शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रेडियो नेपालले नपत्याएको व्यक्ति म

शनिबार, १९ भदौ २०७८, १५ : १८
शनिबार, १९ भदौ २०७८

आलोक श्री नेपाली साङ्गीतिक क्षेत्रमा भर्सटायल र प्रसिद्ध सङ्गीतकार हुन् । राष्ट्रिय, आधुनिक होस् वा फिल्मका उनका सबै गीत हिट छन् । त्यसैले पनि सङ्गीतक क्षेत्रमा आलोकले छोए भने गीत हिट हुने मान्यता छ । नेपालका प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, रामकृष्ण ढकाल, यम बरालदेखि भारतीय गजलसम्राट जगजित सिंह, उदित नारायण झालगायत थुप्रै सिद्धहस्त सङ्गीतज्ञले समेत उनको सङ्गीतमा गीत गाएका छन् । करिब १३ सयभन्दा बढी गीत रेकर्ड गराएका उनको २०५४ सालमा रेकर्ड भएको राष्ट्रिय गीत ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ अहिले पनि बूढादेखि बालकसम्मले गुनगुनाउने गीतमा पर्छ । जीवनका ३३ वसन्त सङ्गीतमा बिताएका सङ्गीतकार आलोक श्रीको जीवनका विभिन्न पाटो रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

मासु मीठो पकाउँछु

खानामा टिपिकल्ली नेपाली शुद्ध दाल, भात र तरकारी नै मन पर्छ । त्यसमा गोलभेँडाको अचार, गुन्द्रुकको चटनी मनपर्छ । पहिले धेरै रेस्टुरेन्ट जान्थेँ, अहिले कम जान्छु । रेस्टुरेन्टको चिकेन सिजलर बढी मनपर्छ ।

माछामासु सामान्य खान्छु । मन नपर्ने खानेकुरा सिफुड हो । यसको गन्ध नै मन पर्दैन । मलाई पकाउन निकै रुचि छ । म मासुका हरेक प्रकारको परिकार मीठो बनाउन सक्छु । 

योग गर्छु 

हरेक तवरबाट आफूलाई फिट राख्ने कोसिस गरिरहेको छु । दैनिक बिहान नियमित योग र धेरै पटक पुसअप गर्छु । समय मिल्यो भने बिहान हिँड्छु ।

अन्य एक्सरसाइज समेत केही गर्छु । एक्सरसाइजका लागि घरमा डम्बेल पनि छ ।

सिम्पल पोसाक

सिम्पल पोसाकमा बढी हिँड्छु । सटपाइन्ट र  समरकोट मनपर्छ । घरमा रहेको समय सट, पाइन्ट, टिसर्ट, ट्राउजर प्रयोग गर्छु । विशेष कार्यक्रम, फर्मल कार्यक्रममा सर्ट, पाइन्ट, कोट प्रयोग गर्छु ।

पहिले स्काई ब्लु सर्ट बढी मनपर्थ्यो । अहिले सेतो, क्रिम र आँखा नबिझाउने कलरको पहिरन मनपर्छ । पहिले सिलाएर लगाउँथे । १२, १५ वर्षयता रेडिमेड प्रयोग गर्दै आएको छु । ब्रान्डेड पहिरनमा विश्वास लाग्दैन । 

अध्ययनशील छु

म आफूलाई अध्ययनशील सङ्गीतकारका रूपमा मान्छु । पहिले पहिले धेरै पुस्तक पढ्थेँ । अहिले भने केही कम भएको छ । सङ्गीत, साहित्यसम्बन्धी पुस्तकहरू पढ्छु । विशेष गरेर मेरो नेपाली साहित्यका पुस्तकमा रुचि छ ।

नेपाली साहित्यमा अहिलेका पुस्ताले पनि राम्रा किताब ल्याएका छन् । पुराना पुस्ताका भन्दा नयाँ पुस्ताका स्तम्भकार, बुक राइटर चुस्त हुनुहुन्छ । त्यसैले अहिलेका पुस्ताका किताब बढी पढ्ने गर्छु । पछिल्लो समय पढेको पुस्तक ‘रणहार’ हो । त्यसपछि पनि एक पुस्तक किनेको छु । पढ्न भ्याएको छैन ।

भलिबल खेल्थेँ

खेलकुद रुचि छैन । तर मनपर्छ । विद्यार्थी जीवनमा भलिबल, फुटबलहरू खेल्थेँ । जिल्ला स्तर, गाउँस्तर लगायत केही प्रतियोगितामा भाग लिन्थे । पुरस्कार जित्नतर्फ कहिल्यै लागिनँ । 

अहिले फुटबल, गल्फ मनपर्छ । गल्फ हरियो चौर र प्राकृतिक सौन्दर्यले भरिएको वातावरणमा शान्त तरिकाले खेल्ने भएकाले मन परेको हो ।

नम्बर फेरिनँ

मोबाइल अहिले मेरो जीवनको अति आवश्यक साधनमा पनि हो । विसं २०५२÷०५३ मा जतिबेला नेपालमा मोबाइल भित्रियो, त्यो समयदेखि अहिलेसम्म पनि एउटै नम्बर बोक्दैछु । समयअनुसार सेट फेरिएका छन् । तर नम्बर उही छ ।

अहिले मसँग सामसुङ ग्यालेक्सी एच९एच प्लस मोबाइल छ । यो बोक्न थालेको करिब ५ वर्ष भयो । समाचार पढ्न, गुगलमा विभिन्न आवश्यक विषयवस्तुको खोज गर्न, फोन गर्न, भाइबर, युट्युबलगायत सामाजिक सञ्जाल चलाउने, तस्बिर खिच्ने, हरेक प्रयोजनका लागि मोबाइल प्रयोग गर्छु । मोबाइल नभए केही हुँदैन जस्तो लाग्छ ।

खराब बानी थियो  

पहिले मानिसहरूलाई छिट्टै विश्वास गर्थेँ । अन्तरङ्ग खोलिहाल्थे, घुलमिल हुने बानी थियो । मानिसका अगाडि सरल देखिए पनि छिटो रिसाउने बानी थियो । त्यो खराब बानी जस्तो लाग्थ्यो । अहिले सबै हटाए उमेरको परिपक्वताले होला रिस उठ्दैन । अहिले सबै खराब बानी हट्यो ।

फिल्म हेर्छु

नेपाली, हिन्दी, अङ्ग्रेजीलगायत सबै प्रकारका चलचित्र हेर्छु, मनपर्छ । विशेष गरेर नेपाली चलचित्र हलमै गएर हेर्छु ।

सामाजिक विषयवस्तुमा बनेका र समाजले पचाउने खालको फिल्म राम्रो लाग्छ । त्यो फिल्मले मन छुनुपर्यो । त्यसको कथा आफ्नो जस्तो लाग्नुपर्यो ।

प्रेम विवाह

विसं २०४९ सालमा मैले प्रेम विवाह गरेको हो । पहिले उनीसँग प्रेम बस्यो, त्यसपछि पारिवारिक समहतीमा मागेर विवाह गरेँ ।

उनी ब्लुवर्ड सुपर मार्केटमा काम गर्थिन् । म सपिङका लागि त्यहाँ जान्थँे । उनी मेरो अङ्कलको साथीको भान्जी पनि हुन् । पहिलो भेटमा चिनजान भयो । भेट बाक्लिँदै जाँदा प्रेम बस्यो । पारिवारिक सहमतीमा विवाह गर्यौँ ।

सङ्गीत एकेडेमी

मेरै नामबाट एउटा सङ्गीत एकेडेमी बनाउने सोच छ; जहाँ विद्यार्थी गएर सिक्न सकुन् । नेपाली सङ्गीतको रिसर्च गरौँ, नेपाली सङ्गीतको म्युजियम बनाऔँ भन्ने लागेको हो ।

गीत सङ्गीतका धेरै मानिस वृद्ध अवस्थामा गुमनाम रहन्छन् । उनीहरूको जीवन सहयोगी हुने केही गर्न मन लागेको छ । सङ्गीतको विषयमा एक किताबसमेत लेख्दैछु ।

सङ्गीतले दियो सबथोक

सानैदेखि सङ्गीतप्रति रुचि थियो । स्कुल पढ्दा कविता, वादविवाद, गीत गायन लगायतका कार्यक्रममा भाग लिन्थेँ । लोकगीतहरू खोज गरेर समेत गाउँथे । काठमाडौँ छिरेर कलेज पढ्न थालेदेखि म सङ्गीतमै ढल्किएँ । विसं २०४६ देखि म विधिवत रूपमा नेपाली सङ्गीतमा होमिएँ । यही वर्ष मेरो पहिलो गीत रेकर्ड भएको थियो ।

‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ गीतको सङ्गीत मैले २०५२ सालमा गरेको थिएँ । त्यो समय म २२ वर्षको थिएँ । त्यो गीतपछि आजको दिनसम्म मैले फर्किएर हेर्नुपरेको छैन । म सानै उमेरको भए पनि मेरो सङ्गीतमा गाउन चलेका, वरिष्ठदेखि कनिस्टसम्मका गायक गायिका लालायित भए, पछि लागे । यो मामलामा म भाग्यमानी मान्दछु ।

त्यसपछि रामकृष्ण ढकाल, यम बराल, शर्मिला वर्देवा, प्रेमध्वज प्रधान, दीप श्रेष्ठदेखि हरेक नेपाली कलाकार र भारतका गजलसम्राट जगजित सिंह, उदित नारायण झा, सान, भारतका सिद्धहस्त सङ्गीतज्ञसँग सहकार्य गर्दै काम गर्दै आएँ ।

नेपालका ७० प्रतिशत कलाकारसँग काम गरिसकेको छु । फिल्म, आधुनिकलगायत सबै प्रकारका गरेर करिब १३ सयभन्दा बढी गीत रेकर्ड भएका छन् । अहिले मेरो एउटा महत्त्वकाङ्क्षी प्रोजेट आउँदैछ । जसले नेपाल पूरै चिनाउने विश्वास मेरो छ । त्यो प्रोजेटपछि एक पटक फेरि सङ्गीतमा मेरो खोजी हुनेछ । गीत सङ्गीतमा काम गरेको अहिले ३३ वर्ष भयो । ३६ वर्षको उमेरमा सङ्गीत तथा नाट्य  एकेडेमी प्राज्ञ पनि भएको थिएँ । प्रेमध्वज प्रधानको अन्तिम गीत मैले रेकर्ड गराएको थिएँ ।

​सङ्गीतमा नलागेको भए म एउटा शिक्षक वा व्यवसायी हुन्थेँ कि । सङ्गीतमा लागेर मैले सबै कुरो पाएँ । पहिले सङ्गीतकार चिन्ने भन्ने हँुदैन थियो । अहिले आलोक श्री एउटा ब्रान्ड नेम भएको छ । सङ्गीतका कारणले मैले जहाँ पनि सजिलै एक्सेस पाउँछु । सङ्गीतले मलाई के दिएको छैन र ! हरेक क्षेत्रमा सङ्गीतका कारणले प्राथमिकता पाउँछु । मलाई सङ्गीतले नदिएका केही छैन । सङ्गीत मेरो पूजा र आराधना पनि हो । १३ वटा फिल्ममा समेत सङ्गीत दिएको छु ।

रेडियोले पत्याएन 

एक समय सङ्गीतमा दुःख धेरै गरियो । रेडियो नेपालको गेटबाट रिजेक्ट गरेका घटना पनि धेरै छन् । हेपेर बाहिर निकालिएको, आफ्नो डेटमा अरूले रेकर्ड गरेको अवस्था छन् । म १७, १८ वर्षको थिए । रेडियो नेपाल ६ महिनामा एकपटक डेट पाइन्थ्यो । त्यो डेट मिलेपछि गायक खोजेर गीत रेकर्डका लागि सबै व्यवस्था गर्यो । मेरो डेट आउँथ्यो । मलाई नपत्याएर भनसुनमा अर्कोले गीत रेकर्ड गथ्र्यो । मलाई सम्झाएर पठाइन्थ्यो । म धेरै पटक रेडियो नेपालबाट निराश भएर फर्किएको छु । त्यस्ता धेरै सङ्घर्ष छन्; जसले आज मलाई सङ्गीतकार आलोक श्री बनायो ।

गीत सुन्छु

गीतसङ्गीत सुन्छु । छिटै सुनेरर छिटै बिर्सन गीतसङ्गीत भन्दा पनि गम्भीर प्रकृतिको गीतसङ्गीत मनपर्छ । अर्थ गहिरो भएका हिन्दी, नेपाली गीतलगायत सबै प्रकारका गीत सुन्छु ।

भूल धेरै भए

जीवनमा भूल धेरै भए । कतिको मन दुखाइयो होला, कतिको चित्त बुझाउन सकिनँ होला । धेरै भूल गर्ने मानिसमध्येमा म पनि पर्छु होला ।

अब भने भूल गर्छु जस्तो लाग्दैन । अहिले एउटा सानो कुरो गर्नुपर्यो भने पनि धेरै सोचेर गर्छु । अहिले भूल नहोस्, मेरो कारणले कसैलाई चोट नपरोस् भनेर सचेत छु ।

मापसे छोएकै छैन 

मापसे अहिलेसम्म मेरो मुखमा परेको छैन । त्यसैले त्यसको टेस्ट कस्तो हुन्छ थाहा भएन ।

 प्रेसर छ 

भगवानको कृपाले अहिलेसम्म फिट एन्ड फाइन छु । केही समययता ब्लड प्रेसरको समस्या छ । त्योबाहेक कुनै पनि रोग छैनन् । प्रेसरको नियमित औषधि खाइरहेको छु ।

विश्वासै छैन

मेरो राशि ‘धनु’ हो । ग्रहदशामा विश्वास लाग्दैन । हेराउन जुराउने केही गर्दिनँ । पहिले पहिले रत्नपार्कमा सुगालाई चिठ्ठी झिक्न लगाएर हात पनि हेराएर बस्थेँ कलेज पढ्दा । पछिल्लो समय ज्योतिषी कहाँ जाने, हात हेराउने, ग्रह दशाको पछि लाग्ने कहिल्यै गरिनँ । 

मृत्यु डर धेरै

मृत्यु जीवनको अकाट्य सत्य हो । यो स्विकार्नै पर्छ । मृत्युको सामना नगरेका कारणले डर एकदमै लाग्छ । कसरी र कहिले मृत्यु हुन्छ भन्न सकिन्नँ । एक दिन मृत्यु अवश्य नै हुन्छ । मृत्युको अन्तिम क्षणसम्म पनि मेरो सङ्गीतै बितोस् भन्ने चाहना हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप