शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना महामारीमा के गर्दैछन् भारतमा कार्यरत नेपाली ? (भिडियोसहित)

बिहीबार, १६ वैशाख २०७८, १३ : ५९
बिहीबार, १६ वैशाख २०७८

पछिल्लो समय कोरोना महामारीले सबैभन्दा आक्रान्त बनेको मुलुक हो भारत । भारतको नयाँदिल्ली, उत्तरप्रदेश, गोवा लगायतका स्थानको अवस्था अत्यन्त भयावह र त्रसित छ । त्यहाँ मानिसहरूले कोरोनाको  उपचार गर्न अस्पताल, बेड र अक्सिजन नै पाउन सकेका छैनन् । यो अवस्थाबाट भारतमा रहेका नेपाली पनि अछुतो छैनन् । 

अध्ययन, रोजगारीलगायत सम्भावनाको खोजी गर्दै भारत पुगेका नेपालीहरूको अवस्था कस्तो छ त ? अनि नेपाल सरकार र भारतस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरूलाई कसरी सहयोग गर्दैछन् ? विपत्को समयमा विभिन्न गैरसरकारी सङ्घसंंस्थाले नेपालीहरूलाई राहत र उद्धारमा केकस्तो पहल गर्दैछन् ? धेरैले चासो व्यक्त गरेका छन् । 

दिल्लीस्थित प्रगतिशील नेपाली समाज भारतका प्रतिनिधि गणेश अधिकारीले जसरी सरकारले समस्यामा परेका प्रवासीहरूका बारेमा आवश्यक पहलकदमी लिनुपर्ने हो त्यो लिन नसकेको गुनासो गरे । ‘भारतमा बढेको कोरोना कहरका कारण त्यहाँ रहेका भारतीयसँगै नेपालीहरू पनि समस्यामा परे पनि उनीहरूको समस्या समाधानमा सरोकारवालाहरूबाट पर्याप्त पहल हुन सकेको छैन,’ अधिकारीले रातोपाटीसँग भने । 

‘आपत्का बेला आफ्ना नागरिकहरूको उद्धार र राहत प्रदान गर्ने प्रमुख जिम्मेवारी नेपाल सरकार र राजदूतावासको हो । तर फोन नउठाउने, सम्पर्कमा नआउने जस्ता समस्या देखिएका छन् जसले निराश बन्नुपर्ने अवस्था छ’, अधिकारी भन्छन्, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च भारतले एउटा टिम बनाएको छ । त्यो टिमले समस्यामा परेकाहरूलाई सकेसम्म राहत र उद्धारको काम गरिरहेको छ । तैपनि समस्या एक ठाउँमा मात्र नभएकाले कसरी पार लगाउने भन्ने हामीसमेत अन्योलमा परेका छाैं ।’ 

उनले भारत सरकारले आफ्नै नागरिकलाई हेर्न नसकेको अवस्थामा नेपालीहरूलाई हेर्ने र सहयोग गर्ने विषयमा स्वाभाविक फरकपन देखिएको भन्दै आफूहरूले समस्यामा परेका नेपालीहरूलाई नेपालको सीमासम्म  पुर्याउने काम भइरहेको बताए । ‘अधिकांश नेपालीहरू पीडादायी अवस्थामा हुनुहुन्छ । कतिपय बस व्यवसायीहरूले बढी भाडा लिने, बीच बाटोमै छोड्ने जस्ता समस्या पनि भइरहेका छन् । त्यसबारेमा हामीले हाम्रोतर्फबाट राजदूतावाससँग पनि कुरा गर्ने प्रयास गरिरहेका छौँ’, अधिकारीले दिल्लीमा मात्रै करिब ५ लाख मानिसहरू हुनसक्ने बताए । 

अधिकारीले दिल्लीको अवस्था अत्यन्तै दयनीय रहेको भन्दै यहाँ रहेका सङ्घसंस्थाहरूले समस्यामा रहेका नेपालीहरूलाई घर पठाउनेदेखि सकेसम्म अस्पतालमा उपचार गराउने व्यवस्था गरेको भन्दै राजदूतावासले पनि आवश्यक भूमिका खेलिदिए राहत महसुस गर्न अपेक्षा व्यक्त गरे ।

‘दिल्लीको अवस्था अत्यन्तै दयनीय छ । लकडाउन भएको छ । लकडाउनमा नेपालीहरू कसरी खाने कसरी बस्ने भन्नेमा चिन्तित छन् । कतिपय नेपाली घर कसरी पुग्ने भन्ने चिन्तामा छन् । आर्थिक अवस्था ज्यादै कमजोर भएकालाई बोर्डरसम्म पु¥याउने व्यवस्थाका लागि हामीले सरसल्लाह पनि गरिरहेका छौँ । तर यसमा पनि हामीलाई दूतावासको सहयोग अनिवार्य चाहिन्छ’, अधिकारीको भनाइ छ । 

त्यसैगरी गोवामा रहेका प्रगतिशील नेपाल समाज भारत केन्द्रका महासचिव लोकेन्द्र सेर्पाइलीले केरला, महाराष्ट्र, गुजरात, दिल्ली, मध्यप्रदेश लगायतका स्थानमा रहेका नेपालीहरू कोरोना सङ्क्रमणबाट प्रभावित भएको बताए । उनले भारतीय नागरिकजस्तै कोरोनाबाट नेपालीहरूको मृत्युको खबर आइरहेको बताए । ‘त्यस्ता खबर आएपछि हामीले केही गर्न नसके पनि सान्त्वना दिने र भारत सरकारसँग भारतीय नागरिकलाई भारत सरकारले दिने सेवा सुविधा सरह नेपालीहरूलाई पनि दिन पहल गरिरहेका छौँ’, उनले रातोपाटीसँग भने । 

उनले अन्य सहरको तुलनामा गोवामा त्यति धेरै सङ्क्रमित नभए पनि गोवा तथा आसपासका क्षेत्रबाट नेपाल जान चाहने नेपालीहरूलाई पठाउने पहल गरिरहेको दाबी गरे । समस्यामा परेका आफ्ना नागरिकलाई नेपाल सरकारले राहत र उद्धारमा चासो देखाउनुपर्नेमा त्यसो नगरेको आफूले पाएको सेर्पाइलीले बताए । 

‘प्रवासमा रहेका नेपालीहरूले आफ्नो देशमा सरकार छ छैन भन्ने अनुभूति गर्न पाएका छैनन् । यस्तो बेलामा सरकारले जुन भूमिका र अग्रसरता देखाउनुपर्ने हो, त्यो भएको छैन । प्रधानमन्त्री केपी ओलीले आफूलाई राष्ट्रवादी भने पनि समस्यामा परेका नेपालीप्रति आवश्यक चासो देखाएको पाइएन’, सेर्पाइलीको गुनासो छ ।

त्यस्तै केरलामा रहेका गगन सिंहले बैङ्लोरमा तीन, महाराष्ट्र र गोवामा एकएक गरी ५ जनाको मृत्यु भइसकेको जनाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप