बाँके राष्ट्रिय निकुञ्ज : आएन बाघ नियन्त्रणमा
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन ।
उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए । मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले राजमार्गभन्दा करिब १५० मिटर उत्तरतर्फ एउटा पाडो बाँधेर राखेको थियो । अहिले ती बाघ गाभर र सौरीबीचकै जङ्गलमा घुमिरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
पाडोलाई बाघले मारेर खाएको निकुञ्जले जनाएको छ । आहाराका लागि पाडो खान आएको बाघलाई लठ्याएर नियन्त्रणमा लिने निकुञ्जले योजना बनाएको थियो । निकुञ्जका रेन्जर राजन पण्डितले नियन्त्रणमा लिन समस्या भइरहेको बताउनुभयो ।
“बाघले पाडो मारेर खाएको छ, बाघमाथि निगरानी बढाएका छौँ”, उनले भने । पाडो मार्न आएका दुई बाघ क्यामेरामा कैद भएका छन् । बाघले थप घटना गर्न सक्ने भएकाले अहिले पनि निकुञ्जका दुई घरपालुवा हात्ती गाभरमै राखिएको छ । यस्तै नेपाली सेना र निकुञ्जका कर्मचारी दैनिकरूपमा खटिएका छन् । ठाउँ–ठाउँमा क्यामेरा जडान गरी हात्तीसहित सेना र कर्मचारी बाघको निगरानी गर्न खटिएका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ अझै त्यस क्षेत्रमा रहेकाले पूर्वपश्चिम राजमार्गमा रातको समयमा साना सवारी साधनलाई आवतजावत गर्न पूर्णरूपमा रोक लगाइएको बताए । निकुञ्जले बाघ नियन्त्रणमा लिन दुई खोर तयारी अवस्थामा राखेको छ । गत आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा ४५ वर्षीय पुरुषको पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो । मान्छेलाई आक्रमण गर्नु अघि पाटेबाघले गाउँमै पसी एउटा गाई र एउटा बाछो मारेका थिए । पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जको उत्तरतर्फ बबई र दक्षिणपूर्वमा राप्ती नदी बगेको छ । निकुञ्जका कतिपय क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र आयोजनाको विवरण पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने