शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बोक्सीको आरोपमा रौतहटमा वृद्धामाथि निर्घात कुटपिट

बुधबार, ०२ असार २०७८, १० : १५
बुधबार, ०२ असार २०७८

 रौतहटमा बोक्सीको आरोपमा एकजना वृद्धामाथि मरणासन्न हुनेगरी कुटपिट भएको छ ।

जिल्लाको माधवनारायण नगरपालिका–५, मिठुहवा टोल बस्ने ६५ वर्षीय श्रीपती देवीलाई उनकै छिमेकी सन्दिप महरासहितको समूहले बोक्सीको आरोपमा साङ्घातिक आक्रमण गरेको पीडित परिवारका सदस्यहरुको आरोप छ ।

गत शनिबार आफ्नो घरबाट शिवनगरस्थित महादेव मन्दिर जानेक्रममा बाटोमा सन्दिप र उनका साथमा रहेका केही अन्य व्यक्तिले श्रीपतीलाई धारिलो हतियार र भाटासहित आक्रमण गरेका थिए ।

कुटपिटबाट श्रीपतीको टाउको, हात, कान लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।

प्रहरीले घटनास्थलबाट उनलाई आक्रमण गर्न प्रयोग भएको भाटाको बन्डल बरामद गरेको छ ।

श्रीपती देवीलाई सोही बाटो हुँदै खेतमा गइरहेका स्थानीयवासीले देखेर उद्धार गरी चन्द्रपुर–४ स्थित सिभिल अस्पतालमा लगेका थिए । हाल सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।

उपचारको क्रममा उनको टाउको लगायत शरीरका १० ठाउँमा ३ सय बढी टाँका लगाइएको चिकित्सकले बताएका छन् ।

श्रीपती देवीको श्रीमानको १० वर्ष अगाडि मृत्यु भएको थियो । श्रीमानको मृत्यु भएपछि नै उनलाई सन्दिपको परिवारले बोक्सी भन्दै मानसिक यातना दिने गरेको पीडित परिवारको आरोप छ ।

सन्दिपको परिवारका सदस्यहरुले दैनिकजसो घरमा आएर यो बोक्सी हो, यसलाई छाड्नु हुँदैन भन्ने गरेको श्रीपतीकी छोरी सुनितादेवीको भनाइ छ ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी भरत श्रेष्ठको कमाण्डमा गएको टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप