मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

एकै दिन १५० आरोही सगरमाथामा

आइतबार, ०९ जेठ २०७८, १६ : ५६
आइतबार, ०९ जेठ २०७८

वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा बढी आरोही आज बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत श्रेष्ठले रासससँग कुरा गर्दै अहिलेसम्म १५० भन्दा बढीले आरोहण गरेको खबर आएको बताए । “मौसम राम्रो भएकाले उल्लेख्य सङ्ख्याका आरोही चुचुरातर्फ गएका थिए, १५० भन्दा बढीले आरोहण गरिसकेको खबर आएको छ, अझै केही आरोहण जारी छ”, उनले भने । मौसमले साथ दिए आगामी २८ र २९ तारिख सर्वाधिक आरोहण हुने जनाइएको छ । 

अहिले विश्व कीर्तिमानी कामीरिता शेर्पा २६औँ पटकको आरोहणका लागि आधार शिविरमा रहेका छन् । अझै पनि बाक्लो सङ्ख्यामा आरोही सगरमाथा आरोहणका लागि आधार शिविरमा रहेका सम्पर्क अधिकृत श्रेष्ठले बताए ।
यसअघि प्रतिकूल मौसमका कारण एक साता सगरमाथा आरोहण प्रभावित बनेको थियो । वसन्तयामको जारी आरोहणका क्रममा पूर्वी मध्ये अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकेका कारण नेपालको मौसम बिग्रिएपछि सगरमाथासहितका हिमाल आरोहण प्रभावित बनेको थियो ।

वसन्तयामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भयो । कामिरिता शेर्पा नेतृत्वको १२ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगे (रोप फिक्सिङ) सँगै सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो । पर्यटन विभागले सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहलाई आरोहण अनुमति दिएको छ । यो सङ्ख्या सन् २०१९ को वसन्तयामको भन्दा बढी हो । वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ आरोहीले आरोहण अनुमति लिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप