मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ओलीले गुटगत भेला गरेपछि समानान्तर कमिटी गठन गर्न बाध्य भयौँ : अष्टलक्ष्मी शाक्य

बुधबार, ०४ चैत २०७७, १० : ३९
बुधबार, ०४ चैत २०७७

हेटौँडा । बागमती प्रदेशसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी एमालेको नेपाल–खनाल पक्षकी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले गुटको भेला गरेपछि त्यसको विकल्पको रुपमा आफुहरुले समानान्तर कमिटी गठन गर्न बाध्य भएको बताएकी छन् ।

रातोपाटीसँग कुराकानी गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओलीले बारम्बार विधि र विधानलाई मिच्ने काम गरेको र सच्याउनका लागि खबरदारी गर्दा उल्टै आफुहरुलाई कारवाही गरेपछि समानान्तर कमिटी बनाउन बाध्य भएको बताइन् ।

उनले भनिन्, ‘अब नेकपा एमाले एक हुने कुनै आधार छैन । ओली सच्चिएर आएमात्रै पार्टी एक हुन सक्छ, अन्यथा हामी छुट्टै अगाडि बढ्छौँ ।’ ओली पक्षको हेपाहा प्रवृत्तिमा दबिएर बस्नुपर्ने बाध्यता रहेकोले ओली पक्षसँग मिल्ने कुनै आधार नभएको उनको भनाइ छ । ‘ओलीसँग मिल्ने कुनै आधार छैन । विधान मिच्ने ओली, अनि मिल्न जाने हामी ?, यो आधारहीन तथ्य हो,’ उनले भनिन् ।

‘बागमती प्रदेश सरकारको विकल्प खोज्दैछौँ’

नेतृ शाक्यले आफुहरुले बागमती प्रदेश सरकारको विकल्प खोजिरहेको बताएकी छन् । जनताको चाहनाअनुरुप काम गर्न नसकेको बागमती प्रदेश सरकारको विकल्प आवश्यक रहेको भन्दै उनले वर्तमान सरकार टिकाइराख्न आफूहरुको कुनै सहयोग नहुने प्रस्ट पारिन् ।

‘प्रधानमन्त्री ओली निकटका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले राजनीतिक संस्थारलाई लत्याएर हेपाहा प्रवृत्ति देखाइरहेको छ, अहंकारले भरिएको यो सरकारले जनचाहना अनुरुप काम गर्न सकेको छैन, यसको विकल्प चाँडै खोज्नेछौँ,’ उनले भनिन् ।

आफुहरु तत्कालीन नेकपामा रहँदासमेत प्रभावकारी रुपमा काम गर्न नसकेको वर्तमान सरकारले जनताको पक्षमा कदापी काम नगर्ने उनको दावी छ ।

उनले भनिन्, ‘हामी एकै ठाउँमा हुँदा पनि सरकारको काम प्रभावकारी थिएन, आज पनि छैन र भोलि पनि हुने सम्भावना देखिँदैन । त्यसैले वर्तमान सरकारको विकल्प खोज्न आवश्यक छ ।’

प्रदेश सरकारको भविष्य केन्द्रीय राजनीतिले निर्धारण गर्ने भन्दै उनले आफुहरु केन्द्रीय नेतृत्वको निर्देशनको पर्खाइमा रहेको बताइन् ।

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता नहुने भन्दै उनले वर्तमान सरकारको विकल्प आफूहरुले खोज्ने प्रस्ट पारिन् ।

बागमती प्रदेशसभामा नेकपा एमालेको ५७, नेकपा माओवादी केन्द्रको २३, नेपाली काँग्रेसको २२, विवेकशील साझाको ३, राप्रपाको २, नेपाल मजदुर किसान पार्टीको २ र स्वतन्त्र एक जना गरी जम्मा ११० जना सांसद छन् ।

प्रदेश सांसद गठनका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ । एमालेका ५७ जना सांसदमध्ये नेपाल–खनाल पक्षमा २३ जना सांसद देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप