मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
सन्दर्भ : विश्व रेबिज दिवस (२८ सेप्टेम्बर)

यस्ता भुल नगरौँ, नत्र रेबिज लाग्ला है !

आइतबार, १० असोज २०७८, १० : ४६
आइतबार, १० असोज २०७८

विश्व रेबिज दिवस मनाउँदै गर्दा अरु देशले जस्तै नेपालले पनि सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिजको कारणले हुने मृत्युको संख्यालाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ ।

वर्षौं अगाडि नेपालमा खोप सहज उपलब्ध थिएन र भएको खोपको (नाइटो वरिपरि दिने खोप) पनि नकारात्मक प्रभाव अत्यधिक हुने गर्दथ्यो । तसर्थ रेबिज रोगको कारणले बर्सेनि धेरैको ज्यान गएको हुनसक्ने अनुमान गर्न सकिन्छ । यद्यपि यकिन तथ्याङ्कको खडेरी भने अहिलेसम्म पनि देखिन्छ ।

हाल परिस्थिति बदलिएको छ । लगभग सबै ठाउँमा (सरकारी तथा निजी अस्पताल, औषधि पसल) रेबिज बिरुद्धको खोप उपलब्ध छन् । तर चिन्ताको कुरा के छ भने रेबिज खोपको सहज उपलब्धता भएता पनि बर्सेनि रेबिज मृत्युदर घट्नु पर्नेमा झन् बढेको तथ्याङ्क देखिन्छ ।

लेखकको बुझाइमा रेबिज प्रति हालको सोचमा परिवर्तन नगरिए रेबिज रोगले निरन्तरता पाउने छ अर्थात् सन् २०३० सम्ममा रेबिज उन्मुलन गर्ने नेपालको प्रतिवद्धतामाथि नै प्रश्नवाचक चिन्ह खडा हुनेछ । रेबिज रोगप्रति नागरिकहरुको धारणा देश वा ठाउँ अनुसार फरक–फरक हुने गरेको पाइन्छ । नेपालमा शहरी इलाका भन्दा गाउँघरमा बढी रेबिजको बिरामी देखिने गरेका छन् अर्थात् शहरमा भन्दा गाउँमा यो रोगप्रति बढी बेवास्ता÷हल्का रुपमा लिने गरेको बुझिन्छ । यद्यपि लेखकसँगको कुराकानीमा स्वयम् रेबिज रोगीहरूले आफुलाई खोपको बारेमा सुनेको÷जानकारी भएको भन्ने गरेका थिए । त्यसो भए सुन्दा सामान्य लाग्ने तर गहकिलो प्रश्न अगाडि आउँछ– बर्सेनि दर्जनौँको ज्यान रेबिजको कारणले किन जाँदैछ ?’

यही प्रश्नको उत्तर खोज्ने क्रममा लेखकले वर्षौँ लगाएर रेबिज रोगीहरुसँग स्वयम् कुराकानी गर्दै सुक्ष्म तरिकाले बुझ्ने प्रयास गरेको थियो । खोप सर्वसुलभ भएमात्र हुँदैन । कुनै पनि कारणले आवश्यकता अनुसार खोप नलगाए/लगाउन नपाए मृत्युवरण अनिवार्य जस्तै हो । निम्न लिखित भुल ज्ञान वा अज्ञान बस् गर्दा नेपालमा विशेषतः गाउँघरतिर बर्सेनि दर्जनौं मानिस रेबिजको कारणले मृत्युको मुखमा पुगिरहेका छन् ।

१. गाउँघरमा जनावरले टोके उपचार वा परामर्शका लागि पुग्ने ठाउँ भनेको स्थानीय औषधि पसल नै हो । तर खोप लगाउने/नलगाउने वा लगाउने तरिकामा स्पष्ट नहुँदा वा गलत परामर्श वा अल्पज्ञानका कारण धेरैले मृत्युवरण गरिरहेका छन् । केहि वर्ष अगाडि लेखकसँग एक रेबिज रोगीले आफ्नो गाउँमा बहुला कुकुरले टोकेको तीन दिन काटिसकेकाले खोप नलगाउन सल्लाह दिएको बताएका थिए । लेखकसँग साक्षात्कार भएको ३ दिनमा उसको मृत्यु भयो । तसर्थ गाउँघरतिर औषधि पसल खोल्दा नै सञ्चालकलाई रेबिज सम्बन्धी तालिम दिन सके रेबिज सम्बन्धी यस्ता घटना हुने थिएन । सञ्चार÷सूचना प्रविधि विकासले गर्दा (विशेषतः औषधि पसल चलाउनेले) रेबिज खोपबारे अनभिज्ञ वा अलमल भए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न सके बिरामीले सही र छिटो उपचार पाउने थियो ।

२. जनावरले टोकेपछि घाइतेले पहिला आफ्ना परिवारका सदस्यसँग सल्लाह लिने गर्दछन् । तर उनीहरुले खोप लगाउन दिएको सल्लाहलाई पनि बेवास्ता गर्ने गरेको र पछि रेबिज भएका देखिएका पनि छन् । खासगरी सानो कुकुरले टोकेमा रेबिज नहुने, सानो घाउ एकदुई दिनमा निको हुँदा खोप लगाउनु पर्दैन भन्ने भ्रममा रहँदा रेबिज लागेको देखिन्छ ।

३. तर कतिपयले भने विशेषतः बालबालिकाले आफ्नो अभिभावकलाई टोकेको घटना भन्न डर मान्दा तथा ज्येष्ठ नागरिकले आफ्नो परिवारसँग सल्लाह नलिँदा पनि खोप लगाउन चुकेर रेबिज लागेका देखिएका पनि छन् ।

४. गाउँघरतिर कतिपय कुकुर घरमा खाने र बस्ने त गर्दछन् तर दिउँसो कहाँ जान्छन् भन्ने धेरैलाई थाहा हुँदैन वा याद गरिँदैन । कहिलेकाहीँ कुकुर केही दिन हराउने र फर्कने पनि गर्दछन् । कुकुरलाई गाउँघरतिर नियमित रेबिज बिरुद्धको खोप लगाउने पनि गर्दैनन् । त्यस्तो अवस्थामा रेबिज लागेका कुकुर वा कुनै जंगली जनावर (जस्तै स्याल, ब्वाँसो) सँग लडेको अवस्था रहेछ भने कुकुरमा रेबिज संक्रमण हुन सक्दछ । तसर्थ आफ्नै घरको कुकुरले टोकेको त हो, रेबिज हुँदैन भन्ने भ्रममा रहँदा खोप नलगाई रेबिज लागेका कयौँ उदाहरण पंक्तिकारसँग छ ।

५. केही वर्ष अगाडि तराईमा बौलाहा स्यालले झन्डै ५० जनालाई एकैपटक टोकेको थियो । ती व्यक्तिमध्ये केहीका अनुहारमा (नाक, गाला) ठुला घाउ थिए र ती व्यक्तिले ‘रेबिज इमुनोग्लुबोलिन’ को सुई तत्काल लगाउन नपाउँदा वा उपलब्ध नहुँदा मृत्युवरण गर्नु परेको थियो । आजको मितिसम्म पनि ‘रेबिज इमुनोग्लुबोलिन’ सबै ठाउँमा सहज उपलब्ध छैन र लगाउनै पर्ने अवस्थामा राजधानी नै धाउनु पर्ने अवस्था छ ।                                      

यी माथि उल्लेखित अनुभव÷घटनाहरु स्वास्थ्यका किताब वा विदेशी निर्देशिकाहरुमा लेखिएका÷भनिएका भन्दा विल्कुल फरक छन् । तसर्थ, वास्तवमा रेबिज सम्बन्धी निर्देशिका बनाउँदा नेपालमा गरिएको अब्जरभेसनको आधारमा अत्यावाधिक÷विकास गर्दै लैजानु पर्दछ । यस्ता निर्देशिकामा आधारित भएर रेबिजको ‘रेड जोन’ (जहाँ धेरै रेबिज देखिने गर्दछन्) क्षेत्रमा रहेका स्वास्थकर्मीलाई मात्र नभई औषधि पसलका सञ्चालकहरुलाई समेत नियमित तालिमहरुमा समावेश गर्न सके बर्सेनि रेबिजबाट हुने मृत्युलाई अत्यधिक न्यून गर्न सकिने छ । यसले सन् २०३० सम्ममा कुकुरबाट हुने रेबिजको मृत्युलाई शून्यमा झार्ने नेपालको लक्ष्यमा पनि सहयोगी हुनेछ ।

(लेखक डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालका ‘क्लिनिकल रिसर्च युनिट’ संयोजक हुन् । –सं) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप