आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

म्यान्मारमा आमनिर्वाचन जारी, सुकीको दलले नै जित्ने पूर्वानुमान

आइतबार, २३ कात्तिक २०७७, १४ : १९
आइतबार, २३ कात्तिक २०७७

याङ्गुन । म्यान्मारमा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ । विपक्षीहरुको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ । 

पाँच वर्षअघि भएको आमनिर्वाचनमा सुकीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेका थिए । संसदको माथिल्लो र तल्लो सदनका लागि ९० भन्दा बढी दलले चुनावमा भाग लिएका छन् । यसपटक राज्य र क्षेत्रीय तहको पनि निर्वाचन हुँदैछ । 

स्टेट काउन्सिलरका रुपमा सेवारत सुकी अहिले पनि म्यान्मारमा निकै लोकप्रिय नेतृका रुपमा रहेकी छिन् । तर उनको सरकारले पनि जनअपेक्षा अनुरुप काम गर्न सकेको छैन । म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न उनको सरकारले पर्याप्त काम गर्न नसकेको आरोप लाग्दै आएको छ । 

आमनिर्वाचनमा ५० लाख नयाँ मतदाता सहित ३ करोड ७० लाखभन्दा बढी मतदाता छन् । यसपटक कोरोनाभाइरस र सुरक्षा त्रास पनि रहेकाले मतदानमा सबै सहभागी हुने सम्भावना कम छ । चुनाव प्रचारका काममा पनि कोरोनाभाइरसले समस्या पारेको थियो । 

पचहत्तर वर्ष पुगिसकेकी सुकीले राजधानी नेपिटअमा गत महिनाको अन्त्यतिर मतदान गरिसकेकी छिन् । म्यान्मारमा ६० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई अग्रिम मतदान गर्ने व्यवस्था छ ।  देशको सबैभन्दा ठूलो राजधानी शहर याङ्गुनका मतदान स्थल बाहिर ठूलो संख्यामा मतदाताहरु लामबद्ध देखिएका छन् । 

सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले सन् २०१५ को आमनिर्वाचनमा भारी बहुमत प्राप्त गरेको थियो । यस चुनावले देशको पाँच दशकभन्दा लामो सैन्य शासनको अन्त्य गरेको थियो । 

म्यान्मारको निर्वाचन आयोगले निर्वाचनको नतिजा सोमबार बिहानदेखि सार्वजनिक गर्न थालिने जनाएको छ । देशका दुर्गम स्थानबाट मतपेटिका संकलनमा समय लाग्ने भएकाले चुनावको पूरै परिणाम सार्वजनिक गर्न एक सातासम्म लाग्ने आयोगले बताएको छ ।  यस चुनावलाई सुकी नेतृत्वको सरकारका लागि जनमतसंग्रहका रुपमा लिइएको छ । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप