सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?

शुक्रबार, १४ वैशाख २०८१, ११ : ५९
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल महाधिवेशनको तयारीमा जुटिरहेको छ । जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा हुने महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनका लागि प्रक्रिया सुरु गरेको छ । त्यसका लागि पार्टीको सङ्गठित सदस्य सङ्ख्या टुङ्गो लगाएको छ । 

पार्टीका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले सङ्गठित सदस्यको टुङ्गो लागेको बताए । उनले दिएको जानकारी अनुसार जसपाको सङ्गठित सङ्ख्या एक लाख ४५ हजार रहेका छन् । त्यसमध्ये अब प्रतिनिधि चयन गर्ने कार्य हुन्छ । त्यसका लागि कार्यकारिणी सदस्य लालबाबु राउतको नेतृत्वमा गठन भएको कार्यदलले मापदण्ड बनाउने कार्य गरिरहेको छ । 

कार्यकारिणी सदस्य राउतले मापदण्ड बनाउने कार्य अन्तिम चरणमा छ, त्यसलाई आजै टुङ्ग्याउने बताए । उनका अनुसार महाधिवेशन प्रतिवेदन एक हजारदेखि एघार सयसम्म रहने छन् । उनले भने, ‘मोटामोटी एक हजारदेखि एघार सयको बिचमा नै महाधिवेशन प्रतिनिधि सङ्ख्या रहने छन्, आज कार्यकारिणी समितिको बैठक बस्दै छ त्यसबाट त्यो मापदण्डलाई अन्तिम रूप दिइनेछ ।’

तत्कालीन समाजवादी पार्टी र राजपाबिच एकीकरण भएर जसपा बन्दासम्म पार्टीमा आबद्ध रहेका सम्पूर्ण सदस्यहरूलाई सङ्गठित सदस्यको रूपमा राखिएको छ । त्यस्तै २०८० फागुन ३० गतेभित्र जसले साधारण सदस्यता लिएर सक्रिय सदस्य बनेका छन् त्यसलाई पनि सङ्गठित सदस्यमा राखेको छ । 

२०८० फागुन ३० गतेपछि सदस्यता लिएकालाई सङ्गठित सदस्यको रूपमा नमानिएको सङ्गठन विभागका सदस्य जयराम यादवले बताए । फागुन ३० गतेअघि जसले साधारण सदस्यता लिए र सक्रिय सदस्यका लागि प्रक्रिया अनुसार निवेदन दिएका छन् ती सबै सङ्गठित सदस्य बनेको उनले बताए ।  

पार्टीको सङ्गठित सदस्य टुङ्गो लगाए पनि पार्टीको सम्पूर्ण सदस्य सङ्ख्या कति रहेका छन् त्यसको यकिन तथ्याङ्क पार्टीसँग छैन । सङ्गठन विभागका सचिव लाक्पा शेर्पाका अनुसार साधारण सदस्यको तथ्याङ्क पार्टी केन्द्रीय कार्यालयसँग हुँदैन । 

‘पार्टीको शक्ति भनेकै सङ्गठित सदस्य हो, त्यसको तथ्याङ्क अद्यावधिक हुन्छ, अरू साधारण सदस्यको तथ्याङ्क राख्ने गरिएको छैन, उनले भने, ‘ एक लाख ४५ हजार सङ्गठित सदस्य रहेको तथ्याङ्क प्रदेशबाट प्राप्त भएको छ, त्यसमा अझै छानबिन हुन बाँकी छ, वैशाख १६ गते त्यसलाई टुङ्गो लगाइनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप