शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवलाई शरतसिंहको व्यङ्ग्य : ‘दुलाहा तयारै छैन, जन्ती खोजिराछन्’  (भिडियो)

शुक्रबार, २४ वैशाख २०७८, १६ : ००
शुक्रबार, २४ वैशाख २०७८

राष्ट्रिय जनता पार्टीका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताएका छन् । बिहीबार नयाँ बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा कोरोना परीक्षणका लागि स्वाव दिन पुगेका बेला पत्रकारहरुसँग कुरा गर्दै नेता भण्डारीले २७ गतेसम्म पार्टीले उपयुक्त निर्णय लिने र पार्टी नफुट्ने दाबी गरेका छन् ।

सबै परिस्थितिलाई विश्लेषण गर्दै पार्टी र मुलुकको हितमा हुनेगरी प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा जसपाले व्यापक छलफल गरेर निर्णय गर्ने उनको भनाइ छ । उनले भने–‘प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव पास वा फेल गराउने विषय हाम्रो पार्टीमा प्रवेश नै गरेको छैन । आश्चर्य के छ भने विश्वासको मत लिने कार्यक्रम ३ दिन अघि नै काँग्रेसले हामी मत दिन्नौँ भनेर निर्णय गरेको छ । विश्वासको मत दिन्न भनेपछि त्यसको परिणाम के हुन्छ ? भोलि खेल्ने भूमिका के हुन्छ ? त्यसकारण भोलिको राजनीति के हुन्छ भनेर अहिले नै कोही पनि प्रष्ट छैनन् ।’

उनले आफ्नै पार्टीभित्रका केही साथीहरुले अहिलेको सरकारलाई प्रतिगामी भन्ने गरेको भन्दै मधेशकेन्द्रित दलका लागि सबै पार्टी उस्तै रहेको टिप्पणी गरे । उनले भने–‘हाम्रा केही साथीहरुले अहिले प्रतिगमनको कुरा गरिरहेका छन् । ती साथीहरुले पनि प्रतिगमनको स्पष्ट परिभाषा दिनुपर्छ । हरेक पार्टीले हरेक समयमा प्रतिगमन गरेकै छन् । अहिलेको अवस्थामा जनता समाजवादी पार्टी र मुलुकको हितलाई ध्यानमा राखेर जनता समाजवादीले उपयुक्त निर्णय लिनुपर्छ र गर्छ ।’

उनले विगतका काँग्रेस र माओवादी सरकारले पनि मधेशको माग पूरा नगरेर प्रतिगमन गरेको दावी गरे । संविधान जारी गर्ने बेला मधेशकेन्द्रित दलसँग कुनै दलले पनि एकवचन नसोधेको भन्दै सबै दलहरु एउटै मतियार भएको टिप्पणी गरे ।

उनले अहिलेको समयमा कम्युनिष्ट र काँग्रेस असफल भइसकेकोले जनता समाजवादीले नेतृत्वमा दावी गर्नुपर्ने समय आएको उल्लेख गरे ।

नेता भण्डारीले भने–‘हामीले हाम्रो पार्टीलाई वैकल्पिक शक्ति बनाउनुपर्छ भनेर लागेका थियौँ । अहिले त्यो समय आइसकेको छ । हामी जनता समाजवादीको नेतृत्वमै सरकार अगाडि बढ्यो भने तपाईहरुले आश्चर्य नमान्दा हुन्छ ।’

उनले वैशाख २७ गतेपछि पनि जनता समाजवादी पार्टी एक ढिक्का रहने दावी पनि गरेका गरेका छन् । उनले अहिले पार्टीमा दुई पक्षले चलाएको हस्ताक्षर अभियानमा आफू कतैपनि सहभागी नभएको स्पष्ट पारे ।

उनले भने–‘अहिले परिस्थिति के छ भने हामीले आफूलाई मात्र हेरेर वा वा हाम्रो मात्रै अवस्था हेरेर निर्णय गर्न सक्ने अवस्था मुलुकमा छैन । प्रत्येक क्षण अवस्था परिवर्तन भइरहेको छ । वैशाखको महिनामा बिहान जाडो भएको थियो अहिले गर्मी भइरहेको छ । जसरी मौसम परिवर्तन भइरहेको छ नेपालको राजनीति त्यसरी नै परिवर्तन भइरहेको छ । अहिले काँग्रेस र माओवादी जहाँ छन् भोलि त्यहाँ नहुन सक्ने अवस्था पनि छ ।’

उनले काँग्रेसको भूमिका शंकास्पद रहेको बताउँदै प्रतिनिधि सभा पुर्नस्थापना भएपछि प्रमुख प्रतिपक्षी दल भएको नाताले पहिलो बैठकदेखि असंवैधानिक काम गर्ने प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने उल्लेख गरे । जबसम्म प्रधानमन्त्रीको राजीनामा आउँदैनथ्यो तबसम्म सदन चल्न रोक्नुपर्ने उल्लेख गरे । काँग्रेस आफैले एउटा निर्णय लिन नसकेर अरु के गर्छ अनि आफू पाइला चाल्छु भनेर बसेको टिप्पणी गरे ।

नेता भण्डारीले आफ्नै दलका उपेन्द्र यादव पक्षलाई व्यङ्ग्य गर्दै भने–‘अहिले अचम्म चाहिँ के छ भने हाम्रा केही मित्रहरु जन्ती खोजिरहेका छन् । दुलाहा तयारै छैन, जन्ती खोजिराछन् । यस्तो अवस्थामा भोलि दुलाहाले बिहे गर्ने हो कि हैन, ऊ तयार छ कि छैन । २७ गते को दुलाहा हुन्छ त्यसको आधारमा जसपाले निर्णय गर्छ ।’

अहिलको सरकारलाई हेर्ने दृष्टिकोणमा जनता समाजवादीका दुई धार रहेको छ । उपेन्द्र यादव पक्ष अहिलेको सरकारको विपक्षमा रहेको भने महन्त ठाकुर समूह भने अहिलेको सरकारको निरन्तरताको पक्षमा रहेको छ ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप