शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्रलाई ‘झट्टी’ हान्दा कमल थापालाई कति फाइदा ?

राधाकृष्ण मैनाली भन्छन्– कमल थापा एमालेमा गए हुन्छ
मङ्गलबार, ०६ पुस २०७८, १९ : २५
मङ्गलबार, ०६ पुस २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन समितिले चुनावको अन्तिम नतिजा सार्वजनिक नगर्दै अध्यक्ष पदका उम्मेदवार बनेका कमल थापाले मंसिर १९ गते पूर्वराजा ज्ञानेन्द्र शाहसँग सार्वजनिकरुपमा आक्रोश पोखे । आफूलाई चुनाव हराउन निर्मल निवास लागेको र त्यसको नतिजास्वरुप राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएको उनको आरोप थियो ।

थापाको यो अभिव्यक्तिले राप्रपाभित्र मात्रै होइन, राजनीतिक वृत्तमै तरंग ल्याइदियो । अहिले पनि थापा आफ्नो अडानमा कायम छन् र यो प्रकरणमा पार्टीले छानबिन हुनुपर्ने माग गर्दै आएका छन् ।

कमल थापाकै शब्द सापटी लिएर भन्नुपर्दा सिंगो मुलुक गणतन्त्रमय भएका बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेका थिए, कमल थापा । कठिन र चुनौतिपूर्ण समयमा राजसंस्था बोकेको भए पनि पार्टी एकताको महाधिवेशनसम्म आइपुग्दा आफूलाई निर्मल निवासले धोका दिएको बुझाइ थापाको थियो ।

कतिपयले निर्मल निवाससँगको सम्बन्धमा दरार आउँदाको नतिजास्वरुप थापाबाट यो अभिव्यक्ति आएको भनेका छन् । यो अभिव्यक्तिले व्यक्तिगत रुपमा थापालाई कति फाइदा होला वा घाटा ? पार्टीको आन्तरिक समीकरणमा कस्तो असर पुग्ला ? थापाको अभिव्यक्तिलाई उनी पक्षकै नेताले कसरी लिएका होलान् ? प्रश्न सतहमा रहेको छ ।

यी प्रश्नको जवाफ खोज्नुअघि थापाको पूर्वराजालक्षित ३ अभिव्यक्तिलाई हेरौँ

अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले मंसिर १९ गते एकाएक थापाले यसरी पूर्वराजाप्रति आक्रोश पोखेका थिए । उनको यस्तो अभिव्यक्तिलाई धेरैले हारको आक्रोशका रुपमा टिप्पणी गरे । थापाले त्यस दिन भनेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएका बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

मंसिर २१ गते अध्यक्ष थापाले फेरि अर्को विज्ञप्ति निकालेर पूर्वराजाको भूमिकाप्रति कटाक्षलाई निरन्तरता दिए । थापाले विज्ञप्तिमा यसलाई हारको आक्रोशका रुपमा नबुझिदिन समेत आग्रह गरे ।

‘मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझिदिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जितले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्वीकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ’, थापाको भनाइ थियो, ‘तर, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवाञ्छित र अमर्यादित हस्तक्षेपले राजसंस्थासम्बन्धी मेरो र राप्रपाको आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको छ ।’

राप्रपाले तटस्थ राजसंस्थाको वकालत गरेको, तर पार्टीको आन्तरिक प्रतिस्पर्धामा नाङ्गो हस्तक्षेप हुँदा विगतमा झैँ प्रजातान्त्रिक संस्थामा फेरि हस्तक्षेप हुँदैन भनेर कसरी विश्वास गर्ने भन्ने प्रश्न थापाको थियो । ‘विगतमाझैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने ? अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको म र राप्रपालाई अहिले परेको पीर यही हो । म नैतिक र धर्मसंकटमा परेको छु’, थापाले विज्ञप्तिमा भनेका थिए । उनले राप्रपालाई ज्ञानेन्द्र शाह र निर्मल निवासको भजनमण्डली बन्न नदिने थापाको अडान छ ।

त्यसैगरी थापाले मंसिर २७ मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एक पत्र लेखेर निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरे । पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न निष्पक्ष छानिवन समिति बनाउन पत्रमार्फत लिङ्देनलाई थापाको आग्रह छ ।

उसो त मंसिर २२ मा बसेको राप्रपा केन्द्रीय समिति बैठकमा पनि थापा निकटका नेताहरुले पनि हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरेका थिए । तर, सो कुराको बैठकमा सुनुवाइ हुन नसकेपछि थापाले त्यसको ४ दिनपछि लिङ्देनलाई पत्र नै लेखेका थिए ।

केन्द्रीय कमिटी बैठकमा थापा निकट राजाराम बर्तौलासहितका करिब आधा दर्जन नेताहरुले निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग गरेका थिए । तर, बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले चुनावमा निर्मल निवासबाट कुनै हस्तक्षेप नभएको दावी गर्दै छानबिन समिति बन्न नसक्ने सन्देश दिएका थिए ।

अब कसरी अघि बढ्छन् थापा ?

थापाको आरोपमा पूर्वराजाको सचिवालयले खण्डन गरे पनि थापा आफ्नो अडानबाट टसमस छैनन् । थापाले हारको पीडामा कपोकल्पित आरोप लगाएको निर्मल निवासको जिकिर छ । पूर्वराजाका संवाद सचिव फणि पाठकको भनाइमा पूर्वराजाको चिन्ता र चासो देश तथा जनताप्रति बाहेक अरु कसैमा छैन । पूर्व राजाको चासो कुनै पार्टी र नेतृत्वप्रति नरहेको उनको भनाइ थियो ।

कमल थापालाई नजिकबाट बुझेका राप्रपाका एक नेताले भने पूर्वराजाको पर्दा पछाडिबाट गरेको चलखेलका कारण थापा राजसंस्थाको एजेण्डा बोक्ने सवालमै द्विविधामा रहेको बताए । ‘हामीले पार्टीको एकता महाधिवेशनमा पूर्वराजाबाट भएको हस्तक्षेपबारे पार्टीमा छानविन हुनुपर्ने कुरा उठाएका छौँ, जुन कुरा कमल थापाले अध्यक्ष लिङ्देनलाई पत्र लेखेर पनि ध्यानाकर्षण गराउनु भएको छ’, ती केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘यो कुराको छिनोफानो नहुँदासम्म पार्टी सहज रुपमा अघि बढ्न सक्दैन ।’

यही अडानका साथ थापा पार्टीमा अघि बढ्ने र यो कुराको छिनोफानो नहुँदासम्म पार्टीको कुनैपनि बैठकमा सहभागी नहुने निष्कर्षमा थापा छन् । यही सन्देश दिँदै थापा राजेन्द्र लिङ्देनको शपथग्रहणमा सहभागी भएनन् भने पार्टीको केन्द्रीय समिति बैठकमा पनि अनुपस्थित रहे ।

विधिसम्मत ढंगले विवादको निरुपण हुनुपर्छ : बर्तौला

कमल थापा निकट राप्रपा नेता राजाराम बर्तौलाले निवर्तमान अध्यक्ष थापाले उठाएको प्रश्न विधिसम्मत ढंगबाट निरुपण हुनुपर्ने धारणा राखे । ‘अध्यक्ष भइसकेपछि उहाँ (लिङ्देन) ले सबैको भावना समेट्ने भनेर विभिन्न मन्तव्यहरुमा भन्नुभएको छ’, बर्तौलाले भने, ‘उहाँको कथनी र करणीमा फरक नहुने हो भने त यो विषय छलफलमा आएर टुंगिन्छ । उहाँले बाहिर फराकिलो छाती भएको मान्छे हुँ भन्दा पनि हामीमा आशा पलाएको छ ।’

उनले आफूहरुको मागको सुनुवाइ नै नहुने हो भने परिस्थिति सहज हुन नसक्न्ने धारणा राखे । ‘हाम्रो माग सुनुवाइ नहुने हो भने परिस्थिति प्रतिकुल हुन पनि हुन सक्छ’, उनले भने, ‘त्यो हाम्रो चाहना होइन ।’ थापाले उठाएका प्रश्नको निरुपण नहुँदासम्म उनी कुनै पनि बैठकमा सहभागी हुने भन्ने कुरा हुन नसक्ने उनले धारणा राखे ।

राजसंस्थाको भूमिकाको कारणले नै राजसंस्था कमजोर बनेको पनि बर्तौलाको दावी छ । ‘हामीले खोजेको राजसंस्था काँग्रेस एमालेलाई समेत स्वीकार्य हुने राजसंस्था हो  । राप्रपाभित्रै रामे, श्यामे, हरिलाई बोकेर हिँड्ने राजसंस्था हो र ? हामीले खोजेको राजसंस्था एकपक्षीय होइन’, उनले भने, ‘यही पार्टीमा पनि तेरोमेरो भन्ने राजसंस्था होइन । हामीले खोजेको राजसंस्था त ३ करोड नेपालीलाई स्वीकार्य हुने राजसंस्था हो । मौलिक विचार, पार्टीको सैद्धान्तिक अवधारणामाथि नै प्रश्न चिन्ह यसले खडा गरेका छन् । एकथरी मान्छेले नबुझेर हार स्वीकार नसकेको भनेर भनिरहेका छन् ।’

आन्तरिक समीकरणमा थापालाई कति फाइदा कति घाटा ?

थापाले निर्मल निवासको आलोचना गर्दै आए पनि पार्टीभित्र थापाको पक्षमा बलियो मत भने देखिँदैन । थापाले उम्मेदवारी घोषणा गर्दा उनका साथमा देखिएका वरिष्ठ नेता दीपक बोहराले निर्वाचन प्रक्रियालाई स्वीकारेर जानुको विकल्प नभएको बताएका छन् । उनले वक्तव्य निकालेर विभाजनको छुट कसैलाई नभएकाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको धारणा थियो ।

यसैगरी थापालाई लामो साथ दिएका निरञ्जन थापाले फेसबुकमा लामो वक्तव्य निकालेर राजसंस्थाको अपहार्यताबारे प्रकाश पार्दै निर्मल निवासलाई विवादमा तान्न नहुने धारणा राखेका छन् ।

यस्तै थापाकै बलिया सहयोगी मध्येका एक बुद्धिमान तामाङ अहिले सन्तुलित देखिएका छन् । दुई दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत लिङ्देनले पार्टीको तर्फबाट तामाङलाई पठाएका थिए । लिङ्देनले सर्वदलीय बैठकमा तामाङलाई पठाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनलाई लिङ्देनले तामाङलाई घरमै पुगेर भेटी लामो छलफल गरेका थिए भने महामन्त्री भुवन पाठक पनि तथस्थ जस्तै देखिएका छन् । यसअघि नै लिङ्देनलाई निवर्तमान अध्यक्ष पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले स्वीकारिसकेको अवस्था छ ।

राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टीमा कसैले राजाको आलोचना गर्छ भने त्यस्ता व्यक्तिलाई पार्टीमा स्थान हुन नसक्ने राप्रपाका एक पुराना नेताले  टिप्पणी गरे । उनले पार्टीमा कमल थापा एक्लिँदै गएको समेत दावी गरे ।

थापाले निर्मल निवासमाथि निरन्तर हमल गरिरहँदा लिङ्देनले विगतमा आफूलाई चुनावमा असहयोग गर्नेहरुलाई पनि भेटेर सहकार्यको हात बढाइरहेका छन् । यस्तै उनले झापामा आयोजित एक कार्यक्रममा आफू सानो छाती भएको मान्छे नभएकाले फराकिलो छाती बनाएर सबैको भावनाअनुसार अघि बढ्ने बताएका थिए ।

यद्यपि थापासँग आवश्यक समन्वय र उनले उठाएको प्रश्नलाई उचित तरिकाले सम्बोधन गर्न नसक्नु भने लिङ्देनको कमजोरी भएको ती नेताले बताए । ‘जसरी विश्वप्रकाश शर्माले आफ्नै आलोचक मानिने कृष्ण सिटौलालाई भेटेर आशीर्वाद लिए त्यसैगरी लिङ्देनले आफ्नै आलोचकहरुलाई पनि भेटेर कुल बनाउन खोजेको देखिन्छ’, ती नेताले भने, ‘उनले अब कमल थापासँग पनि सहकार्यको वातावरण बनाउनुपर्छ ।’

यता थापाको अभिव्यक्तिको पक्षमा उनकै निकटस्थहरु धेरै खुल्न नसकेको अवस्था छ । यस्तो परिदृश्यका बीच थापाले निर्मल निवासको हस्तक्षेपलाई लोकतन्त्रको भविष्यमाथि नै जोडेर टिप्पणी गरेको अवस्थामा आरोपलाई पुष्ट्याइँ गर्नुपर्ने चुनौति छ  । यद्यपि थापाले आफूसँग प्रशस्त प्रमाणहरु पनि रहेको भनेकाले उनले आरोपलाई पुष्टि गर्न सके र कार्यकर्ता तहलाई पनि आवस्वस्त पार्न सके उनलाई फाइदा नै पुग्ने देखिन्छ ।  अन्यथा, थापाको आरोप अरोपमै सीमित हुन सक्छ भने निरन्तर खिइँदै गएको पार्टीलाई अघि बढ्न थप जटिलता हुने देखिन्छ ।  भलै यसको निकास कुन बिन्दुमा पुगेर निस्कन्छ वा थप विष्फोटतर्फ अघि बढ्छ भन्ने अन्योल कायमै छ । अन्ततः राप्रपाको एकता महाधिवेशन भनिए पनि मंसिर दोस्रो साता सम्पन्न महाधिवेशनबाट आदर्श संस्थाकै विषयले आन्तरिक विवादको गम्भीर विजारोपण पनि भएको छ ।

कमल थापालाई आरके मैनालीका ३ सुझाव

तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिँदा कमल थापासँगै मन्त्री बनेका राधाकृष्ण मैनालीले कमल थापाका सामु मुख्य तीन विकल्प रहेको बताए । उनका अनुसार एमाले अध्यक्ष केपी ओलीसँग राम्रो सम्बन्ध भएकाले उनी एमालेमा प्रवेश गर्न सक्छन् । यस्तै गल्ती स्वीकारे चुपचाप राप्रपामै बस्न सक्ने विकल्प पनि उनीसामु छ । तेस्रो विकल्पका रुपमा उनीसँग राजनीति नै छाड्ने बाटो छ । यी तीन विकल्पबाहेक थापासामु अर्को विकल्प नभएको मैनालीको भनाइ छ ।

विगतदेखि अहिलेसम्म कमल थापाको राजनीति दरबारकै आडमा चलेको बताउँछन् उनी । ‘दरबारकै आडमा र प्रभावमा उनले राजा चाहिन्छ भने, हिन्दुराष्ट्र चाहिन्छ भने’, मैनालीको टिप्पणी छ, ‘दरबारसँगको प्रभावलाई क्यास गर्ने र त्यो क्यासलाई फेरि प्रयोग गरेर आफू नेता प्रवृत्ति उनमा देखियो ।  सायद अहिले उहाँहरुको गतिविधि दरबारले थाहा पायो ।’

‘थापाले दरबारले नै मलाई हटायो भनेर भन्नुभएको छ । साँच्चै त्यसो गरेको हो भने उनले दरबारको नाममा खुरापाती गरे र त्यो खुरापाती राजाले पाएछन् भनेर बुझन्प्यो’, मैनालीले थपे । राजतन्त्रको माग गर्ने अनि यो संविधान उत्कृष्ट हो भनेर विगतमा भाषण गर्नु कमल थापाको भुल भएको पनि मैनालीले बताए ।

 ‘राजतन्त्रको माग गर्ने मान्छेले संविधान नै उत्कृष्ट हो भन्ने ? संविधान उत्कृष्ट भनिसकेपछि उनले राजतन्त्रको माग छाड्नपर्थ्यो’, उनले भने, ‘उनले त संविधानमा यो–यो कुरा हुुनुपर्छ भनेर पो भन्नुपथ्यो । तर, कताबाट फाइदा हुन्छ भनेर मात्रै हेरे ।’ थापाले राजाको नाममा स्वार्थको राजनीति गरेकाले ज्ञानेन्द्रले उनलाई हराउन भूमिका खेलेको भए पनि ठीकै गरे भन्ने आफूलाई लागेको मैनालीले टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप