केन्द्रीय संस्करण
कोरोनाभाइरस

‘डबल म्युटेन्ट भेरिएन्ट नेपालका लागि गम्भीर चिन्ताको विषय हो’ (भिडियो)

नयाँ भेरिएन्टले सङ्क्रमण सार्न सक्ने क्षमता शक्ति बढी देखिएको छ : डा. वासुदेव पाण्डे

person explore access_timeबैशाख ३, २०७८ chat_bubble_outline0

भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर आएसँगै सङ्क्रमितमा नयाँ नयाँ भेरिएन्ट देखापरिरहेका छन् । नेपालमा पनि सङ्क्रमणको दोस्रो लहरको सङ्केत देखापरिरहेको छ । भारतमा यूके, ब्राजिलियन, अफ्रिकन, डबल म्युटेन्ट भेरिएन्ट देखिएको पुष्टि भइसकेको छ । तर नेपालमा १२ जनाको कोरोना परीक्षण गर्दा १ जनामा सङ्क्रमण पुष्टि हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमितमध्ये     नयाँ भेरिएन्ट हो वा होइन भनेर सरकारले पूर्णरूपमा भन्न सकेको छैन । त्यसैले भारतमा देखिएको यूके, ब्राजिलियन, अफ्रिकन, डबल म्युटेन्ट भेरिएन्ट भनेको के हो ? के नेपालमा भाइरसका नयाँ नयाँ भेरिएन्ट फैलिएको छ भनेर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक तथा भरतपुर अस्पतालका प्रमुख भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेसँग गरेको कुराकानी

कोरोना भाइरसको स्वरूप परिवर्तन भनेको के हो ?

कोरोना भाइरसको जिनलाई लम्बाइमा नाप्छौँ । भाइरसको २९ किलो बेस भन्ने हुन्छ । त्यसभित्र विभिन्न प्रोटिन हुन्छन् । त्यसमध्ये पनि महत्त्वपूर्ण प्रोटिन भनेको स्पाईक प्रोटिन हो । समय बढ्दै गएपछि भाइरसको स्वरूप परिवर्तन हुन्छ । सुरुमा कोरोना सङ्क्रमितमा देखिएको भाइरसलाई वाइल्ड टाइप भाइरस भनिन्छ । त्यसपछि पोजिसनमा परिवर्तन भएर यूके भेरिएन्ट देखियो । त्यसलाई हाम्रो भाषामा म्युटेसन भन्छौँ, जिनको कुनै भागमा परिवर्तन हुन्छ र त्यसपछि कोरोना भाइरसको स्वरूप ब्राजिलियन, अफ्रिकन फरक फरक स्वरूप देखियो । भारतमा ‘डबल म्युटेन्ट’ भेरिएन्ट धेरैमा देखिएको छ । भाइरस समयअनुसार परिवर्तन हुँदै जान्छ । जब भाइरसको स्वरूप परिवर्तन हुँदै एकतिर रोग सर्ने क्षमता र अर्को रोगीलाई गम्भीर बनाएर मृत्यु मुखसम्म पुर्‍याउन सक्छ । कोरोना भाइरस म्युटेसन भयो भने छिटो सर्छ । जस्तै यूके भेरिएन्ट ओरिजिनल भाइरसभन्दा ७० प्रतिशत तीव्र गतिमा सङ्क्रमण हुने भयो । यूके भेरिएन्ट छिटो सङ्क्रमण भए पनि बिरामीलाई गम्भीर कम गराउने अध्ययनहरूले देखाएको छ ।

‘डबल म्युटेन्ट’ भेरिएन्ट भनेको चाहिँ के हो ? कोरोनाको ‘डबल म्युटेसन’ भेरिएन्ट कतिको सङ्क्रामक छ ?

भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर आएपछि स्वाब परीक्षणमा कोरोना भाइरस कोभिड–१९ को ‘डबल म्युटेन्ट’ भेरिएन्ट धेरै सङ्क्रमितमा देखिएको छ । भाइरसको वास्तविक स्वरूप परिवर्तन भई दुई प्रकारको स्वरूप देखिनुलाई ‘डबल म्युटेन्ट’ भनिन्छ । अन्य रोगका भाइरसझैँ कोरोना भाइरस पनि एक व्यक्तिबाट अर्कोमा सर्दा केही परिवर्तन हुनुलाई ‘म्युटेसन’ भनिन्छ । केही म्युटेसन हुँदा शरीरमा भाइरस प्रवेश गराउन सहयोग गर्ने सक्ने प्रोटिन बढाउने हुँदा म्युटेन्ट भएको भाइरस बढी सङ्क्रामक हुन्छ । कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ भेरिएन्टले मानिसको प्रतिरोधी क्षमतालाई छल्दै शरीरमा सङ्क्रमण बढाउँछ । महामारी सुरु हुनुभन्दा अगाडि कोरोनाको एउटा मात्र प्रकार थियो । हाल भारत डबल देखिएको डबल म्युटेन्ट भेरिएन्ट नेपालमा पनि पुष्टि भइसकेको छ । नेपालका लागि गम्भीर चिन्ताको विषय बनेको छ । डबल म्युटेन्ट भेरिएन्टले बढी ज्येष्ठ नागरिक, बालबालिका प्रभावित भएर सङ्क्रमित मृत्यु दर बढाउन सक्छ । भारतमा एकै दिनमा १ लाख ५० हजार नागरिक सङ्क्रमित भइरहेका छन् ।

यूके, अफ्रिकन ब्राजिलियन भेरिएन्टबीच के फरक छ ? यी भेरिएन्ट सङ्क्रमण भएमा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ ?

जस्तै कुनै सडकको लम्बाइ, चौडाइ नापेझैँ भाइरसको जिनलाई लामो पारेर हे¥यौँ भने २९, ३० किलो बेसमा नापिन्छ । त्योभित्र विभिन्न तन्तु अर्थात् प्रोटिन हुन्छ । तिनीहरुको विभिन्न काम हुन्छ । यूके भेरिएन्ट सङ्क्रमण हुँदा यसको असर, बाज्रिलियन भेरिएन्ट र भारतमै देखिएका भेरिएन्ट हो । अहिले नयाँ नाम भीओई अर्थात भेरिएन्ट अफ इन्भेस्टिगेसन हो । भीओईबाट हेर्दा रोग सार्नेे क्षमता वाइल्ड टाइप भाइरस अर्थात् सुरु भाइरसभन्दा तीव्र गति भएको अध्ययनहरुले देखाएका छन् । सुरुमा वाइल्ड टाइप भाइरस म्युटेन्ट भइसकेपछि यूके भेरिएन्टको नाम दिइयो । यस्तै विभिन्न ठाउँ र विभिन्न पोइन्टमा म्युटेसन गर्छ । कसैले साधारण न्युक्लियर टाइप वा सामान्य कुरा परिवर्तन गर्छ । कसैले एउटा एमोनाइसी अल्लि बृहत् रूपमा परिवर्तन गर्छ । जस्तै इन्फ्लुन्जाको कुरा गर्दा फाइब एन एच वान छ । त्यसमा चरा, मान्छे र अन्य जनावरको मिश्रण गरेर बन्नेलाई एन्टिजिन सिफ्ट भन्छौँ । यसले पनि साधारण न्युक्लियर परिवर्तन भएर धेरै असर नगर्न सक्छ । कसैले अल्लि बढी मलिक्युल तह गएर परिवर्तन गराउन सक्ने हुन्छ । जिनको कति भाग पूरै फ्रेम हो वा अल्लि कम एन्टिजिन सिफ्ट भएको हो । कोरोना भाइरसमा पनि साधारण परिवर्तन भएर असर गर्दैन भनिएको छ । तर बृहत् रूपमा परिवर्तन गराउन सक्छ । अहिलेसम्म देखिएको भेरिएन्ट अफ इन्भेस्टिगेसन छ । अहिलेसम्म देखिएको नयाँ भेरिएन्टले सङ्क्रमण सार्न सक्ने क्षमता शक्ति बढी देखिएको छ । तर यी भेरिएन्ट सङ्क्रमण हुँदा बिरामीलाई कति गम्भीर बनाउँछ भन्ने कुरा अध्ययन भइरहेको छ । धेरै मान्छेलाई सङ्क्रमण हुन्छ, रोगसँग लड्ने क्षमता कम भएका, ज्येष्ठ नागरिक, बालबालिकालाई पनि सङ्क्रमण भएको छ । अघिल्लो महामारीमा पनि ६० वर्षभन्दा माथिका नागरिकको मृत्यु भएको थियो । नयाँ भेरिएन्ट सङ्क्रमण छिटो सर्ने भएकाले ज्येष्ठ नागरिक र रोगी चाँडै प्रभावित हुन्छन् । त्यसैले सजगता अपनाउनुको विकल्प छैन । यूके, अफ्रिकन  र ब्राजिलियन भेरिएन्ट सङ्क्रमण छिटो हुन्छ ।  यसको प्रभाव आवश्य पनि नकारात्मक पर्छ । नयाँ भेरिएन्टहरुमा सङ्क्रमण क्षमता शक्ति बढी छ । त्यसैले ज्येष्ठ नागरिक, रोगीसम्म नयाँ भेरिएन्टको सङ्क्रमण पुगेको खण्डमा नेपालमा अस्पताल भर्ना हुने र मृत्यु हुने दर बढ्छ । ओरिजिनल भाइरसले बालबालिका प्रभावित थिएनन् । यी नयाँ भेरिएन्टबाट बालबालिका पनि सङ्क्रमित भइरहेका छन् । त्यसैले सावधानी अपनाउनुको विकल्प छैन ।  

ब्राजिलियन भेरिएन्ट सङ्क्रमण छिटो हुन्छ । यो भेरिएन्ट देखापरेमा बिरामी गम्भीर भएको अध्ययनहरुले देखाएको छ । अफ्रिकन भेरिएन्ट पनि पुरानो भाइरसभन्दा धेरै कडा र फैलावट क्षमता बढी छ । त्यसैले सावधानी नअपनाउँदा बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगीलाई गाह्रो बनाउन सक्छ । त्यसैले सावधानी अपनाउनुको विकल्प छैन ।

नेपालका सङ्क्रमतिमा यूके भेरिएन्ट देखिएको प्रमाणित भइसकेको छ । के भित्रभित्रै अफ्रिकन र ब्राजिलियन भेरिएन्ट पनि फैलिएको त छैन ?

सायद नेपालमा पनि नेपाल भेरिएन्ट छ कि के थाहा । २०१९ को डिसेम्बरमा पहिलो पटक कोरोना भाइरस पत्ता लागेको हो । नेपालमा अहिले ८० भन्दा बढी पीसीआर ल्याबहरु छन् । आरटीपीसीआर प्रविधिमा विभिन्न तत्त्वहरु राखिन्छ । ती तत्त्वमध्ये सबैभन्दा महत्त्वपूर्ण तत्त्व भनेको प्राइमर हो । प्राइमर भनेको  पीसीआरको साइकल अफ थ्रेसहोल्ड हो । कसैको २५ आयो भने सङ्क्रमित गम्भीर हुन्छ भन्ने बुझ्नुपर्छ । थोरै साइकलले धेरै भाइरस शरीरमा छ भन्ने कुरा प्रमाणित हुन्छ । पीसीआरको प्राइमरमा पहिलाको कोरोना भाइरसलाई हेर्न सक्ने प्राइमरको विकास भएर नेपालमा प्रयोग गरेको हो । प्राइमर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत देशभरका प्रयोगशालामा पु¥याएर परीक्षण गर्ने हो । नेपालमा अहिले स्पाइप्रोटिनसम्म हेर्न एमपीएलसँग क्षमता छ । तर कोरोना भाइरसका हरेक नयाँ नयाँ भेरिएन्ट देखिरहँदा नेपालमा कस्तो खालको भाइरस छ भनेर हेर्नका लागि ईएनएसी सिक्वेन्सिङ गर्नुपर्छ । सिक्वेन्सिङका मेसिन नेपालमा धेरै छन् । नास्ट, धुलीखेल अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सिक्वेन्सिङ मेसिन छ । त्यसैले भाइरसको पूरै सिक्वेन्सिङ गरेर हेर्नुपर्छ । कहाँनिर भाइरस परिवर्तन भएको छ त भनेर हेर्नुपर्छ । २०१६ मा विश्वभर वर्डफ्लु थियो । त्यो समयमा म जापानमा थिएँ ।  त्यहाँ मलाई नेपालमा कति जनामा वर्डफ्लु छ भनेर सोधिएको थियो । मैले हाम्रोमा वर्डफ्लु छैन भने । त्यसपछि ती प्रोफेसरले कतिमा परीक्षण गर्नुभयो भनेर सोधे । परीक्षण नै गरेको छैन भनेँ । त्यस्तै नेपालमा पनि कुनकुन कोरोना भाइरसको नयाँ नयाँ भेरिएन्टमध्ये अफ्रिकन, ब्राजिलियन र अन्य कुनै भेरिएन्ट देखिएको छ वा छैन भनेर परीक्षण नगरेपछि कसरी थाहा हुन्छ ? नेपालमा नयाँ भेरिएन्ट थाहा पाउन प्राइमरको डिजाइन गरेर देशभर रहेका पीसीआरमा परीक्षण नगरेसम्म यूके, अफ्रिकन, ब्राजिलियन, डबल म्युटेन्ट’ भेरिएन्ट भए पनि थाहा पाइँदैन ।

अब अस्पतालमा आएका सङ्क्रमितका आधारमा मात्रै बोल्नुपर्छ । भरतपुर अस्पताल सङ्क्रमित बिरामीले लगभग भरिएका छन् । ती सङ्क्रमितमा पुरानो कोरोना भाइरस हो वा अन्य भेरिएन्ट भन्ने थाहा छैन । नेपालमा कोरोनाका लक्षण देखिए पनि परीक्षण गराउन जाँदैनन् । परीक्षण गर्न गए पनि यहाँका पीसीआरको सिस्टमले कुन भेरिएन्ट हो भनेर पत्ता लगाउन सक्दैन ।

अब सङ्क्रमितमा यूके, ब्राजिलियन, अफ्रिकन वा अन्य कुन भेरिएन्ट हो भनेर पत्ता लगाउन सक्ने कि नसक्ने भन्ने नेपालका लागि अहम प्रश्न हो ।

पछिल्लो समय नेपालमा कोरोना परीक्षण गर्दा ‘एस जिन’ नेगेटिभ देखिएको छ । बालबालिका पनि प्रभावित भएका छन्, किन होला ?

पहिलो कोरोना सङ्क्रमण दर बढ्दा पनि भारतबाट आएका युवा सङ्क्रमण देखियो । उनीहरुबाट सर्‍यो । सङ्क्रमित पुरुष धेरै थिए । सङ्क्रमित हुने महिलाको सङ्ख्या कम थियो । बालबालिका एकाधबाहेक सङ्क्रमित भएनन् । गएको असारमा लक्षण नभएका ४० प्रतिशतमा भाइरसको एन्टिबडी बनिसकेको थियो । असोजदेखि अहिलेसम्म यो रोगले थाहा नपाइकन ८० प्रतिशतलाई लक्षण नै नदेखिई लागेको छ । अध्ययन नै गर्ने हो भने पनि ६० देखि ७० प्रतिशतको शरीरमा एन्टिबडी विकास भएको हुनसक्छ । अहिले सङ्क्रमण सामुदायिक स्तरमा पुगिसकेको छ । त्यसैले बालबालिका, ज्येष्ठ नागरिक, दीर्घ रोगी प्रभावित हुने सङ्केत देखिएको छ । त्यसैले जनता र राज्य चनाखो हुनै पर्छ ।  

नेपालमा कुनकुन भेरिएन्टका सङ्क्रमित छन् भनेर पत्ता लगाउन सरकारले किन ढिला गरेको हो ?

पीसीआर मेसिनले पुरानो कोरोना भाइरसलाई मात्रैलाई परीक्षण गर्दैनन् । पीसीआर मेसिनले डेङ्गु भाइरस, स्वाइनफ्लु, वर्डफ्लुसँगै अहिले कोरोना भाइरसको नयाँ नयाँ भेरिएन्टलाई समेत हेर्न मिल्छ । भाइरसका नयाँ नयाँ भेरिएन्ट हेर्नका लागि प्राइमर भए मात्रै पुग्छ । सरकारले भेरिएन्ट पत्ता लगाउन नमुना तयारीमा जुटिरहेको छ । कोरोना भाइरस महामारीका रूपमा संसारभर फैलिरहेको छ । नेपालमा पनि यो भाइरस सङ्क्रमण हुने भएकाले त्यही हिसाबले नेपालले सतर्कता अपनाउनुपर्ने हुन्छ । 

 नेपालमा देखिएका भाइरसको सिक्वेन्सिङ गर्ने र परिवर्तन नहुने खालका जिन ल्याएर प्राइमर डिजाइन गरेर देशभर सप्लाई गर्ने ग¥यो भने नयाँ भेरिएन्ट परीक्षण गर्न गाह्रो छैन । कोरोना सङ्क्रमणको नयाँ भेरिएन्ट थाहा पाउन चाहिने अरू सामग्री त्यही हो । पीसीआर परीक्षण  अबबाट बढाउनै पर्छ । महामारी संसारभर छ । हेरेक पटक नयाँ भेरिएन्ट परिवर्तन हुँदा नयाँ प्राइमर बनाइदिएको खण्डमा कुन भेरिएन्ट हो भनेर पत्ता लगाउन सकिन्छ ।  भाइरस परिवर्तन भइरहेका बेलामा स्वास्थ्यकर्मीलाई तालिमको आयोजना गराउने, अघिल्लो पटक केही नभएको बेलासमेत स्वास्थ्य कर्मचारी सक्रिय भएर काम गरे भने अहिले एक वर्षको अवधिमा कोरोना सङ्क्रमणसँग जुध्नका लागि धेरै कुरा व्यवस्थित भएको छ । अब कोरोना परीक्षण, पहिचान र नियन्त्रणमा झन् सक्षम भएर अगाडि बढ्नुपर्छ । कोरोना भाइरसका नयाँ भेरिएन्ट पत्ता लगाउने कार्यमा पनि सरकारले अग्रसरता देखाउनुपर्छ । अहिले जनशक्ति, प्रविधिको उपलब्धता भएकाले कोरोना भाइरस नयाँ भेरिएन्ट हो वा होइन भनेर जनतालाई चाँडै जानकारी दिन जरुरी छ । यदि थाहा नपाई समुदायमा तीव्र गतिमा यूके, अफ्रिकन, ब्राजिलियन, डबल म्युटेन्ट सङ्क्रमण फैलिएको खण्डमा भयावह स्थिति आउन सक्छ । भारतमा जुन रूपमा नयाँ भेरिएन्ट सङ्क्रमित भेटिएका छन् अब नेपालमा पनि विस्तार हुन सक्छन् । भारतमा सङ्क्रमणको दोस्रो लहर आएपछि जुन रूप परीक्षण तथा अन्य तयारी  भइरहेको छ त्यही गतिमा नेपालले पनि गर्नुपर्छ । दोस्रो लहर आउन नदिन सरकारले तयारी गर्न ढिला भइसक्यो ।

कोरोना भाइरसले स्वरूप परिवर्तन गरिरहेका बेला कोरोनाविरुद्धको खोपले अब कम गर्छ ?

अहिले जुन खोप लगाइरहेका छौँ त्यो खोप बनाउने तरिका भिन्न भिन्न छ । जिनलाई परिवर्तन गरेर माइल पाइप बनाएर रोग नलाग्ने तर एन्टिबडी बनाउने भनेर खोप दिइन्छ । तर त्यो भाइरसलाई नै परिवर्तन गर्ने हो । खोप बनाउँदा पुरानो भाइरसलाई परिवर्तन गरियो । त्यहीअनुसार खोप बनाएर दिन सुरु गरियो । अहिले फेरि नयाँ नयाँ भेरिएन्ट देखिन थाल्यो । अब हाम्रो चिन्ता भनेको नयाँ नयाँ भेरिएन्टलाई यो खोपले कतिको काम गर्छ भन्ने हो । यो एउटा अध्ययनको विषय बनिरहेको छ । यति भन्दै गर्दा अध्ययनबिना हाल लगाइएका खोप काम नै गर्दैन भन्न मिल्दैन । जिन नै फरक भनेपछि यो खोपले कति काम गर्छ भन्ने विषयमा भारत लगायत अन्य देशमा यस विषयमा अध्ययन भइरहेको छ । नेपालमा लगाइएका खोपले रोग लाग्न रोक्छ कि रोक्दैन, रोगीलाई गम्भीर हुनबाट जोगाउँछ कि जोगाउँदै भन्ने अध्ययनको विषय बनेको छ । यस विषयमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले यही खोप लगाउने कि अर्को खालको खोपको अवश्यक पर्छ भनेर केही दिनमा जानकारी देला । यद्यपि हामीले अहिले लगाइरहेको खोप लगाउन अत्यन्त जरुरी छ । पुराना खालको भाइरसलाई ६२÷७० प्रतिशतसम्म प्रभावकारी रहेको देखाएको छ । नयाँ भेरिएन्टका लागि यो खोपको उपयोगिताको अध्ययनको विषय विश्वभर बनेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.