बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म

बिहीबार, १८ वैशाख २०८२, २२ : ००
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । आज मिति २०८२ साल वैशाख महिनाको १८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

१. विद्यालय कर्मचारी रुष्ट

सरकारसँग भएको ९ बुँदे सहमतिप्रति विद्यालय कर्मचारीहरू असन्तुष्ट बनेका छन् । सरकारले विगतमा गरेको सम्झौता र सोहीअनुसार अगाडि बढेको नेपाल शिक्षक महासंघले अन्तिममा धोका दिएको उनीहरूको बुझाइ छ ।

विद्यालय कर्मचारीहरूले आफूसँग सरकारले गरेको सहमतिअनुसार सम्झौता नभएको भन्दै आपत्ति जनाउनुका साथै आन्दोलन नरोक्ने जनाएका छन् । सरकारसँगको सहमतिलाई विद्यालय कर्मचारीहरूले धोकोको संज्ञा दिएका छन् ।

२. प्रचण्डको आशंका

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार साँझ बोलाएको तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएनन् ।

खासगरी तीन नेताको छलफलको एजेन्डा सङ्क्रमणकालीन न्यायमा सहमति जुटाउने थियो ।

यसको चाँजोपाँजो प्रधानमन्त्रीका सङ्क्रमणकालीन सल्लाहकार अग्नी खरेलले मिलाएका थिए । सोही अनुसार तीन नेताबिच भेटवार्ताको तय गरिएको थियो ।  तर, सिंहदरबारमा ओली र देउवाले प्रचण्डलाई तोकिएको समयभन्दा आधा घण्टाभन्दा बढी कुरे पनि प्रचण्ड बैठकमा पुगेनन् ।

यसअघि सरकारले टीआरसीका विषयमा छलफल गरेलगत्तै कुलमान हटाउने निर्णय गरेको थियो । त्यसपछि प्रचण्डमाथि टीआरसीसँग कुलमान साटेको  आरोप समेत लागेको थियो ।

यसपटक पनि सरकारले कुनै निर्णय गर्ने अनि आफूलाई मुछ्नेगरी बोलाइएको त होइन भन्ने आशङ्का प्रचण्डलाई छदै थियो । त्यही कारण उनी नगएको बताइएको छ ।

३. रेशम चौधरी पक्राउ प्रकरण

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई थुनामा राख्न भन्दै अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी हिरासतमा छन् । सर्वोच्चले विष्टको उक्त पत्र अनधिकृत रहेको बताउँदै नयाँ पत्र पठाएपछि ५ घण्टा डिल्लीबजार कारागारमा थुनिएर चौधरी रिहा भइसकेका छन् । तर यो प्रकरण अझै सेलाएको छैन ।

४. मजदुर दिवस

एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

५. विधान संशोधनको होमवर्क

नेकपा एमालेले अगामी जेठ मसान्तभित्र पार्टीको विधान संशोधनका लागि सुझाव सङ्कलन गर्न पार्टी मातहतका निकायलाई सर्कुलर गरेको छ ।

आगामी भदौ २० देखि २२ सम्म पार्टीको दोस्रो विधान महाधिवेशनको मिति तोकेको एमालेले मातहतका कमिटी र कार्यकर्ताबाट मौजुदा विधानमा आवश्यक संशोधनका लागि समयमै सुझाव सङ्कलन गर्नुपर्ने भन्दै यस्तो निर्णय गरेको हो ।

६. पेस्तोल प्रकरण

सामाजिक सञ्जालमा जनता समाजवादी पार्टी नेपालकी नेतृ डा.बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे अनुसन्धान अघि बढाएको छ ।

डान्स गर्दा उनले फायर गरेको देखिने पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको छ । मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमार तिलहरीको घरबाट पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईले रातोपाटीलाई बताए ।

७. सर्टलिस्टप्रति आपत्ति

द्वन्द्व पीडितहरुले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका अध्यक्ष तथा पदाधिकारी सिफारिस समितिले अपारदर्शी, देखावटी, राजनीतिक भागबन्डा र पहुँचका आधारमा पदाधिकारीको सर्ट लिस्ट (संक्षिप्त सूची) तयार पारेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले तत्काल नयाँ र स्वायत्त सिफारिस समिति बनाउन माग समेत गरेका छन् ।

८. तोकिएको मितिमै परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका बारेमा बोर्डको लोगो प्रयोग गरी अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै भ्रमका पछि नलागेर यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म तोकिएकै समयमा परीक्षा सञ्चालन हुने जानकारी गराएको हो ।

९. गृहको मनपरी

गृह मन्त्रालयले सहसचिवलाई अतिरिक्त समूह (जगेडा) मा राखेर सहसचिवको दरबन्दी भएको ठाउँमा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर राखिरहेको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले रातोपाटीलाई उपलब्ध गराएको तथ्यांकअनुसार मन्त्रालयका त्यस्ता ९ सहसचिवलाई जिम्मेवारी नदिई थन्क्याइको छ ।

१०. कारबाहीमा वित्तीय संस्था

तेस्रो त्रैमासमा एक दर्जन बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा पाँच वाणिज्य बैंक र सात वटा वित्तीय संस्थालाई कारबाही गरिएको हो ।

यो पनि...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप