आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अर्मानियाले रुससँग माग्यो मद्दत, टर्कीले गर्‍यो अजरबैजानको समर्थन

सोमबार, १७ कात्तिक २०७७, ०८ : ०९
सोमबार, १७ कात्तिक २०७७

नागार्नो–काराबाखको विवादित इलाकाको विषयमा अर्मानियासँग युद्धमा उल्झिएको अजरबैजानका लागि टर्कीले एकपटक पुनः आफ्नो बलियो समर्थन जताएको छ ।

आइतबार टर्कीका विदेशमन्त्री मेवलुत चोवुशुग्लू अजरबैजानको राजधानी बाकू पुगे र उनले अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवसँग भेटघाट गरे ।

अर्मानिया–अजरबैजानबीच जारी युद्धमा टर्कीको बलियो समर्थन अजरबैजानमाथि भएको उनले दोहोराए । उनले स्पष्ट रुपमा भने, ‘टर्की बाकूका आफ्ना भाइहरुसँग खडा छ ।’

अर्मानियाको रुससँग सम्भावित सुरक्षा सहायतामाथि विचार–विमर्शको एक दिनपछि टर्कीका विदेशमन्त्री अजरबैजान पुगेका छन् ।

यसअघि अर्मानियाका प्रधानमन्त्री निकाले पाशिन्यानले रुसी राष्ट्रपति भ्लादिमिरी पुटिनलाई पत्र लेखेर नागोर्नो–काराबाखको लडाईंमा मद्दत मागेका थिए ।

यसको जवाफमा शनिबार रुसले यदि लडाईं अर्मानियासम्म पुगेको खण्डमा रुस एक रक्षा सम्झौता अनुरुप अर्मानियालाई हरेक आवश्यक मद्दत दिनका लागि तयार रहने बतायो ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवले अर्मानियाली प्रधानमन्त्रीको पत्रलाई ‘हार स्विकार गरेको’ बताएका छन् ।

आत्मसमर्पण गर्न चाहँदैन अर्मानिया– अजरबैजान

इल्हाम अलियेवले भने, ‘हेर्ने हो भने अर्मानियाले हार मानेको छ तर ऊ आत्मसमर्पण गर्न चाहँदैन ।’

उनले कुराकानीको माध्यमले अजरबैजान यो मामिलालाई सुल्झाउन चाहन्छ तर ‘अर्मानियालाई शान्तिसँग कुनै सरोकार छैन । ऊ काराबाखको इलाकामा सधैं आफ्नो कब्जा चाहन्छ’ भनेका छन् ।

उनले दाबी गरे अनुसार २७ सेप्टेम्बरदेखि लडाईं सुरु भएपछि काराबाखको इलाकामा अजरबैजानले २ सय सेटलमेन्ट्समा आफ्नो कब्जा जमाएको छ ।

जबसम्म अर्मानिया आफ्नो कदमबाट पछि हट्दैन, यो लडाईं नरोकिने उनले बताएका छन् ।

अर्मानिया र अजरबैजानबीच बढ्दो तनावलाई मध्यनजर गर्दै अन्तरराष्ट्रिय विश्लेषकले टर्की र रुस पनि यो संघर्षमा समावेश हुनसक्ने विश्लेषकले चेतावनी दिएका थिए ।

अजरबैजान र अर्मानियाबीच युद्धविरामको कोसिस पनि भइसकेको छ तर ती सफल भएनन् ।

दुबै देशले युद्धविरामको केही घण्टापछि नै एक अर्कामाथि यसको उल्लंघनको आरोप लगाउन सुरु गरेका थिए ।

दुबै देशले एक अर्कामाथि गोली चलाएको र बम फ्याँकेको आरोप लगाइरहेका छन् । थुप्रै पटक विवादित नागार्नो–काराबाख इलाका बाहिर अर्थात् सीमाभन्दा कतै टाढा इलाकामा पनि शेलिंगको खबर पाइएको छ ।

अजरबैजानले गत हप्ता अर्मानियाले नखचिवनमाथि हमला गरिएको बताएको थियो । नखचिवन एक स्वायत्त गणतन्त्र हो जुन अजरबैजानकै हिस्सा हो । अर्मानियाको एउटा पातलो पट्टीका कारण नखचिवन अजरबैजानको मुख्य भूमिबाट अलग्गिएको इलाका हो ।

अर्मानियाले नखचिवनमाथि कुनै पनि प्रकारको हमलाबाट अस्विकार गरेको छ र अजरबैजानले आफूमाथि गलत आरोप लगाएर आफूलाई उक्साइरहेको दाबी गरेको छ ।

जानकारका अनुसार दुई देशबीच चलिरहेको युद्धमा अत्यधिक मात्रामा ड्रोनको प्रयोग गरिँदैछ ।

यसै कारण पनि अहिलेको लडाईंमा टर्कीको कुरा उठ्ने गर्छ । टर्कीबाट खरिद गरिएको ड्रोन हतियारका कारण नै अजरबैजानले यो युद्धलाई अघि बढाउन सकेको बताइन्छ । देशभित्र ड्रोन हमला र आम नागरिकको मृत्युका कारण टर्कीले आलोचनाको सामना पनि गर्नु परिरहेको छ ।

टर्कीका विदेशमन्त्री मेवलुत चोवुशुग्लू

नागोर्नो–काराबाखबारे केही तथ्यः

– नागोर्नो काराबाख ४,४०० वर्ग किलोमिटर अर्थात् १,७०० वर्ग मीलको पहाडी इलाकामा फैलिएको छ ।

– पारम्परिक रुपमा यहाँ इसाई अर्मानियाली र तुर्क मुसलमानको बसोबास छ ।

– सोभियत संघको विघटनअघि यो एउटा स्वायत्त क्षेत्र बनेको थियो जुन अजरबैजानको हिस्सा थियो ।

– अन्तरराष्ट्रिय स्तरमा यो इलाकालाई अजरबैजानको हिस्साको रपमा मान्यता दिइन्छ तर यहाँको अधिकांश जनसंख्या अर्मानियाली छन् ।

– अर्मानियासमेत संयुक्त राष्ट्रका कुनै सदस्य कुनै स्व–घोषित अधिकारीलाई मान्यता दिँदैन ।

– सन् १९८० को दशकको अन्त्यदेखि सन् १९९० को दशकसम्म चलेको युद्धमा ३० हजार भन्दा बढीको ज्यान गयो । त्यतिबेला अलगावादी शक्तिले केही इलाकामा कब्जा जमाए ।

– त्यतिबेला अलगावादी शक्तिले नागोर्नो–काराबाखका केही इलाकामा कब्जा जमाए । सन् १९९४ मा यहाँ युद्धविरामको घोषणा भएको थियो, त्यसपछि पनि यहाँ गतिरोध जारी छ र यो क्षेत्रमा धेरैजसो तनाव पैदा भइरहन्छ ।

– टर्की खुलेर अजरबैजानको समर्थन गर्छ ।

– यहाँ रुसको एउटा सैन्य इलाका छ ।

– यो इलाकाको विषयमा २७ सेप्टेम्बर २०२० मा एकपटक पुनः अजरबैजान र अर्मानियाबीच युद्ध सुरु भयो ।

– समाचार एजेन्सी एएफपीका अनुसार हालसम्म युद्धमा १२ सयको मृत्यु भइसकेको छ । यद्यपि, मृतकको संख्या योभन्दा पनि धेरै हुनसक्ने अनुमान गरिएको छ । बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप