शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर कारोबार जस्तै बिजुली कारोबार, हरेक १५ मिनेटमा फरक मूल्य !

दुई दिनमा ७५ लाख जोगियो
आइतबार, १९ वैशाख २०७८, १२ : १३
आइतबार, १९ वैशाख २०७८

नेपालले भारतीय उर्जा एक्सचेन्जसँग सेयर कारोबार गरेजस्तै गरी विद्युत कारोबार गर्न थालेको छ । नेपालले भारतीय उर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश पाएसँगै विडिङ सिस्टमबाट सस्तोमा विद्युत आयात गर्ने बाटो खुलेको हो । हरेक १५ मिनेटमा बिजुलीको दर फरक हुनेछ । १५ मिनेटको एउटा स्लट हुन्छ । यस आधारमा २४ घण्टामा ९६ वटा स्लट हुन्छ । स्लट नै पिच्छे मूल्य फरक पर्न जाने प्राधिकरणका प्रवक्ता मदन तिमल्सिना बताउँछन् ।

नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न शनिबारबाटै सुरु गरेको छ । शनिबारको भन्दा आइतबारको बिजुली प्राधिकरणले सस्तोमा पाएको छ ।

​प्राधिकरणले आइतबार प्रतियुनिट ३ रुपैयाँ ५१ पैसा भारुमा खरिद गर्न लागेको हो । प्राधिकरणले आइतबार ३ रुपैयाँ ५१ पैसा भारुमा ४ हजार ५० मेगावाट आवर विजुली लिनेछ । शनिबार ५ हजार १ सय ५० मेगावाट आवर विजुली ३ रुपैयाँ ८१ पैसा भारुमा खरिद गरेको थियो । भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट खरिद गरेको बिजुली ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत् आयात हुनेछ  ।

प्रवक्ता तिमल्सिनाका अनुसार आइतबार भारतमा सार्वजनिक बिदा भएकाले आन्तरिक बजारमा विद्युत माग कम भइ नेपालले सस्तोमा बिजुली पाएको हो ।

उनी भन्छन, ‘राति १२ बजेको लागि हरेक दिन साँझ ६ बजेसम्म अनलाइनबाट बिडिङ गर्ने र सेयर कारोबार गरेजस्तै फरक मूल्यमा विद्युत पाइने छ ।’ भारतबाट पहिला दुइवटा मोडालिटिमा विजुली आउँथ्यो भने योसहित अब तीन वटा मोडालिटीबाट विद्युत आयात हुन्छ । पावर ट्रेडिङ, पावर एक्सचेन्ज र स—साना पावरको विद्युत विभिन्न नाकाबाट आउने गरेको छ ।

दुई दिनमा ७५ लाख जोगियो

नेपालले यस अघि ढल्केबर प्रसारण लाइनबाट ४ रुपैयाँ १८ पैसा भारुमा विद्युत खरिद गर्दै आएको थियो । अहिलेसम्म भारतीय सरकारी कम्पनी एनभीभीएनसँग ४ रुपैयाँ १८ पैसा भारुमा प्रति युनिट विजुली किनिरहेको नेपालले ठुलो रकम विद्युत आयातका लागि भारत पठाउँदै आएको छ । तर उर्जा बजारमा प्रवेश पाउने वित्तिकै दुई दिनमै झण्डै ७५ लाख रुपैयाँ भारत जानबाट जोगिएको प्राधिकरणको दाबी छ । । दैनिक डेढ देखि २ सय मेगावाट आयात गरिने प्राधिकरणले जनाएको छ  । यो ढल्केबर लाइनबाट मात्र आयात हुने हो । भारतमा हरेक दिन विजुलीको नयाँ दररेट कायम हुन्छ । त्यहाँ अत्यधिक विद्युत उत्पादन हुने बजारमै विजुलीको भाउ निर्धारण हुने गर्छ । हरेक दिन विजुली किन्नका लागि प्रस्ताव गर्नुपर्छ ।

सस्तो बिजुली प्राधिकरणलाई कि उपभोक्तालाई ?

नेपाल विद्युत प्राधिकरणले बिडिङ सिस्टमबाट नेपाल आयात गर्ने विजुली प्राधिकरणलाई मात्र सस्तो पर्ने हो वा आम उपभोक्ताले पनि सस्तो मूल्यमा पाउने हो चासोको विषय बनेको छ । भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणको दाबी छ । प्राधिकरणले भारतबाट ल्याउने विद्युत तत्कालका लागि उपभोक्तालाई नभइ  प्राधिकरणलाई सस्तो पर्ने प्रवक्ता तिमल्सिनाको भनाइ छ । उनी भन्छन्, ‘यसमा प्राधिकरणले जोखिम मोलेको छ । अहिले दुई दिन सस्तो मूल्य हुँदैमा सधैँ सस्तो भन्ने चाहिँ हुँदैन । महँगो मूल्य पर्दा पनि प्राधिकरणले लिन्छ ।’ उपभोक्ताले विद्युत नियमन आयोगले तोकेको दर नै बुझाउनु पर्ने उनले बताए ।

प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत विद्युत आयात गरिरहेको छ । प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री (पीपीए) सम्झौता भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म रहने  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप