बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले फेरि संसद विघटन गर्न मिल्छ ?

विपक्षी दलमा विघटनको त्रास, विज्ञ भन्छन्– मिल्दैन
शुक्रबार, २४ वैशाख २०७८, १५ : २०
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राखेपछि प्रतिनिधिसभा फेरि विघटन हुने हो कि भन्ने अड्कलबाजी सुरु भएको छ । तर, संविधानका जानकार चाहिँ ओलीले संसद विघटन गर्न नमिल्ने बताउँछन् ।

प्रधानमन्त्री ओलीले ५ पुसमा तत्कालीन नेकपाभित्रको अन्तरकलह व्यवस्थापन गर्न नसकेर असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटनको निर्णय लिएका थिए । तर, फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाले संसद विघटनको निर्णयलाई बदर गरिदिएको थियो ।

विपक्षी दलमा अविश्वासको प्रस्तावबारे सहमति नजुटेर माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ताको निर्णय नलिँदै प्रधानमन्त्रीले विश्वासको मत लिन खोज्नुलाई काँग्रेस, माओवादी लगायतका दलहरुले शंकाको नजरले हेरेका छन् ।

काँग्रेससँगको छलफलपछि ओलीले फेरि असंवैधानिक बाटो समातेर पुस ५ कै जस्तो कदम उठाउने धेरैको आशंका छ । विपक्षी पार्टीले अविश्वासको प्रस्ताव राख्नुपर्नेमा प्रधानमन्त्री नै विश्वास माग्नुलाई अनौठो रुपमा हेरिएको विपक्षी नेताहरुको तर्क छ ।

प्रष्ट अल्पमतमा रहेका बेला प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोजेपछि विपक्षी दलका नेताहरु प्रतिनिधिसभा फेरि विघटन हुने विश्लेषण गर्न थालेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार बूढानीलकण्ठमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका शीर्षस्थ नेतासँगको छलफलमा पनि चुनावको चर्चा गरेपछि विपक्षीहरूको आशंकालाई थप बल मिलेको छ ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका शीर्ष नेताहरुसहित काँग्रेस शीर्ष नेतासँगको छलफलमा सत्ता साझेदारी र चुनावी सहमतिका प्रस्ताव अगाडि सारेका थिए ।

काँग्रेसले २७ बैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिएपछिको अवस्थाबारे अहिले कुनै सहमति गर्न नसकिने जवाफ दिएको थियो । काँग्रेस सभापति देउवाले विश्वासको मतलाई विफल पार्ने र तत्काल एमालेसँग सहकार्य गर्न नसकिने पार्टी नीति ओलीलाई सुनाएका थिए ।

​काँग्रेससँगको छलफलपछि ओलीले फेरि असंवैधानिक बाटो समातेर पुस ५ कै जस्तो कदम उठाउने धेरैको आशंका छ । विपक्षी पार्टीले अविश्वासको प्रस्ताव राख्नुपर्नेमा प्रधानमन्त्री नै विश्वास माग्नुलाई अनौठो रुपमा हेरिएको विपक्षी नेताहरुको तर्क छ ।

काँग्रेस नेता डा. मिनेन्द्र रिजालले ओली सरकारले फेरि प्रतिनिधिसभा विघटन गर्ने बताए । ‘प्रतिनिधि सभाप्रति यो सरकारको कुनै विश्वास छैन । यो सरकारले फेरि प्रतिनिधिसभा विघटन गर्छ,’ रिजालको दाबी छ ।

अर्का नेता डा.रामशरण महतले पनि सोही संकेत गरे । महतले भने, ‘सरकारले समर्थन प्राप्त गर्ने सक्ने अवस्था देख्दिँन । विश्वासको मत प्राप्त गर्न सकेन भने मध्यावधि घोषणा गर्ने यो सरकारको दाउ छ ।’

के ओलीले संसद विघटन गर्न पाउँछन् ?

संवैधानिक कानुनका जानकार एवं राष्ट्रियसभा काँग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारी भने प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नसक्ने बताउँछन् ।

‘ओलीजीले पहिला विश्वासको मत माग्नुभएको छ । विश्वासको मत प्राप्त गर्नुभयो भने कुरा खतम भइहाल्यो । यदि उहाँले हार्नुभयो भने पदमुक्त हुनुहुन्छ,’ अधिकारीले रातोपाटीलाई भने, ‘विश्वासको मत लिन सफल हुन सक्नुभएन भने उहाँ प्रधानमन्त्रीबाट पदमुक्त भएको सभामुखले लेखेर दिनुहुन्छ ।’

‘त्यसपछि उहाँले ३० दिनमा फेरि विश्वासको मत लिएर बहुमत सिद्ध गर्नुपर्छ । त्यसमा उहाँ सफल हुनुभएन भने ७६ को ५ मा जान्छ । त्यो बेलामा दलहरु होइन, सांसदहरुको बहुमत सिद्ध गर्ने कुनै प्रतिनिधिसभाको सदस्यले सरकार बनाउन सक्छ,’ अधिकारीले भने ।

अधिकारीका अनुसार प्रधानमन्त्री ओली पदमुक्त भएपछि नयाँ प्रक्रिया सुरु हुन्छ । ‘हामीसँग संविधानको धारा ७६ को उपधारा १ बमोजिमको सरकार बनाउने अवस्था छैन । किनभन्दा कुनै पनि पार्टीसँग बहुमत छैन । त्यसैले सुरुमै ७६ को २ को कुरा सुरु हुन्छ । ७६ को २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार बनाउन सक्छन् भनिएको छ । उनीहरुले बहुमत सिद्ध गर्नुपर्छ,’ अधिकारी भन्छन् ।

बरिष्ठ अधिवक्ता अधिकारीका अनुसार विश्वासको मतमा पराजित भइसकेपछि ओलीले सरकारको दाबी गर्ने कुरै हुँदैन । त्यसपछि नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा मिल्यो भने ७६ को २ बमोजिमको सरकार बन्न सक्छ  । तर, विपक्षी काँग्रेस, माओवादी र जसपाबीच सहमति नभएर बहुमत पुग्न सकेन भने ७६ को ३ बमोजिमको सरकार बन्ने अधिकारी बताउँछन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएयता विपक्षीबीच सत्ता सहकार्यको प्रयास भए पनि अहिलेसम्म बहुमत जुट्न सकेको छैन । काँग्रेस र माओवादी एकमतका साथ सरकार निर्माणको पक्षमा देखिए पनि सत्ता सहकार्यमा निर्णायक मानिएको जसपा दुई भागमा विभाजित छ ।

​जसपाको महन्थ ठाकुर पक्ष ओली सरकारलाई विश्वासको मत दिन राजी देखिन्छ भने उपेन्द्र यादव–बाबुराम भट्टराई नयाँ सरकार निर्माणमा प्रयासरत छन् । सत्ता सहकार्यबारे जसपामा देखिएको मत विभाजन र सत्तासीन एमालेको विग्रहले सत्ता संकट उत्पन्न हुने खतरा छ । यस्तो अवस्थामा संसदको सबैभन्दा ठूला पार्टीको दलको नेताको हैसियतले ओली प्रधानमन्त्री बन्न सक्ने अधिकारीले बताए ।

‘त्यसपछि उहाँले ३० दिनमा फेरि विश्वासको मत लिएर बहुमत सिद्ध गर्नुपर्छ । त्यसमा उहाँ सफल हुनुभएन भने ७६ को ५ मा जान्छ । त्यो बेलामा दलहरु होइन, सांसदहरुको बहुमत सिद्ध गर्ने कुनै प्रतिनिधिसभाको सदस्यले सरकार बनाउन सक्छ,’ अधिकारीले भने ।

सांसद अधिकारीका अनुसार त्यति गर्दा पनि बहुमतको सरकार निर्माण भएन भने चुनावमा जानुको विकल्प रहँदैन । किनभने, त्यसबेला वर्तमान संसद सरकार दिन असफल हुन्छ ।

‘हाम्रो संवैधानिक व्यवस्था यस्तो छ । योभन्दा बाहिर जाने ठाउँ छैन’ अधिकारी भन्छन्, ‘ओलीले माथि उल्लेखित चरण पार नगरी प्रतिनिधिसभा विघटन गर्नुभयो भने त्यो असंवैधानिक हुन्छ । गैरकानुनी हुन्छ । लोकतान्त्रिक पद्धतिभन्दा विपरीत हुन्छ ।’

धारा ७६ को ५ सम्म नगएर मध्यावधि चुनावमा जान नसकिने अधिकारीको दाबी छ । त्योभन्दा बाहिर गए यसअघि जस्तै सरकारको कदम असंवैधानिक प्रमाणित हुने उनी बताउँछन् ।

तर, ओली पक्षले भने अहिले पनि पुस ५ को संसद विघटनको निर्णय नै सही नै भएको दाबी गर्दै आएको छ ।

थापाले भने, ‘कसैसँग आत्मविश्वास छैन । केही रहेको छ भने पनि त्यो केपी ओलीसँग मात्र हो । जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ । मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिनुहुन्छ ।’

तर, एमालेका नेता कर्णबहादुर थापाले भने, ‘प्रधानमन्त्रीज्यूले पुस ५ मा गर्नुभएको संसद विघटन सही थियो । मान्छेले त्यो कुरा बुझ्नुभएन । बहुमत प्राप्त दल विभाजित हुँदै गएपछि अरु कसैले बहुमत प्राप्त गर्न सक्ने अवस्था छैन ।’

बुधबार प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी दलका काँग्रेस सभापति देउवाको निवास विश्वासको मत माग्नका लागि नभएको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीले पनि कही विपक्षी दलका नेतासँग विश्वासको मत जानुहुन्छ ? उहाँ संयुक्त सरकार बनाउन वा चुनाव गरौं भनेर जानुभएको हो ।’ प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त नगरे पनि केही फरक नपर्ने थापाको जिकिर छ ।

‘सबै पार्टी मिलेर सरकार बनौँ भनेकै छ । विश्वासको मत दिनुस् नभए जेपनि गर्छु भनिएको छैन । केपी ओलीको भयंकर रणनीति छ भनिएको छ । तर केही रणनीति छैन,’ थापा भन्छन् । विपक्षी गठबन्धनमा बहुमत नपुग्ने र आसन्न असारसम्म ओलीले नै मध्यावधि घोषणा गर्ने परिस्थिति बन्दै गएको उनको विश्लेषण छ ।

थापाले भने, ‘कसैसँग आत्मविश्वास छैन । केही रहेको छ भने पनि त्यो केपी ओलीसँग मात्र हो । जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ । मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप