सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी

बिहीबार, १८ वैशाख २०८२, २२ : २२
बिहीबार, १८ वैशाख २०८२

कास्की । पोखरामा आजदेखि पहिलो संस्करणको ‘लायन्स कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब र इरानको टोली विजयी भएको छ ।

भारतीय टोलीलाई पराजित गर्दै पुलिसले विजयी यात्रा सुरु गरेको हो । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको समूह ‘बी’अन्तर्गतको खेलमा पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिसले भारतीय टोलीमाथि २५–२३ ले जित हासिल गर्यो । दोस्रो सेट र तेस्रो सेट भने पुलिसले सहज जित निकाल्यो । पुलिसले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० ले जित निकाल्न सफल रह्यो ।

यसअघि आजै भएको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गरेको थियो । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा सुरु भएको प्रतियोगिताको दोस्रो दिन शुक्रबार पहिलो खेल इरानी टोली र गण्डकी प्रदेश तथा दोस्रो खेल भारतीय टोली र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रतियोगितामा सहभागी छ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा इरानी टोली, एपिएफ र गण्डकी प्रदेश छन् भने समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् । दुवै समूहबाट शीर्ष दुर्ईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल वैशाख २२ गते हुनेछ ।

प्रतियोगिताको विजेताले रु चार लाख ४४ हजार ४४४ र उपविजेताले रु दुई लाख ४४ हजार ४४४ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।  यसैगरी तेस्रो हुने टोलीले नगद रु एक लाख ४४ हजार चार सय ४४ पाउनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई रु १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेहरूलाई रु आठ हजार ४४४ का दरले पुरस्कार गरिने डिस्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप