शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकै लामो मुक्तिनाथ केबुलकार निर्माण गर्न यसरी जुटाइँदैछ लगानी

बिहीबार, ०९ पुस २०७७, ०९ : २६
बिहीबार, ०९ पुस २०७७

विश्वकै लामो मुक्तिनाथ केबुलकारको निर्माण आगामी वर्षदेखि हुने भएको छ । विस्तृत परियोजना  प्रतिवेदन (डीपीआर) लगानी बोर्डले स्वीकृत गरे अबको एक वर्षपछि निर्माण प्रक्रिया सुरु हुनेछ ।

मुक्तिनाथ केबुल कार १३ महिनापछि निर्माण सुरु हुने र अबको  ५५ महिनामा सञ्चालनमा आउने मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले बताए । यता लगानी बोर्डले डीपीआर अध्ययन भइरहेको बताएको छ । बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले डीपीआरमा उल्लेख भएका विषय प्रस्तावित भएकाले केही तलमाथि पनि हुन सक्ने बताएका छन् । उनले भने, “हामीले डीपीआर अध्ययन मूल्याङ्कन गरिरहेका छौँ । अध्ययन सकिएपछि बोर्डमा जान्छ र स्वीकृत गर्ने नगर्ने बोर्डले निर्णय गर्नेछ । केबुलकार डेभलपर मुक्तिनाथ दर्शन प्रालिले ५३ अर्ब लागत लाग्ने अनुमान गरेको छ । तर बोर्डले यो लगानी केही तलमाथि हुनसक्ने बताएको छ । लगानी बोर्डमा प्रधानमन्त्री अध्यक्ष रहेको बोर्ड छ । बोर्डको निर्देशनपछि मात्रै केबुलकार निर्माणको काम अघि बढ्नेछ  ।

२०७५ भाद्र २७ मा मुक्तिनाथ दर्शन प्रालि र लगानी बोर्डबीच केबुलकार निर्माण गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । सहमतिमा मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदी र लगानी बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका थिए । कम्पनीले समझदारी भएको मितिदेखि १८ महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्ड समक्ष पेस गर्नुपर्ने उल्लेख गरिएको थियो । रोपवेको अध्ययन गर्ने  जिम्मा इटालियन कम्पनी रोप्स जीएमबीएसले पाएको थियो । सर्बेको जिम्मा अस्ट्रेलियन कम्पनी एएएमले पाएको थियो ।

कम्पनीले लाइडर सर्बेका लागि जहाज काठमाडौँ झिकाएको थियो । यो एएम ग्रुपको जहाज हो । लाइडर सर्बे संसारमै उत्कृष्ट सर्बे मानिन्छ । कम्पनीले झन्डै ७ करोड खर्च गरेर पहिलो पटक नेपालमा यो खालको प्रविधिबाट सर्बे गरेको जनाएको छ ।

कम्पनीले मुक्तिनाथसम्म ८०.१६ किलोमिटर लामो केबुलकार निर्माण गर्नेछ । बोर्डका अनुसार वीरेठाँटी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेतेमार्फा ट्रान्जिटदेखि जोमसोम, जोमसोमदेखि कागवेनी र कागवेनीदेखि मुक्तिनाथ खण्डमा विभाजित हुनेछ ।

केबुलकारमा १९ वटा स्टेसन रहनेन् वीरेठाँटीबाट मुक्तिनाथको बीचमा थप ६ वटा स्टेसन रहने छन् । ती स्टेसनमा यात्रु झरेर त्यहीँ बासबसी अर्को दिन यात्रा सुरु गर्न सक्नेछन् । कम्पनीले हरेक स्टेसनमा होटेल, लज तथा रेस्टुरेन्ट बनाउने योजना लिएको छ ।

५३ अर्ब लागत लाग्ने अनुमान

डीपीआरले केबुलकार पूर्वाधार बनाउन ५३ अर्ब रुपैयाँ लाग्ने देखाएको छ । यद्यपि यो १ डलर बराबर १ सय १८ रुपैयाँको आधारमा यो रकम लाग्ने देखाइएको हो । डलर तलमाथि भए लागतमा केही तलमाथि हुनेछ । यसअघिको सम्भाव्यता अध्ययनअनुसार केबुलकार संरचना बनाउन ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । डीपीआरमा लामो र ठूलो केबुलकार भएकाले १३ मेगावाट बिजुली खपत हुने उल्लेख छ । केबुलकार सञ्चालनका लागि १३ मेगावाट विद्युत् खपत हुने  डीपीआरमा  भनिएको छ । मुक्तिनाथ केबुलकार १ हजारदेखि ३ हजार ७ सय मिटरको उचाइसम्म पुग्नेछ ।

यसरी जुटाइँदैछ लगानी

डीपीआर स्वीकृत भएपछि आयोजना विकास सम्झौता (पीडीए) हुनेछ । त्यसपछि वित्तीय व्यवस्थापनका लागि मुक्तिनाथ दर्शन प्रालिले वित्तीय औजारहरू प्रयोग गर्नेछ । विकासकर्ताका अध्यक्ष सुवेदीका अनुसार अबको १३ महिनापछि निर्माण कार्य सुरु भएर ४३ महिनामा सञ्चालन गर्ने योजना छ । यस हिसाबले आजको मितिबाट झण्डै ५६ महिनापछि केबुलकारमा यात्रा गर्न सकिनेछ ।  पीडीएपछि  वित्तीय व्यवस्थापनदेखि ठेक्का लगाउने प्रक्रियासमेत सुरु हुनेछ ।

वित्तीय उपकरण व्यवस्थापनअन्तर्गत वैदेशिक कर्जा र  आन्तरिक कर्जा प्रयोग हुनेछ । ८० प्रतिशत कर्जा र २० प्रतिशत इक्विटीमार्फत लगानी जुटाइने सुवेदीले बताए । २० प्रतिशत इक्विटीअन्तर्गत नै  प्रमोटर र आईपीओ रहनेछ । डलरको भाउ ११८ रुपैयाँको आधारमा ५३ अर्ब लगानी लाग्ने अनुमान विकासकर्ताको छ । लगानीका लागि नेपाली तथा विदेशी बैङ्कहरूसँग पनि कुरा भइरहेको कम्पनीले जनाएको छ । केबुलकारको पूर्वाधार बनाउन कम्पनीले ‘क्राउड फन्डिङ’ मोडालिटीबाट लगानी जुटाउने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप