नगर, जहाँका राजा थिए बभ्रुवाहन । फूलबुट्टे कथा भन्छ— राजा बत्तीस लक्षणले युक्त थिए । दयालु, दानी र प्रजापलक । दीर्घबाहु भएका ती राजा एक दिन सैन्यबलले सज्जित भई एउटा रमणीय बनमा सिकार खेल्न निस्के । आफ्नो वाण लागेर अदृश्य भएको मृगको रगतको डोवलाई पछ्याउँदै राजा चारचौरास चहारे । बभ्रुवाहन राजा बरको फेदमा बसे । उनले एउटा हदभागी प्रेतलाई देखे— भोक—प्यासले इन्द्रिय व्याकुल भएको, मैलोधैलो र ठसठसी गनाउने विकृत रूप भएको । राजालाई देखेर खुसी भएको प्रेत भन्न थाल्यो, “हे महाबाहो ! तिम्रो संयोगले म आज अति धन्य हुँदो भएँ ।”

प्रेतका वचन सुनेर आश्चर्य–चकित भएका राजाले प्रश्न गरे, “हे कृष्णवर्ण ! हे विकराल मुख भएका प्रेत ! तिमीले कुन कुकर्मको परिणाम यो अत्यन्तै कुरुप रुप भएको प्रेतरूप पायौ ? हे तात ! तिमी प्रेत हुनाको सवै कारण मलाई बताऊ । तिमी को हौ ? कुन दानले तिम्रो प्रेत योनी नासिन्छ ?”

प्रेतको प्रत्युत्तर भन्छ— ऊ वैश्य जातिको थियो र वैदश नामक नगरको बासिन्दा थियो । पुरोहित बाजेको सिकारशास्त्रमा वर्णन गरिएका यावत् धर्म–कर्म र दान–दातव्य उसले सम्पन्न गरेको थियो । ऊ अपुतो थियो, त्यसैले दानबाट पुण्य लाभ नहुनाले र उसको काजक्रिया र सोह्र श्राद्धादि पनि नहुनाले ऊ प्रेत रूपमा पतीत भयो । यति दुःख–पुकारा गरिसकेर प्रेतले निवेदन गर्‍यो, “हे राजन् ! हजुर मेरो काजक्रिया गरेर मलाई तारिबक्सियोस् । म हजुरलाई मणिरत्न टक्र्‍याउँछु ।”

मणिरत्नको उच्चारण भएको सुन्दा राजन‍्जीका तीन नेत्र धपक्कै बले र उनका हृदयमा आनन्दको झल्झलाकार सूर्य उदायो । राजाले काजक्रिया गर्ने विधिबारे सोधे, प्रेतले विधि सविस्तार बतायो— बत्तीस तोला सुनको नारायणको एउटा प्रतिमा बनाउनू, ब्राह्मण बाजेहरूलाई दूध, दही, घिउ, मह, केरा आदिले तृप्त गराउनू, सोह्र श्राद्ध गर्नू र बाछालाई डामेर छाड्नू, ब्राह्मणहरूलाई जीवननिर्वाह गर्न चाहिने यावत् बस्तुले परिपूर्ण हुने गरी शय्यादान गर्नू, ब्राह्मणहरूलाई सुनका घडादान गर्न कदापि नबिर्सनू, आदि ।

प्रेतले राजालाई आग्रह गर्दै नमस्कार गर्‍यो “नभुलिबक्सियोस् है ख्वामित् ।”

कथाले भनेअनुसार राजाले प्रेतको काजक्रिया गराए अनि प्रेत मुक्त भएर गगन मार्गमा बाँकटे हान्दै सरासर स्वर्गलोकमा पुग्यो ।

म गम्छु, सिकारप्रेमी बडापुरोहित कति बाठा ! मृत्यु ब्राह्मणको होस्, छेत्रीको वा वैश्यको, त्यो खाने र आर्जन गर्ने एउटा सुवर्ण अवसर हो । बडीबाजेको चतुर रणनीतिले सिकार गरिनेहरूको बृत्तमा बैश्यलाई समेत पनि भित्र्याएरै छाड्यो । सिकार गरिने जीवहरूको सङ्ख्या जति धेरै भयो, सिकारको मोर्चा त्यति नै फलदायक हुने कुरा त सरल गणितको भोगबादी सत्य नै हो ।

म गम्छु, सिकारप्रेमी बडापुरोहित कति बाठा ! मृत्यु ब्राह्मणको होस्, छेत्रीको वा वैश्यको, त्यो खाने र आर्जन गर्ने एउटा सुवर्ण अवसर हो । बडीबाजेको चतुर रणनीतिले सिकार गरिनेहरूको बृत्तमा बैश्यलाई समेत पनि भित्र्याएरै छाड्यो । सिकार गरिने जीवहरूको सङ्ख्या जति धेरै भयो, सिकारको मोर्चा त्यति नै फलदायक हुने कुरा त सरल गणितको भोगबादी सत्य नै हो ।

इति सप्तमो अध्याय सिकारगाथा समाप्तम् ।

अठ्ठाइस

“श्री गणेशाय नमः ।” पुरोहित बाजेले रातो रुमालभित्रको गरुड पुराण झिकेर गणेशलाई प्रणाम गरे । सनातन रीतबमोजिम उनले पहिले झिझ्याटालग्दो गरी संस्कृत पाठ भट्याए । उनको संस्कृत उच्चारण शुद्ध छ वा लटरपटर, उनले शव्द–शव्द, हरफ–हरफ र पृष्ठ–पृष्ठ क्रमैले पढेका हुन् वा बीच–बीचमा छलाङ मार्दै पढेका हुन्, त्यो उनैलाई मात्र थाहा छ ।

“हरि ओम् तत्सत् ।” बाजेले जलको छर्राले प्रहार गरी श्रोताहरूको ध्यान आफूतिर आकृष्ट गरे । ब्राह्मणलाई दान नगर्ने पापीले सहस्र नरकहरूमा घुम्दै कस्तो अकल्पनीय यातना सहनुपर्छ, उनले दोहोर्‍याइ, तेहर्‍याइ श्रोताहरूलाई घोकाइसकेका छन् । तिनका अन्तर्दृष्टिमा आफ्नो परम‍्प्रिय मृतकले भोग्नु परेका दारुण दृश्यहरू झल्झली गोचर भइरहेका छन् । तिनका मगज खल्बलिएका छन्, तिनका हृदय चिरा परेका छन् । तिनका आत्मामा सन्तापको आगो दन्दनी बलिरहेको छ । सहस्र वाण दागेर लम्पसार हुने गरी घाइते तुल्याइएका सिकारहरूलाई गलाएर सक्दो धेरै दान हात पार्ने मनसायले बडीबाजे दानका आइटमहरूको अन्त्यहीन सूची तयार पार्ने तरखरमा लागे ।

बाजेका अन्तर्दृष्टिमा आफ्नो परम‍्प्रिय मृतकले भोग्नु परेका दारुण दृश्यहरू झल्झली गोचर भइरहेका छन् । तिनका मगज खल्बलिएका छन्, तिनका हृदय चिरा परेका छन् । तिनका आत्मामा सन्तापको आगो दन्दनी बलिरहेको छ । सहस्र वाण दागेर लम्पसार हुने गरी घाइते तुल्याइएका सिकारहरूलाई गलाएर सक्दो धेरै दान हात पार्ने मनसायले बडीबाजे दानका आइटमहरूको अन्त्यहीन सूची तयार पार्ने तरखरमा लागे ।

भूमिका बाँधेर बाजे आज्ञा गर्छन्, “मृत्युकालमा हरि–नाम सुन्नाले मात्र पनि मानिसहरूको पाप नाश हुन्छ । तसर्थ मेरो पवित्र नाम बारम्बार स्मरण गर्नू ।” बडीबाजे भक्तहरूले पुकार्नुपर्ने आफ्ना विविध नामहरू आपैmँ रटाउँछन् । ती हुन्— मत्स्य, कुकर्म, बराह, नृसिंह, वामन, राम, परशुराम, कृष्ण, बौद्ध, कल्कि । यी नाम अरुले जपिदिएर बाजेलाई द्रव्य लाभ हुँदैन । अतः बाजे जोड दिन्छन्, “पण्डितकै पवित्र मुखबाट मेरा नामहरू बारम्बार जपियून् ।”

कथा भन्छ— नाम जप्ने र नजप्नेको भेद छुट्याएर यमराजले आफ्ना सेवकहरूलाई भन्नेछन्, “हे दूत हो ! नास्तिकजतिलाई यहाँ ल्याओ, हरि–नाम स्मरण गर्नेहरूलाई नल्याओ ।”

बाजेको ब्राह्मणवादी नकाव धारण गरेर अलौकिक कल्पनामा लीन हुने यत्न गर्दा म बाजेको उद्घोषअनुसार नास्तिक मतिका हाम्रा वाम नेताहरूको लर्कोले नरकयात्रातर्फ प्रस्थान गरेको त्रासद् दृश्य देख्छु । मोहनविक्रम सिंह र चित्रबहादुर केसी, प्रचण्ड र डा. बाबुराम भट्टराई, नारायणकाजी प्रकाश र स्वनाम साथी, कामरेड रोहित र सीपी. मैनाली । आफ्ना नास्तिक आङमा यमदूतहरूका कोर्रा बर्सिन थालेपछि एमवि सिंह पूर्वजन्मको आफ्नो असीम ज्ञानराशिको स्मरण गर्दे उदास मुद्रामा तर्क गर्नुहोला— गाँट्ठे ! ड्यूरिङ मत खण्डनले कहाँनेर फेल खायो होला ? कुटाइको रनाहामा परेर चित्र बहादुरजीले यमदूतलाई चुनौतीको गाउँले लबजमा सम्झाउनुहोला, “ए, केटा हो ! अलि विस्तारो कुट है । मौकाँ पालोको पैँचो त तिमर्ले नि साउँ–व्याजसहित भोग्नैपर्ला क्यारे ।” यमदूतहरू नरकका उत्पीडित हुन् भन्ने वर्गीय तथ्यबारे गम खाँदै तिनलाई सांस्कृतिक शिक्षा दिने अभिप्रायले का. रोहित भन्नुहोला, “भाइ हो, एकछिन कोर्रा थन्क्या’र सुन । का. रोहित उर्फ हरिबहादुर श्रेष्ठले लेखेको जनताको साहित्य तिमीहरूले कहिल्यै पढेका छौ ?” पूर्व जन्ममा आफूले जनकार्बाइदेखि भौतिक कार्वाइसम्मका अनेकओली कार्बाइ सम्पन्न गर्दा पनि चोट लाग्ने गरी कुनै मनुवाले आफूमाथि कार्वाइ गर्न नसकेका प्रचण्डजी यमदूतको ज्यानमारा कोर्रा खाँदै सोच्नुहोला, “इत्तेरिका ! सगरमाथाको चुचुरोबाट विश्व हाँक्ने त्यत्रो प्रचण्डपथको निर्माण गरेको पनि बेकारै भयो !” अनि अनौठा प्रेतहरूका मुखबाट अचम्मका कुरा सुन्दा चकित भएका यमदूतहरूसँग वर्गीय नाता कायम गर्ने सुरले स्वनाम साथी मृदु भाकामा निवदेन गर्नुहोला, “हे यमदूत हो ! तिम्रा मालिकहरूका धर्मका नजरमा म वैश्यपुत्र हुँ । वैश्यपुत्र हुनाको कारण मैले माथि नरलोकमा निकै गोता खाइसकेको छु । तसर्थ जति कुट्नु छ पहिले यी बाहुन–छेत्री जातका बाजे कमरेडहरूलाई कुट । त्यसपछि कुटाइभाग बाँकी रहे म विचार गरुँला ।”

आफ्ना नास्तिक आङमा यमदूतहरूका कोर्रा बर्सिन थालेपछि एमवि सिंह पूर्वजन्मको आफ्नो असीम ज्ञानराशिको स्मरण गर्दे उदास मुद्रामा तर्क गर्नुहोला— गाँट्ठे ! ड्यूरिङ मत खण्डनले कहाँनेर फेल खायो होला ? कुटाइको रनाहामा परेर चित्र बहादुरजीले यमदूतलाई चुनौतीको गाउँले लबजमा सम्झाउनुहोला, “ए, केटा हो ! अलि विस्तारो कुट है । मौकाँ पालोको पैँचो त तिमर्ले नि साउँ–व्याजसहित भोग्नैपर्ला क्यारे ।”

सके ठीक त्यही बेला दुईवटा यमदूतले माधवकुमार नेपाल र बामदेव गौतमलाई पाता फर्काएर सुम्ठ्याउँदै ल्याइपुर्‍याउलान् । र, तत्कालै यमराजका विशेष दूतहरू सङटकालीन सन्देश लिएर त्यहाँ आउलान् । विशेष दूतहरूले नेपाल र गौतमलाई पक्राउ गरी ल्याउने यमदूतहरूका नाइकेलाई सोध्लान्, “साला, उहाँ सरहरूलाई ल्याउने यता रौरवतिर हो ?”

पापीहरूको सूचीमा नेपाल र गौतमका नाम हेर्दै पक्राउकारी यमदूतहरूको नाइके सफाइ देला, “चित्रगुप्तको सूचीअनुसार त यिनलाई ल्याउने यतै हो, साप् ।”

“साला, संशोधित सूची हेर्नुपर्दैन ?” विशेष दूतले हप्काउला । “उहाँ सरहरू हाम्रै मान्छे हुनुहुन्छ भन्ने कुरा तँलाई थाहा छैन, गोब्रे ?”

त्यसपछि नेपाल र गौतमको सवारी यमराजको विलासी दरवारतिर चलाउन विशेष दूतहरूले उहाँहरूलाई जुरुक्क उचालेर पाल्कीमा चढाउलान् । त्यो दृश्य देखेर कामरेड चित्रबहादुर केसी. टिप्पणी गर्नुहोला, “भातमाराहरू ! वाँ माथि पजेराँ चढ्या थे, यहाँ तल आ’र पाल्कीआँ चढे !”

सर्वहाराको अधिनायकत्व आएपछि पाल्कीआरोहीहरूलाई जन–अदालतमा उभ्याउनुपर्ला भन्ने मनसायले एमवि सिंह नेपाल र गौतमका नाम आफ्नो गोप्य डायरीमा टिपोट गर्न खल्तीमा सिसाकलम छाम्नुहोला । दुर्भाग्यवश, सिसाकलम नपाएर बूढा एमवि खिस्रिक्क पर्नुहोला ।

सके त्यो बेला यातनाकारी यमदूतहरूका हृदय परिवर्तन गर्ने अभिप्रायले स्वनाम साथी तिनलाई गीतको सुरिलो स्वरलहरीमा मार्क्सवादी शिक्षा दिँदै हुनुहोला:

सुन भाइ हो, गुन भाइ हो
सोचीविचारीकन बुझ भाइ हो
वर्गीय समाजमा वर्गीय प्रेम नै
चोखो र न्यानो हुन्छ ।

गरुड पुराण भन्ने क्रम जारी छ । पुरोहित बाजे अब दानका आइटमहरूको क्रमबद्ध शृङ्खलामाथि प्रकाश पार्छन् “असल वेदपाठी ब्राह्मणलाई घिउले युक्त सुवर्णहित अन्न सङ्कल्प गरोस् । बाछाले सहित भएकी भर्खर व्याएकी गाई दान देओस् । हे गरुड ! माता–पिताको अन्त्यकालमा योग्य छोराले दसदान, पञ्चधेनु इत्यादि दान गराओस् ।

आफ्नो कृपाको चक्रव्यूहमा फसाइएका सिकारीहरूले कुनै पनि आइटम नछुटाऊन् भन्ने हेतुले बडीबाजे हरेक आइटमबाट प्राप्त हुने लाभबारे रिट्ठो नबिराई बताउँछन् । तिलदान गर्नाले देवता, दैँत्य, दानव सबै तृप्त हुन्छन् । भूमि र फालम दान दिनाले यमपुरीको सिमाना नै पुग्नु पर्दैन । सुनदान गर्नाले धर्मराजका सबै सभासद् प्रसन्न हुन्छन् ।

दानका यावत् आइटमहरू कण्ठ गरेका पुरोहित बाजे अब अष्टदानको प्रसङ्ग उच्चारण गर्छन्, “अष्टदान अर्थात तील, फलाम, सुवर्ण, कपास, नून, सप्तधान्य, पृथ्वी र गाई यी सवै पवित्र छन् । अतएव आतुर कालमा यिनको दान गर्नु अति श्रेयस्कर छ ।” आफ्नो कृपाको चक्रव्यूहमा फसाइएका सिकारीहरूले कुनै पनि आइटम नछुटाऊन् भन्ने हेतुले बडीबाजे हरेक आइटमबाट प्राप्त हुने लाभबारे रिट्ठो नबिराई बताउँछन् । तिलदान गर्नाले देवता, दैँत्य, दानव सबै तृप्त हुन्छन् । भूमि र फलाम दान दिनाले यमपुरीको सिमाना नै पुग्नु पर्दैन । सुनदान गर्नाले धर्मराजका सबै सभासद् प्रसन्न हुन्छन् । जसले सुनदान गर्छ, ऊ सोझै स्वर्ग जान्छ, र लामो समयसम्म स्वर्गको सुखभोग गरेपछि यस लोकमा रूपवान्, चतुर, लक्ष्मीवान् भई बडो पराक्रमी राजा हुन्छ । यहाँनेर म तर्क गर्छु, सुन दान गर्नेहरूजति सबैले राजाका रूपमा जन्म लिने हो भने हिन्दूहरूको बस्ती भएको समस्त दक्षिण एसियाली क्षेत्रको कस्तो दुर्गति होला ? राजगद्दी हत्याउन हानथाप गर्ने युद्ध सर्दारहरू साँढेझैँ जुधेर समस्त सामािजक मानचित्र नै खरानी नहोला ?

दुखिया बाजेलाई हेर्छु, बरा उनका आँखामा लोभ छ, उनको मुद्रामा लोभ छ, उनको स्वरमा लोभ छ । स्वरलहरीको एकएक अंशसँगै उनको लोभ प्रबल आशामा परिणत भइरहेको छ । आफूले पाउने प्रत्येक आइटमका वृत्तान्त उनी उत्साहपूर्वक सुनाइरहेका छन् । कपास दान गर्नाले यमराजका दूतको डर हुँदैन । जसले नून दान गर्छ उसलाई त यमराज स्वयंको पनि डर हुँदैन । फलाम, नून, तील, कपास र सुन दान गर्नाले यमराजका प्रमुख गुप्तचर चित्रगुप्त आदि सबै सन्तुष्ट हुन्छन् । सप्तधान्य अर्थात धान, जौ, गहुँ, मुङ, कालो मास, प्रियङ्गुम र चनादान गर्नाले धर्मध्वज मात्र होइन, यमराजका तीन द्वारमा जो जो तैनाथ छन् ती सबै खुसी हुन्छन् । गोभर्ण अर्थात् गोरुसहितका सयवटा गाई बस्दा जति जमिन ढाकिन्छ, त्यति मात्र भए पनि ब्राह्मणलाई जमिन दान गर्नाले ब्रह्महत्या लगायतका समस्त पापहरूबाट मुक्ति पाइन्छ ।

जमिन नहत्याई नछाड्ने जब्बर अडान लिएर यहाँनेर कथा लेखक बाजे आज्ञा गर्छन्— व्रत, तीर्थ र अरु नाना प्रकारका दान गर्नाले पनि राजकाजमा गरिएको महापाप नष्ट हुँदैन । तर भूमिदान गर्नाले मात्र त्यो नष्ट हुन्छ । ए...म गम्छु— बाजेलाई भूमिदान दिएपछि आफूलाई भूपति भनी आफ्नो स्तुति गराउने निरङ्गुश राजाहरू पनि त आफ्ना कुकर्महरूबाट मुक्त हुने भए !

जमिन नहत्याई नछाड्ने जब्बर अडान लिएर यहाँनेर कथा लेखक बाजे आज्ञा गर्छन्— व्रत, तीर्थ र अरु नाना प्रकारका दान गर्नाले पनि राजकाजमा गरिएको महापाप नष्ट हुँदैन । तर भूमिदान गर्नाले मात्र त्यो नष्ट हुन्छ । ए...म गम्छु— बाजेलाई भूमिदान दिएपछि आफूलाई भूपति भनी आफ्नो स्तुति गराउने निरङ्गुश राजाहरू पनि त आफ्ना कुकर्महरूबाट मुक्त हुने भए ! धर्मशास्त्र नै यस्तो भएपछि राजाले निरङ्गुश आचरण गर्न किन छाड्थ्यो ? गर्नु अत्याचार गर्‍यो, बाजेलाई भूमिदान दियो सरासर स्वर्ग गयो अनि धीत मर्ने गरी स्वर्गीय सुख भोग गरेर फेरि निरङ्गुश राज चलाउन नरलोकमा खुत्रुक्क ओर्ल्यो !

बडीबाजे प्रत्येक जजमानबाट गच्छेअनुसार दान असुल गराउने धन्दामा कटिबद्ध छन् । धेरै पाइन्छ, धेरै लिने, थोरै पाइन्छ, थोरै लिने । तर पाएसम्म एक सुको दान र एक कोसो केरा पनि नछाड्ने । तसर्थ बाजे महोदय आज्ञा गर्छन्, “जो राजा होइनन्, तिनले भूमिको सट्टा गाई दान गरे हुन्छ ।” भूमिबाट गाईमा ओर्लिएका बाजे गाई एउटा होइन, एउटा गोठै पाए हुन्थ्यो भन्ने मनसाय प्रकट गर्छन् । जस्तो कि नरकयात्राबाट मुक्ति दिने “अन्तेधेनु” गाई, मृत्युको कष्ट निवारण गर्ने “रुद्रधेनु” गाई, बक्यौतो ऋणको पापमोचन गर्ने “मोक्षधेनु” गाई, पुच्छर समातेर वैतरणी नदी तर्ने “वैतरणी धेनु” गाई, राति, विहान, दिउँसो र वेलुका मन, वचन र तनले गरेका पापहरूलाई पखाल्ने दुहुनो “कैली गाई” आदि ।

वैतरणनी नदी नरकको आतङ्कको मुहान हो । त्यस आतङ्कको सरहाराले शोक–विह्वल श्रोताको भग्न मनोदशामा बाजेले पहिले नै कोलाहलको सिर्जना गरिसकेका छन् । आफ्नो आतङ्ककारी साधनाको फल प्राप्त गर्न यहाँनेर वाचक बाजे वैतरणी नदीतर्फ उन्मुख हुन्छन् । प्रेतलाई भवसागर वैतरणी कसरी तार्ने ? उठ्यो अब गाईको धातुरूपी प्रतीकको नयाँ प्रसङ्ग । आफ्ना आँखाअगाडि गाईको कल्पनाबाट सुनको प्रतिमा प्रत्यक्ष हुन लागेको देखेर होला शायद, प्रसन्नता झङ्कृत भएको स्वरमा बाजे भन्छन्, “कालो वर्णकी अथवा रातो वर्णकी गाईलाई गरगहनाले सिंगारेर सुनका सिङ, चाँदीका खुर र काँसको दूध दुहुने ढुङ्ग्रोले युक्त गरी कालै रङको वस्त्रले ढाकेर, घाँटीमा सुनको घण्टी सजाएर कपासमाथि राखोस् । उखुको नाउ बनाएर त्यसमा रेशमी धागो बेरी पानी भरिएको खाडलमा नाउ राखोस् । अनि उखुको त्यसै नाउमाथि बाछीसहितको लैनो गाईलाई राखेर शास्त्रका विधिमुताविक सङ्कल्प गरोस् ।”

वैतरणनी नदी नरकको आतङ्कको मुहान हो । त्यस आतङ्कको सरहाराले शोक–विह्वल श्रोताको भग्न मनोदशामा बाजेले पहिले नै कोलाहलको सिर्जना गरिसकेका छन् । आफ्नो आतङ्ककारी साधनाको फल प्राप्त गर्न यहाँनेर वाचक बाजे वैतरणी नदीतर्फ उन्मुख हुन्छन् । प्रेतलाई भवसागर वैतरणी कसरी तार्ने ?

प्रेतरूपी जीवलाई अघि–पछि र दायाँ–बायाँ भएका गाईहरूको रक्षा कवचको बीचमा पारेर वैतरणी नदी तार्ने निहुँमा गाईजति सबै आफ्ना गोठतिर डोर्‍याउने दाउले कथाका तानावाना बुनिसकेर लेखक बाजे दान गर्नुपर्ने पुण्यस्थलहरूको सूची प्रस्तुत गर्छन् । बाजेको दिव्य कथनअनुसार ब्राह्मणहरूलाई दान गर्ने ती शुभ समय र पुण्यस्थलहरू हुन्— गङ्गा–मण्किर्णिका, चन्द्र–सूर्य ग्रहण, औँसी, साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति, बैशाखे र कात्तिके सङ्क्रान्ति, अक्षय तृतीया आदि । बडीबाजेको मत छ— यी र यस्ता पुण्यस्थल र पुण्यकालहरूमा बाजेलाई गोदान दिनु अति उत्तम हो ।

निश्चित ठाउँमा र निश्चित दिनमा मात्र दानलाई सीमित तुल्याउँदा जजमानको धन फुत्केर अन्यत्रै पो जाला कि भन्ने पीरले राइटरबाजे वैकल्पिक कार्यनीति अख्तियार गर्छन् । जीवन र धन दुवै अनित्य छन् । ती अहिले छन्, भरे हुँदैनन् । त्यसैले माथि बयान गरिएका स्थान र पुण्यकालको अपवाद भन्दै बाजे एक राउन्ड उपदेश जारी गर्छन्, “जुन बखत श्रद्धा उत्पन्न हुन्छ, जहिले सत्यात्र विद्वान् ब्राह्मण प्राप्त हुन्छन्, सोही नै पुण्य काल हो किनकि चञ्चल धन स्थिर रहँदैन । अर्थात् धनले पुण्यकाल पर्खिरहँदैन ।”

आफ्नो तर्कलाई दरिलो टेवा दिँदै बाजे व्याख्या गर्छन्, “शरीरहरू पनि स्थिर छैनन् । अहिले हो कि भरे हो मर्ने समय जानिदैन । त्यसकारण पछि पछुतो नहोस् भन्नाखातिर पहिले नै धर्मसङग्रह गरिहाल्नुपर्छ । फेरि, धेरै धन हुनेले थोरै दान गरेर पुण्य लाभ हुँदैन भन्ने कुरो पनि स्मरणीय छ ।”

बाजेको चञ्चल चित्त अर्को आशङ्काले आक्रान्त हुन पुग्छ । बाबु–आमा मरेपछि छोराले तिनका नाउँमा दान देलान् नै भन्ने के ग्यारेन्टी छ ? त्यसैले बडीबाजे बडो सतर्कतासाथ अर्को कार्यनीतिक छलाङ मार्छन्, “आफू जिउँदो छँदैमा दान गरिएन भने आफू मरेपछि अरुले गरिदेलान् भन्ने के निश्चित छ र ?

बाजेको चञ्चल चित्त अर्को आशङ्काले आक्रान्त हुन पुग्छ । बाबु–आमा मरेपछि छोराले तिनका नाउँमा दान देलान् नै भन्ने के ग्यारेन्टी छ ? त्यसैले बडीबाजे बडो सतर्कतासाथ अर्को कार्यनीतिक छलाङ मार्छन्, “आफू जिउँदो छँदैमा दान गरिएन भने आफू मरेपछि अरुले गरिदेलान् भन्ने के निश्चित छ र ? ती अरुहरू जो छन् तिनीहरू त मरेको लासलाई ढुङ्गो–मूढोझैँ मिल्काइदिएर आफ्नो लुते धन्दामा लागिहाल्छन् । तसर्थ दान भनेको जति छिटो गर्‍यो, उति नै राम्रो ।”

बाजे जन्म–जन्मान्तरको कथाको स्मरण गर्छन् । “अघिल्लो जुनीमा जसले ब्राह्मणलाई प्रचूर मात्रामा दान दिएथ्यो यस जुनीमा उसले त्यही पुण्यरूपी बाली उठाएर सुखभोग गरिरहेछ । एवम् रीतले जसले यस जुनीमा प्रचुर मात्रामा दान गर्छ अर्को जुनीमा उसले त्यही पुण्यरूपी बाली उठाएर सुखभोग गर्न पाउने छ । यो जीवन–चक्र अनन्त कालसम्म घुमिरहने छ ।”

बाजेको भाग्यवादी दर्शन भन्छ— “आज जो दान दिन सक्ने धनाढ्य छन् ती अघिल्लो जुनीमा पनि धनाढ्य र सुखी थिए र पछि–परन्तुसम्म पनि ती त्यस्तै नै रहनेछन् । आज जो दान दिन नसक्ने कङ्गाल छन् ती पहिले पनि त्यस्तै कङ्गाल थिए र अनन्तसम्म ती त्यस्तै नै रहनेछन् ।”

इति धनाढ्यसेवी गरुड पुराण अष्टमोध्याय तुरितम् !!

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप