शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : कर्णालीको बजेट

बजेट कार्यान्वयनको सन्दर्भमा सरकार हराइरहेको छ

शुक्रबार, १९ वैशाख २०८२, ०९ : ५३
शुक्रबार, १९ वैशाख २०८२

कर्णालीमा विकास बजेट कार्यान्वयनको अवस्था निकै नाजुक भयो । अहिलेको सरकारसँग भएको बजेट र कार्यान्वयनको स्थिति हेर्दा सरकारको गति नै नभएजस्तो देखिएको छ ।  बजेट कार्यान्वयनमा जसरी सुधार आउनुपर्ने हो, त्यो आएको छैन ।

अहिले सरकारको अवस्था विगतको जस्तो होइन । हिजोका दिनमा कर्मचारी अपुग थियो । अहिले जनशक्ति पर्याप्त हुनुका साथै सरकार आन्तरिक रूपमा सुदृढ बन्दै गएको छ । यो अवस्थामा जुन गतिमा बजेट कार्यान्वयन हुनुपर्थ्यो, त्यो अनुसार हुन सकिरहेको छैन । बजेट कार्यान्वयनको सन्दर्भमा सरकार हराइरहेको छ ।

विकास बजेट कार्यान्वयनमा सुधार ल्याउन नसक्नु कर्णालीको प्रमुख समस्या हो । यसमा सरकारको योजना अर्थात् ‘क्लियर पिक्चर’ के हो भन्ने केही देखिँदैन । सरकारको मानसिकता बजेट खर्च नभएपछि नयाँ बजेट धेरै ल्याउन सकिन्छ कि भन्ने तरिकाले अघि बढेको देखिन्छ, जुन गलत हो । सारमा भन्दा सरकार नै हराइरहेको छ । एउटा ‘सिस्टम’ मा बसेर कार्य सम्पादन गर्ने कुरामा सरकार चुकेको छ । आयोजनाहरूको प्राथमिकीकरण गर्ने कुरामा पनि कुनै ध्यान दिएको देखिँदैन । कार्यान्वयनमा गएका आयोजनाहरूको अनुगमन गर्ने कुरामा सरकारको ध्यान नै छैन ।

अर्को समस्या भनेको सार्वजनिक खरिद ऐन हो । अहिले आएको १४ औँ संशोधनले कतिपय कारबाहीमा पर्नुपर्ने कम्पनीहरू परेका छैनन् । उनीहरूले योजनाहरूको काम नगरेर अल्झाइरहने, सरकारले तिनलाई कुनै कारबाही नगर्ने देखिन्छ । यी र यस्ता खालका कुराहरूले नै बजेट कार्यान्वयनमा न व्यवस्थित हुन सक्यो, न त सुधार आउन सक्यो ।

अर्को भनेको प्रशासनिक समस्या हो । कर्णालीका भएको जनशक्तिलाई व्यवस्थित र सही तरिकाले परिचालन गर्न सकेको अवस्था छैन । सरकारले त्यसलाई पारदर्शी, व्यवस्थित तरिकाले परिचालन गर्ने, काम गर्ने कर्मचारीदेखि ठेकदारसम्मलाई पुरस्कृत गर्ने र काम नगर्नेलाई दण्डित गर्ने नीति जबसम्म ल्याइँदैन, तबसम्म विकास बजेट कार्यान्वयनमा सुधार आउन सक्ने अवस्था म देख्दिनँ ।

बजेट कार्यान्वयनमा लैजानका लागि पहिलो कुरा, अनुगमनलाई व्यवस्थित गराउनुपर्छ । प्रदेशका सांसददेखि कर्मचारीहरूलाई जवाफदेही बनाउनुपर्छ ।

अहिलेको सरकारको मनस्थिति त अहिले बजेट धेरै बच्यो भने आगामी आर्थिक वर्षमा बजेट धेरै ल्याउन सकिन्छ र आफ्नो अनुकूलमा काम गर्न सकिन्छ भन्ने खालको छ । अहिले विकास बजेट १ प्रतिशतले बढेको भनिन्छ । चैत मसान्तसम्मको तथ्याङ्क हेर्दा पुँजीगत बजेट २० प्रतिशत कार्यान्वयनमा आएको छ, जुन गत वर्षको भन्दा १ प्रतिशत बढी हो ।

तर गत वर्षको बजेटका हिसाबले विश्लेषण गर्ने हो भने कमै हो । गत वर्ष चालु आर्थिक वर्षको भन्दा त झण्डै १ अर्बले बढी बजेट थियो । अझ गत वर्षभन्दा अघिल्लो वर्षको विकास बजेट हेर्ने हो भने अहिलेको भन्दा २ प्रतिशतले अर्थात् चैत मसान्तसम्म २२ प्रतिशत कार्यान्वयन भएको देखिन्छ । मुख्यमन्त्रीले भन्ने वेलामा सुधारको कुरा भन्नुहुन्छ । गुणात्मक सुधार त होइन, सुधारमात्रै पनि आउन सकेको अवस्था छैन । अहिलेको सरकार सुदृढ बन्दै गएको, दक्ष जनशक्ति व्यवस्थित भएको अवस्थामा बजेट सुधार ल्याउन सकिन्थ्यो, जुन कुरामा वर्तमान सरकार चुकेको छ ।

बजेट कार्यान्वयनमा लैजानका लागि पहिलो कुरा, अनुगमनलाई व्यवस्थित गराउनुपर्छ । प्रदेशका सांसददेखि कर्मचारीहरूलाई जवाफदेही बनाउनुपर्छ । यस्तै जिल्लास्थित कार्यालयहरूमा आवश्यक जनशक्ति व्यवस्थापन गर्नुका साथै काम नगर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

हाम्रो विकासको मोडालिटीमा जनपरिचालन नगर्नु नै प्रमुख समस्या हो । त्यसैले जनजागरण बढाउन आवश्यक छ । म मुख्यमन्त्री हुँदा धेरै पटक निर्देशन गरेको हो– बजेटको मात्रा कति हो ? समयावधि के हो ? यसको क्वालिटी, क्वान्टिटी के हो ? यस्ता विषयमा सुरुमै सार्वजनिक सुनुवाइ गरेरमात्र काम सुरु गर्नुपर्छ । यस्तै बिचबिचमा पनि सार्वजनिक सुनुवाइ गर्ने, भुक्तानीका वेलामा सार्वजनिक सुनुवाइ गर्नुपर्छ । उस्तै परे फिल्डमै भुक्तानी दिनुपर्छ । यो खालको परिपाटी चलाएर जाने हो भने केही न केही बदलाव आउँथ्यो, तर यो सरकार त्यतातर्फ लागेको छैन ।

सारमा भन्दा बजेट कार्यान्वयनलाई जुन रूपमा व्यवस्थित गरेर एउटा मोडलमा अगाडि बढाउनुपर्ने थियो, त्यो हुन नसक्दा नै समस्या देखिएको हो । अहिले योजना बैंक भनेर सुरुवात भएको छ तर यो पनि ‘डोका भन्दा पोका ठुला’ भन्ने तरिकाले आएको छ । मुख्यमन्त्रीले चोर दुलो रोक्न भनेर योजना बैंक ल्याएको भन्ने तर्क गर्नुभएको थियो तर त्यो चोर दुलो अहिलेको नीतिले झन् आधिकारिक भयो कि भन्ने मलाई लागेको छ ।

मेरो पालामा जनशक्ति कम थियो तर आवश्यक जनशक्ति व्यवस्थापन गरेर भए पनि रिजल्ट ल्याउने गरी काम गर भनेको थिएँ । अर्को, सुरुकै अवस्थादेखि सार्वजनिक सुनुवाइ गरेर जनतालाई जवाफदेही बनाउनुपर्छ भनेको थिएँ । यसरी नै अगाडि बढेको थिएँ, तर बाहिरिनुपर्‍यो । अहिलेकै अवस्थामा हाम्रो सरकारले निरन्तरता पाइरहेको भए पनि बजेट कार्यान्वयनमा केही न केही सुधार ल्याउन सकिन्थ्यो भन्ने मेरो दाबी हो ।

(पूर्व मुख्यमन्त्री तथा प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्मासँग रातोपाटीका लागि पंखबहादुर शाहीले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार शर्मा
राजकुमार शर्मा
लेखकबाट थप