शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठमा स्थानीय पाठ्यक्रम पढाइँदै

शुक्रबार, १९ मङ्सिर २०७७, १९ : १३
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीयस्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा व्यवसाय समेटिएर १०० पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरी पठनपाठन अघि बढाइएको नगर शिक्षा शाखा प्रमुख जगतनाथ उपाध्यायले बताए । 

“स्थानीयस्तरका मूल्यमान्यता, कलासंस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयारी गरी कार्यान्वयनमा ल्याइएको हो”, प्रमुख उपाध्यायले भने । गत वैशाखदेखि पढाइ शुरु गर्ने उद्देश्यले निर्माण गरिएको पाठ्यक्रम कोभिड–१९ र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायत काममा ढिलाइ भएको औँल्याइएको छ । अहिले नगरपालिकाले सञ्चालन गरेको विभिन्न माध्यममार्फत पठनपाठन अघि बढाइएको बताइएको छ ।

 नगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा अध्ययनअध्यापन शुरु गरेको बताइएको छ । पुस्तकको नाम कक्षा १ देखि ३ सम्म  ‘मेरो बूढानीलकण्ठ’ र ४ देखि ८ सम्म ‘हाम्रो बूढानीलकण्ठ’ रहेको छ । एक सय पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय समाज, इतिहास, भूगोल, मठमन्दिर, पेशाव्यवसाय, प्रचलित जात्रा, सामाजिक रुपान्तरणलगायत विषय समेटिएको छ ।   विद्यालयका शिक्षक, विज्ञ र जनप्रतिनिधिबीच सहमति भई  पाठ्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा १११ संस्थागत र १९ सामुदायिक विद्यालय छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप