मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ संवाद

‘डाबर नेपालले क्षमता विस्तारमा अर्बौं लगानी गर्दैछ’

डाबरले नेपालमा उत्कृष्ट अनुभव बटुलेको छ : एचएस वेदी, व्यापार प्रमुख, डाबर नेपाल
शुक्रबार, १४ वैशाख २०८१, १५ : ३५
शुक्रबार, १४ वैशाख २०८१

नेपालले यही वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ । विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्ने लक्ष्यसहित लगानी सम्मेलन आयोजना हुन लागेको हो ।

यसअघि आयोजित दुई वटा सम्मेलनबाट खासै प्रतिफल आउन नसकेपछि सोही अनुभवलाई समेट्दै तेस्रो लगानी सम्मेलन आयोजनाको अन्तिम चरणमा नेपाल छ । सम्मेलनमा सहभागिताका लागि विश्वका ५० भन्दा बढी मुलुकबाट सयौँ लगानीकर्ताले प्रतिबद्धता जनाइसकेका छन् भने नेपालले १५० वटा परियोजना प्रस्तुत गर्दैछ ।

लगानी सम्मेलन अघि नेपालमा विदेशी लगानीबाट सञ्चालित डाबर नेपालका व्यापार प्रमुख एचएस वेदीसँग रातोपाटीले लगानीको अवस्था, विद्यमान कानुनी प्रावधान लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः–

  • डाबरले नेपालमा लगानी गरेर उत्पादन सुरु गरेको तीन दशकभन्दा धेरै भइसक्यो । नेपालमा काम गर्दाको अनुभव कस्तो रह्यो ?

वैदेशिक लगानीमा स्थापित उत्पादनमुलक उद्योग डाबर नेपालले स्थापनाकालदेखि ३० वर्षको अवधिमा विभिन्न उतराचढावका बाबजुद पनि निरन्तर रुपमा उत्कृष्ट काम गर्दै आएको छ । हामीले यसबिचमा भारत लगायत विदेशमा उत्पादनहरूको निकासीलाई प्राथमिकतामा राखी आन्तरिक बजारलाई पनि केन्द्रित ग¥यौँ । यस उद्योगबाट उत्पादित बस्तुहरूको प्रमुख हिस्सा भारततर्फ निर्यात गर्दै आइरहेका छौँ ।

यो अवधिको अनुभवलाई उत्कृष्ट भन्न सकिन्छ । सुरुवाती दिनदेखि हालसम्म हामीले विभिन्न चुनौती र अवसर सामना गरेको अनुभव भएको छ । विश्वका जुनसुकै देशमा पनि विभिन्न परिस्थितिमा विभिन्न चुनौती र अवसर सिर्जना हुने हुँदा हामीले नेपालमा उद्योग सञ्चालन गर्दा पनि दुवै परिस्थिति सामना गरेका छौँ । यद्यपि हामीले समय सापेक्षरुपमा आएका समस्या र चुनौतीलाई उद्योगको कुशल व्यवस्थापनले समाधान गर्दै अघि बढ्यौँ ।

चुनौतीका रुपमा रहेको ‘लोडसेडिङ’ यतिबेला अन्त्य भइसकेको छ । सडक सञ्जाल विगतको तुलनामा सुधार भइरहेका छन् । यससँगै हामीले उद्योगको क्षमता विस्तारका लागि लगानी बढाउँदै लगेका छौँ । लगानीको वातावरण र अनुभव राम्रो नभए थप लगानी नै गर्दैनथ्यौँ ।

  • यो लामो अनुभवका क्रममा नेपालमा धेरै चुनौती देख्नुभयो होला । तपाईंहरूले देखेका मुख्य चुनौती कस्ता छन् र थिए ?

यो तीन दशकको अवधिमा हामीले मूख्यरुपमा ‘लोडसेडिङ’को चुनौती समाना गर्नुप¥यो । यो अहिले धेरै हदसम्म कम भएको छ । दोस्रो चुनौतीका रुपमा ‘ट्रेड युनियन’ र तिनीहरूले गर्ने बन्द हड्तालको समस्या खेप्नुप¥यो । सन् २००६÷२००७ मा ट्रेड युनियनको समस्या धेरै उद्योगले बेहोर्नु परेको थियो । हालको दिनमा यो समस्या पनि धेरै हदसम्म न्यून भइसकेको छ ।

ट्रेड युनियन र उद्योगको व्यवस्थापनले एकअर्काको महत्त्व राम्रोसँग बुझिसकेका छन् । तेस्रो चुनौतीका रुपमा सडक सञ्जाल थियो । ‘कस्ट अफ डुइङ बिजनेश’ घटाउने मुख्य माध्यम यातायात सञ्जाल नै हो । यसमा सडक सञ्जाल, बन्दरगाह, ढुवानी लागत र भन्सार लागत महत्त्वपूर्ण विषय हुन् । लगानी सुरु गर्दाको समयको तुलनामा यी पक्षमा समेत धेरै सुधार आइसकेको छ ।

bedi (2)

चौथो चुनौतीका रुपमा नीतिगत अस्थिरतालाई लिन सकिन्छ । उद्योग व्यवसाय सञ्चालन गर्नका लागि स्थिर नीति चाहिन्छ । यो ३० वर्षको अवधिमा धेरै सरकार फेरिए । सोहीअनुसार नीति र नीति निर्माता फेरिए । लगानीकर्ताले नीतिगत अस्थिरता देखेमा लगानी गर्न डराउँछ । आफ्नो लगानी सुरक्षित नहुने अवस्था देखेमा लगानीकर्ताले लगानी बढाउन चाँहदैनन् ।

र पाँचौँ चुनौतीका रुपमा ‘इन्टेलेक्चुअल प्रोपर्टी’मा आइरहने झन्झट छ । डाबर नेपालले यो समस्या धेरै भोग्नुपरेको छैन । तर धेरै विदेशी कम्पनीले नेपालमा आफ्नो लगानी बढाउनै नपाउने गरी ‘ट्रेडमार्क’ दर्ता हुन्छ । यसले लगानीकर्ताको मनोबल घटाउँछ । यिनै ४÷५ चुनौती हुन्, जुन पछिल्लो समय सुधार भइरहेका छन् ।

  • सुरुसुरुमा १८ घण्टासम्म ‘लोडसेडिङ’ थियो । अहिले यो समस्या धेरै हदसम्म कम भइसकेको छ । पछिल्लो समय डाबर नेपाललेचाहिँ ‘लोडसेडिङ’ कत्तिको खेप्नुपरेको छ ?

नेपालमा  बिजुलीको समस्या अझै समाधान भइसकेको छैन । नेपालमा सुक्खायाम ‘डिसेम्बर’देखि ‘मे’सम्म लोडसेडिङको समस्या छ । सुक्खायामलाई चाहिने ‘रिजर्भवायर’ र ‘स्टोरेज’ परियोजना छैनन् । यसकारण ‘लोडसेडिङ’को समस्या तत्कालै अन्त्य हुने देखिँदैन ।

  • तपाईंले भन्नुभएजस्तो एक समयमा नेपालमा ‘ट्रेड युनियन’ समस्या सिर्जना गर्नमा माहिर थिए । यतिबेला यो प्रकारको समस्या कत्तिको झेल्नुपरेको छ ?

सुरुसुरुमा ट्रेड युनियनहरूले उद्योगमा बन्द हड्ताल र उत्पादन अवरुद्ध गर्ने, श्रम गर्न आउनेहरूलाई रोक्ने लगायतका काम धेरै नै भए । तर पछिल्लो समय उद्योगको व्यवस्थापन र ट्रेड युनियनहरूले एकअर्काको महत्त्व बुझेका छन् । उद्योगले युनियनविना अघि बढ्न नसकिने बुझे भने युनियनहरूले उद्योगविना रोजगारी र देशको आर्थिक विकास असम्भव रहेको बुझेपछि यो समस्या धेरै हदसम्म रोकिएको छ । र, युनियन र युनियनका नेताहरू धेरै जिम्मेवार बनिसकेका छन् ।

  • नेपालमा विदेशी लगानीकर्ताका लागि राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता र कर्मचारीतन्त्र मुख्य समस्याका रुपमा लिइन्छ । कतिपय अवस्थामा लगानीकर्ताकै मुखबाट समेत यो सुनिन्छ नि ?

राजनीतिक नेतृत्वमा परिवर्तन आउनासाथ कर्मचारीतन्त्रमा हुने फेरबदल साथै फरक कर्मचारीको फरक काम गर्ने शैलीले निर्णय प्रक्रिया लम्बिने गर्छ । कतिपय अवस्थामा नीतिगत स्थिरता पनि छ । तर केही क्षेत्रमा अस्थिरता छ । सरकारमा आउने परिवर्तनसँगै कर्मचारीमा हुने फेरबदलले फेरि सबै विषय सुरुदेखि नै थाल्नुपर्ने हुन्छ । यसबाट सबै काम शून्यमा झर्छ । सबै सरकार र सबै राजनीतिक दलको एउटै नीति नहुने भएकाले पनि राजनीतिक अस्थिरताले उद्योग व्यवसाय सञ्चालनमा समस्या पार्छ नै । सरकार र कर्मचारी परिवर्तन हुँदा पनि राज्यको कार्य प्रक्रिया र उद्योगलाई उपलब्ध गराउने सेवा सुविधा एकै प्रकृति भए उद्योग सञ्चालन सहज हुने थियो ।

  • डाबर नेपाल विदेशी लगानीबाट सञ्चालित उद्योगमध्ये सबैभन्दा धेरै निर्यात गर्ने उद्योगको शीर्ष सूचीमा छ । यसबाट नेपालमा लगानीको सम्भावना उच्च छ भन्ने देखाउँछ, हैन ?

नेपालमा यतिबेला ठुलो मात्रामा युवा जनसङ्ख्या छ । र यो बढ्दो अवस्थामा छ । उनीहरू शिक्षित बन्दैछन् र उपभोक्ता अधिकारको चेतना बढ्दै छ । यसबाट नेपालमा सञ्चालित उद्योगहरूले आफ्नो उत्पादनको गुणस्तरमा अत्यधिक ध्यान दिनुपर्ने हुन्छ । यसबाहेक नेपालमा अर्थतन्त्रको ‘इकोसिस्टम’ तयार हुँदै छ । ‘डिजिटल वालेट’देखि ‘इकमर्स’ समेतको पूर्वाधार तय भइरहेको छ । यसैकारण पनि नेपाल लगानीका लागि उत्तम स्थान हो ।

चुनौती त विश्वका सबै देशमा हुन्छन् नै । हामीले नेपालमा उत्पादित गुणस्तरीय वस्तुको निर्यात सहज रुपमा गरिरहेका छौँ ।

  • लगानीका लागि नीतिगत स्थिरतासँगै स्थानीय वासिन्दाले पनि समस्या सिर्जना गरिदिन्छन् । अरुण तेस्रोमा हामीले यो समस्या देखेका छौँ । यस प्रकारको समस्या डाबर नेपालले भोग्नुपरेको छ ?

स्थानीय वासिन्दा हाम्रो मुख्य साझेदार भएकाले उनीहरूसँगको साझेदारीविना उद्योग सफल रुपमा सञ्चालन गर्न गाह्रो छ । हामीले उद्योग सञ्चालनमा रहेको क्षेत्रका वासिन्दालाई महत्त्वका साथ हेर्छौं । डाबर नेपालले वीरगन्जमा उद्योग सञ्चालन गरेको छ भने बनेपामा ‘ग्रीन हाउस’ सञ्चालन गर्दै आएको छ । उद्योगलाई चाहिने श्रमिक स्थानीयस्तरबाटै पूर्ति गर्छौं भने रोजगारीको प्राथमिकतामा स्थानीयलाई नै राख्छौँ । संस्थागत सामाजिक उत्तरदायित्व अर्थात् ‘कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी’ (सीएसआर)को ठुलो हिस्सासमेत उद्योग सञ्चालित क्षेत्रमै खर्च गर्छौं ।   

  • डाबर नेपालले आउँदो लगानी सम्मेलनमा लगानी विस्तारको सम्झौता गर्दैछ । विदेशी लगानीबाट सञ्चालित उद्योगले निरन्तर क्षमता विस्तार गर्नुको कारण प्रतिफल नै हो । यो लगानी विस्तार बारे थप ‘क्लियर’ पार्दिनु न ?

डाबर नेपालले सुरुदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारलाई प्राथमिकतामा राख्दै आएको छ । आन्तरिक बजारलाई ध्यानमा राख्दैगर्दा भारतीय बजारसमेत हाम्रो प्राथमिकता हो । भारत यतिबेला विश्वको उदयीमान अर्थतन्त्र हो । भारतीय बजारमा बढ्दो डाबर नेपालको उत्पादनको मागलाई पूर्ति गर्ने लक्ष्यसहित उत्पादन क्षमता बढाउनु परेको छ । लगानी विस्तारका क्रममा हामी मेसिनको उत्पादन क्षमता वृद्धि तथा उत्पादकत्व अभिवृद्धिमार्फत लागत न्यूनीकरण गरी उपभोक्ता समक्ष न्यूनतम मूल्यमा उत्पादित वस्तु पु¥याउने कोसिस गर्छौं । समग्रमा उत्पादन क्षमता वृद्धि गर्न आवश्यक पर्ने मेसिनरी खरिदमा लगानी गर्नेछौँ ।

bedi (1)

भारत तथा अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित च्यावनप्रस, रियल जुस, हजमोला लगायतका बस्तुहरूको बजार बढ्दो छ । यी वस्तुको बढ्दो मागलाई पूरा गर्न उत्पादन क्षमता बढाउनै पर्छ । यसबाहेक नेपालमा उत्पादन भइरहेका वस्तुको उत्पादन बढाउनका साथै नयाँ उत्पादनसमेत ल्याउनुपर्छ । ‘डाइजेस्टिभ बिजनेस’, ‘ओरल केयर’, ‘होमकेयर’, ‘स्किन केयर’ र ‘जुस’ लगायतको उत्पादन वृद्धिसँगै नयाँ वस्तुको उत्पादन थाल्ने योजना डाबरले बनाएको छ । यही कारण हामी ९ अर्ब ६८ करोड लगानी थप्दैछौँ ।

डाबर नेपालले भारतीय बजारमा ठुलो मात्रामा वस्तु निर्यात गर्दै आएको छ । विदेशतर्फ जुस निर्यात गर्ने उद्योगको सूचीमा डाबर नेपाल अग्रस्थानमा आउँछ । भारतीय बजारमा जुसको निर्यात हिस्सा कस्तो छ ?

नेपालमा उत्पादित विभिन्न प्रकारका रियल जुस भारतीय बजारमा सबैभन्दा लोकप्रिय छन । भारतको रियल जुस बजारमा ६० प्रतिशत बजार हिस्सा नेपालमा उत्पादित रियल जुसले ओगटेको छ । यसबाहेक अन्य धेरै प्रकारका उत्पादन समेत भारतमा निर्यात गर्दै आएका छौँ ।

  • नेपालका अन्य उद्योगले भारतको १ अर्ब ४० करोडभन्दा बढी जनसङ्ख्याको लाभ कसरी लिन सक्छन् होला ?

नेपाल भारत र चीनको बिचमा छ । तर चीनको बजारलाई नेपालले सहजै सदुपयोग गर्न सक्दैन । किनकि, भौगोलिक अवस्था अप्ठ्यारो छ । तर भारतको बजारलाई नेपालले सदुपयोग गर्न सक्छ । भारतसँगको फराकिलो खुला सिमानालाई सदुपयोग गर्दै विश्वकै सबैभन्दा ठुलो जनसङ्ख्या भएको देशबाट नेपालले पर्याप्त आर्थिक लाभ लिन सक्छ । नेपाल र भारतबिच व्यापार सम्झौता पनि छ । यसलाई पनि सदुपयोग गर्नुपर्छ ।

  • नेपालले यही वैशाखमा लगानी सम्मेलन गर्दैछ । यसमा विश्वभरका लगानीकर्ता सहभागिता जनाउँदैछन् । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई के भन्न चाहनुहुन्छ ?

मैले नेपालमा अत्यधिक सम्भावना देखेको छु । नेपालमा सबैभन्दा धेरै सम्भावना जलविद्युत् उत्पादनमा देखिएको छ । नेपालमा अत्यधिक विद्युत् उत्पादनको सम्भावना छ र नेपालमा उत्पादित बिजुलीको मुख्य बजार भारत तथा बंगलादेश छन् । यसपछि नेपालमा पर्यटन क्षेत्रले धेरै सम्भावना बोकेको छ । यो क्षेत्रमा नेपालका उद्योगी व्यवसायीले राम्रो पूर्वाधार समेत बनाइसकेका छन् । यसबाहेक सूचना प्रविधि क्षेत्रले समेत आफ्नो क्षमता देखाइसकेको छ । यी तीन क्षेत्रमा राम्रो सम्भावना देखिएको छ ।

यसपछि डाबर नेपाल केन्द्रित बनेको ‘फास्ट मुभिङ कन्ज्यूमर गुड्स’को क्षेत्रमा पनि प्रतिफलको उच्च सम्भावना छ । समग्रमा भन्दा नेपालमा लगानीको उच्च सम्भावना छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राम्रो सहयोग गर्ने गर्छ भने लगानी बोर्ड हरपल सहयोगका लागि तयार रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप