शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्ती गाउँपालिकाका अध्यक्षसहित २५ जनाविरुद्ध मुद्दा दायर

सहकारीको रकम हिनामिना गरेको अभियोग
बिहीबार, १० असार २०७८, १५ : ४५
बिहीबार, १० असार २०७८

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनालाई प्रतिवादी बनाई मुद्दा परेको छ । सहकारी संस्थाको पाँच करोड बढी रकम हिनामिना गरेको अभियोगमा गाउँपालिकाका अध्यक्ष सुवेदीसहित २५ जना विरुद्ध मंगलबार अदालतमा मुद्दा दर्ता भएको हो ।

राप्ती गाउँपालिका वडा नं. ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले सहकारीका कर्मचारी र पदाधिकारीलाई प्रतिवादी बनाउँदै दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा दर्तापछि सहकारीका चार कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् ।

सहकारीका ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी, लेखापाल ३७ वर्षीय विकाश न्यौंपाने, सह–लेखापाल २९ वर्षीय बिक्रम राना र उनकी २७ वर्षीया श्रीमती उषा रानाथापा पक्राउ परेका छन् ।

सह लेखापाल रानाले रकम हिनामिना गर्ने कार्यमा मुख्य भूमिका खेलेको र श्रीमतीको समेत त्यसमा मिलेमतो भएको आशंकामा उषालाई अन्य शीर्षकमा पक्राउ गरिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । दाङ जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले पक्राउ परेकाहरुको बयान बुधबारदेखि सुरु भएको र बिहीबारदेखि अन्यको बयान सुरु भएको जानकारी दिए ।

बयान सकिनासाथ थुनछेक बहस सुरु हुने अदालतका श्रेस्तेदार समेत रहेका गिरीले जानकारी दिए । सहकारी संस्थामा आबद्ध राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनालाई प्रहरीले फरारको सूचीमा राखेको छ । सुवेदी सहकारीका लेखा सुपरिवेक्षण समितिमा आबद्ध छन् । संस्था स्थापनाका क्रममा २०७१ सालदेखि सुवेदी सुपरिवेक्षण समितिमा रहँदै आएको भएपनि केही बर्ष पहिले मात्रै चारवटा सहकारी मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो ।

संस्थापकको नाताले नाम रहे पनि पछिल्लो समय अध्यक्ष सुवेदीको सहकारीका गतिविधिमा प्रत्यक्षरूपमा संलग्नता नदिएको अनुसन्धान अधिकारीहरुले जनाएका छन् । फरारहरूको हकमा अदालतले छिट्टै पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ । अदालतबाट पक्राउ पूर्जी जारी भएपछि प्रतिवादीहरु आफै हाजिर हुन नआए प्रहरीले पक्राउ गरेर ल्याउने छ ।

 गाउँपालिकाका अध्यक्ष सुवेदीले संस्थापकको नाताले आबद्धता रहेपनि पछिल्लो समय आफु सहकारीको गतिविधिमा सक्रिय नरहेको बताए । लेखापाल लगायतका केही कर्मचारीहरुको मिलेमतोमा अनियमितता भएको हुँदा सहकारीका पदाधिकारी लगायत सबैलाई विपक्षी बनाई मुद्दा परेको भन्ने कुरा आफुले सुनेको सुवेदीले बताए ।

गाउँ परिषदको बैठकमा सहभागी रहेका अध्यक्ष सुवेदीले  प्रतिक्रिया दिँदै अदालतले बोलाउनासाथ आफु उपस्थित हुने र अनुसन्धानमा सघाउने स्पष्ट पारे । बदमासी जसले गरेको भएपनि संस्थापकको नाताले म उपस्थित भएर दोषीलाई कानुनी कठघरामा उभ्याउन सघाउने छु,’ सुवेदीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप