शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक चलखेल र आर्थिक संकटले ग्रस्त बन्यो धरानको वीपी अस्पताल

किन भइरहेको छ आन्दोलन ?
बिहीबार, १७ असार २०७८, १२ : ४३
बिहीबार, १७ असार २०७८

धरानको प्रतिष्ठाका रुपमा चिनिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान समय–समयमा हुने आन्दोलनका कारण अस्त व्यस्त बन्न थालेको छ । निरन्तरको आन्दोलनका कारण प्रतिष्ठानको दैनिक प्रशासनिक एवं उपचार सेवासमेत प्रभावित हुँदै आएको छ । जसका कारण प्रतिष्ठानको आन्तरिक आम्दानी खुम्चिँदै जाँदा प्रतिष्ठान धरासायी बन्न थालेको छ ।

निरन्तरको आन्दोलनका कारण नै बिरामीको उपचार सेवा प्रभावित बनेको छ । पछिल्लो दुई सातादेखि प्रतिष्ठानका चिकित्सक, नर्स र विद्यार्थीहरु आन्दोलनमा छन् । तर पनि उनीहरुको मागलाई सम्बोधन गर्नतर्फ सरोकारवाला निकायले खासै चासो देखाएको पाइँदैन ।

प्रतिष्ठान सुधारको माग राख्दै आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रमहरु थप सशक्त बनाउँदै लगेको छ । आन्दोलनकारीहरुले प्रतिष्ठानका पदाधिकारीको बहिर्गमनको मागसमेत उठाएका छन् ।

प्रतिष्ठानमा भइरहेको आर्थिक अनियमितता विरुद्ध बोल्ने चिकित्सकलाई उपकुलपति गिरीले प्रष्टीकरण सोधेपछि दुई सातादेखि वीपी प्रतिष्ठानका कर्मचारी र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिष्ठानका पदाधिकारीको बहिर्गमन सहितको मुद्दालाई अघि सारेको आन्दोलनरत पक्षले सरकारले गठन गर्ने अधिकारसम्पन्न आयोगसँग मात्रै वार्ता गर्ने अडान लिएको छ । जसका कारण तत्कालै आन्दोलन मथ्थर हुने अवस्था देखिँदैन ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरे पनि उनीहरुले अस्वीकार गरेका छन् । उपकुलपति गिरीले विज्ञप्ति जारी गरेर आन्दोलनरत पक्षसँग वार्ताका लागि आह्वान गरेका थिए । तर, आन्दोलनरत पक्षले प्रतिष्ठानका पदाधिकारीसँगको वार्ताको औचित्य समाप्त भएको बताएको छ ।

 

उपकुलपति गिरी काठमाडौं लामो समय बसेर सोमबार साँझ मात्रै धरान आएका थिए । प्रतिष्ठानमा आएपछि उनले वार्ताका लागि आन्दोलनकारीलाई बोलाएका थिए । तर, मंगलबार गिरीसहितका पदाधिकारीलाई आन्दोलनकारीले कार्यकक्षमै थुनेका थिए । आन्दोलनकारीले उपकुलपति गिरीले मादक पदार्थ सेवन गरेको आरोपसमेत लगाएका थिए ।

आन्दोलनरत पक्षले बुधबार उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मी, रेक्टर प्राडा गुरु खनाल र मेडिकल डाइरेक्टर प्राडा गौरीशंकर साहको कार्यकक्षमा तालाबन्दी गरेका छन् । योसँगै उनीहरुले चारैजना पदाधिकारीको बहिर्गमनलाई वार्ताको न्यूनतम शर्त बनाएका छन् ।

आन्दोलनरत पक्षले  आफ्ना माग पूरा गर्न एक साताको अल्टिमेटम दिएका छन् । यदि सो समयभित्र सरकारले अधिकारसम्पन्न आयोग बनाएर वार्ताको वातावरण नबनाए आगामी जेठ २३ गते सामुहिक राजीनामा दिने उनीहरुले बताएका छन् ।

किन भइरहेको छ आन्दोलन ?

प्रतिष्ठानको सुधारको माग राख्दै चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सहरु निरन्तर आन्दोलनमा छन् । उनीहरुले तीन दिनदेखि रिले अनशन पनि थालेका छन् ।

प्रतिष्ठानमा अबदेखि पदाधिकारीहरु नियुक्त गर्दा विभिन्न आयोगले निर्धारण गरेका मापदण्डहरु पालना गरेर पारदर्शी रुपमा छनोट गर्नुपर्ने माग आन्दोलनकारीहरूको छ । देशकै अग्रणी संस्थाका रुपमा रहेको प्रतिष्ठानलाई आर्थिक अनियमितता गरी धरासायी बनाउन पदाधिकारीहरूको मुख्य हात रहेकाले छानविन समिति गठन गरी कारवाही गर्नुपर्ने आन्दोलनकारीको मुख्य माग छ ।

माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने र पदाधिकारीसँग कुनै वार्ता पनि नहुने प्रतिष्ठानको संघर्ष समितिका अध्यक्ष डा. सूर्यप्रसाद रिमालले बताए । प्रतिष्ठानमा विभिन्न समस्या रहेकाले त्यसको निकास गर्न प्रतिष्ठानका पदाधिकारीबाट सम्भव नदेखिएकाले अबको वार्ता अधिकारसम्पन्न आयोगसँग गर्ने रिमालले बताए ।

यदि आफ्ना मागलाई सम्बोधन नगरिएको खण्डमा प्रतिष्ठानमा कार्यरत १८ सय कर्मचारी ६ सय शिक्षक–प्राध्यापक र ३ सय चिकित्सकले सामुहिक राजीनामा दिने उनले दाबी गरे ।

राजनीतिक चलखेल

तत्कालीन स्वास्थ्यमन्त्री एवं एमाले नेता भानुभक्त ढकालले मोरङमा ०७४ को चुनावमा आफूलाई सघाए वापत उपहारस्वरुप डा. गिरीलाई आफू स्वास्थ्यमन्त्री भएको समयमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको आन्दोलनकारीहरूको आरोप छ । गिरी दुई वर्षअघि प्रतिष्ठानमा उपकुलपछि बनेर आएका हुन् ।

तत्कालीन समयमा उपकुलपतिमा प्रतिष्ठानका प्राडा सञ्जिवकुमार शर्मा, प्राडा गुरु खनाल र गिरीको नाम सिफारिस भएको थियो । प्राडा खनाल प्रतिष्ठानका शिक्षाध्यक्ष समेत हुन् । तर, मन्त्री ढकालसँगको घनिष्टताका कारण गिरीले बाजी मारेका थिए ।

 

विराटनगरस्थित  बिराट नर्सिङ होममा हाडजोर्नी रोग विशेषज्ञका रुपमा कार्यरत डा. गिरी २०७६ चैत २७ गते प्रतिष्ठानको उपकुलपति नियुक्त भएका थिए । वीपी प्रतिष्ठानको सहकुलपतिसमेत रहेका तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री  ढकालको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीलाई उपकुलपति नियुक्त गरेका थिए । त्यहीबेलामा पनि कार्कीको नियुक्तिलाई लिएर विरोध भएको थियो ।

मोरङमा क्षेत्र नम्बर ३ मा नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मासँग चुनावी प्रतिस्पर्धा गरेका तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई निर्वाचनका बेला डा. गिरीले खुलेरै सहयोग गरेका थिए । सार्वजनिक मञ्चमै शर्माविरुद्ध भाषण गरेका गिरीलाई उपकुलपति बनाएर स्वास्थ्य मन्त्री ढकालले ऋण तिरेको आरोप लाग्दै आएको छ ।

डा. गिरी उपकुलपतिमा नियुक्त भएपछि नेकपाका स्थानीय नेताले समेत असन्तुष्टि जनाएका थिए । २०७६ साल माघ २३ गते तत्कालीन नेकपा धरान नगर कमिटीले स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाललाई लेखेको पत्र नै लेखेको थियो ।

तत्कालीन नगर कमिटी अध्यक्ष नारायण सुवेदी र सचिव सुदर्शन श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको थियो, ‘लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टीको राजनीतिमा संलग्न भएकाले गुरु खनाललाई उपकुलपतिमा नियुक्त गर्न नेपाल कम्युनिस्ट पार्टी धरान उप महानगर कमिटी सिफारिस गर्दछ ।’

पत्रमा प्रतिष्ठानमा कार्यरत पार्टी सम्वद्ध प्रोफेसरहरू मध्येबाट र रजिस्ट्रारमा उपयुक्त प्रशासक नियुक्त गर्नसमेत अनुरोध गरिएको थियो । नगर कमिटीले उपकुलपतिमा खनाललाई नियुक्त गर्न सिफारिस गरे पनि तत्कालीन स्वास्थ्यमन्त्री ढकालले भने गिरीलाई रोजे । रजिस्ट्रारमा डा. मोहनचन्द्र रेग्मी नियुक्त भए । अस्पताल उपनिर्देशक रहेका खनाल भने शिक्षाध्यक्ष बने ।

यसरी धरानको स्थानीय पार्टीको इच्छाविपरीत प्रतिष्ठानमा पदाधिकारी नियुक्त भएपछि सत्तासीन पार्टी एमाले नै उपकुलपति र रजिस्ट्रारसँग सहिष्णु हुन सकेन । र, उपकुलपतिमा डा. गिरी आएको दिनदेखि नै विरोध सुरु भयो ।

राजनीतिक दलहरूले वीपी प्रतिष्ठानमा नचाहिँदो हस्तक्षेप भएको स्थानीय नागरिक दबाव सञ्जालका संयोजक राजेन्द्र शर्मा बताउँछन् । उनी भन्छन्, ‘आजमात्रै होइन, विगतदेखि नै बीपी प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप थियो । राजनीति दल, व्यापारी र प्रतिष्ठानका पदाधिकारीका आफ्ना–आफ्ना स्वार्थले प्रतिष्ठान लथालिङ्ग अवस्थामा पुगेको छ ।’

राजनीतिक दलहरूले नै पदाधिकारीलाई संरक्षण गर्दा अस्पतालको समस्या थप जटिल बनेको र पदाधिकारीहरू आर्थिक उपार्जनमा लागेको शर्माले आरोप लगाए । उनले अगाडि भने, ‘तलदेखि माथिसम्म राजनीतिक दलका नेता र कार्यकर्ताको स्वार्थ छ । यही कारणले प्रतिष्ठानको साख गुम्दै गइरहेको छ ।’

प्रतिष्ठानका पदाधिकारीमध्ये उपकुलपति ज्ञानेन्द्र गिरीलाई नेकपा एमाले संस्थापन पक्षले सहयोग गरिरहेको छ भने शिक्षाध्यक्ष गुरु खनाललाई एमालेको माधव नेपाल पक्ष र माओवादी केन्द्रको समेत साथ छ । रजिस्ट्रार मोहनचन्द्र रेग्मीलाई नेकपाको एउटा समूह र नेपाली कांग्रेसको एउटा समूहले बोकेको छ । अस्पताल निर्देशक गौरीशंकर साहलाई कांग्रेसको अर्कै समूहले सहयोग गरिरहेको प्रतिष्ठानका कर्मचारीहरु बताउँछन् ।

प्रतिष्ठानमा कार्यरत उच्च पदस्थ अधिकारीका बीचमै मिलाप छैन । उनीहरुका बीचमा बोलचाल बन्दको अवस्था छ । आर्थिक कुरालाई लिएर एकले अर्कासँग प्रतिस्पर्धा गर्दा प्रतिष्ठान जर्जर हुँदै गएको प्रतिष्ठानलाई नजिकबाट जान्नेहरू बताउँछन् ।

अहिले राजनीतिक चलखेलसँगै आर्थिक चलखेलका कुराहरु पनि उठिरहेका छन् । लामो समय प्रतिष्ठानमा स्त्री तथा प्रसूति विभागका प्रमुख रहेका डा. मोहनचन्द्र रेग्मीसँग पैसा लिएर रजिस्ट्रारमा नियुक्त गरिएको आरोप सत्तापक्षमाथि लागेको छ ।

आर्थिक संकटतर्फ उन्मुख

पूर्वी नेपालको स्वास्थ्य र शिक्षाको अग्रणी संस्था प्रतिष्ठान आर्थिकरूपमा कमजोर बन्दै गएको छ । प्रतिष्ठान अहिले करिब ९० करोड घाटा व्यहोर्दै आर्थिक सङ्कटमा चलिरहेको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. मोहन चन्द्र रेग्मी भन्छन् ‘यो डेढ बर्षमा प्रतिष्ठान आर्थिकरूपमा कमजोर बन्दै गएको छ । यो अवधिमा मात्र हामी ८९÷९० करोड घाटामा छौँ ।’ ०५८ देखिको बेरुजु एक अर्ब १० करोडभन्दा माथि पुगेको छ ।

रेग्मीकै भनाइमा प्रतिष्ठानको ढुकुटी रित्तो भएको छ । व्यवस्थापन लथालिङ्ग हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रभित्रै जर्जर बनेको उनले बताए  । उनका अनुसार ०७७ सम्म प्रतिष्ठानको सञ्चित घाटा सात अर्ब पुगेको थियो । जबकि विभिन्न परीक्षण, उपचार, बेड भर्ना, शल्यक्रिया लगायत गरी प्रतिष्ठानको दैनिक आम्दानी झन्डै एक करोड रहेको अनुमान छ ।

अस्पतालमा ओपिडी शुल्क ११० रुपैयाँ छ । लकडाउन बाहेकको अवस्थामा प्रतिष्ठानमा दैनिक तीन हजारभन्दा धेरै बिरामी आउने गरेका छन् । बिरामीको चाप सधैँ बढ्दो छ, तैपनि प्रतिष्ठान निरन्तर घाटामा छ ।

४५० बिघा क्षेत्रफलमा फैलिएको प्रतिष्ठानमा नेपाल र भारत सरकारको लगानीमा बनेको हो । प्रतिष्ठानले खरिद गरेका कतिपय स्वास्थ्य उपकरण प्रयोग नै नगरी थन्क्याइएका छन् । सामान्य मर्मत गरेर चलाउन सकिने दर्जनौँ उपकरण महिनौं बित्दा पनि व्यवस्थापनले बनाउन चासो देखाएको छैन । जसका कारण सेवाग्राहीहरू महत्वपूर्ण सेवा पाउनबाट वञ्चित भइरहेका छन् ।

स्वास्थ्य विज्ञान पढाइ हुने दक्षिण एसियामै प्रतिष्ठा कमाएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको उपचारमा मात्रै नभएर शिक्षण क्षेत्रमा पनि समस्या भएको छ । पदाधिकारीका कारण सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि एक वर्षदेखि प्रतिष्ठानमा प्रोफेसर नियुक्त हुन सकेको छैन । आन्तरिक बढुवा पनि रोकिएको छ ।

 

​प्रतिष्ठानका रेक्टर गुरु खनाल नियमावली संशोधन भएकाले प्रोफेसर नियुक्तिमा समस्या भएको बताउँछन् । उनका अनुसार अहिले प्रतिष्ठान आफैंले प्रोफेसर नियुक्ति गर्न नपाउने र लोकसेवाले नियुक्ति गर्ने भएकाले समस्या भएको छ । कोरोनाका कारण समेत प्रभाव परेको उनको तर्क छ ।
 
१४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत प्रतिष्ठानमा यस वर्ष पीजी लेभलको पढाइमा प्रभाव परेको गुरु खनाल स्वीकार गर्छन् ।

दैनिक ७ सय ५० जना बिरामी भर्ना हुने र २ हजार ५ सयले ओपिडी सेवा लिने प्रतिष्ठान प्रदेश १ को मात्रै नभएर प्रदेश २ का बिरामीका लागि पनि उपचारको गर्ने मुख्य थलो हो । यसबाहेक प्रतिष्ठानमा नेपाल बाहिर भारत र भुटानबाट समेत उपचारका लागि बिरामी आउँछन् ।

प्रतिष्ठान धरासायी बन्यो भने यसले धरान शहरको चहल–पहलमा समेत  प्रतिकुल प्रभाव पार्न सक्ने भन्दै स्थानीयमा चिन्ता छाएको छ । राजनीतिक आस्था र पहुँचका आधारमा प्रतिष्ठानमा पदाधिकारीको नियुक्ति गरिएकै कारण प्रतिष्ठान धराशायी बन्दै गएको नागरिक दबाव सञ्जालका अध्यक्ष डा. शर्मा बताउँछन् ।

समयानुकुल नयाँ–नयाँ योजना र प्रविधि भित्र्याउनुपर्ने अस्पताल प्रशासन, व्यवस्थापन र सञ्चालनको नेतृत्व गरेकाहरूबीच नै समन्वय नहुँदा प्रतिष्ठान ओरालो लागिरहेको उनको ठम्याइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप