कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
मोरङ । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा रु एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनाका लागि सम्झौता भएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन– २०२५’को आज समापन कार्यक्रममा विभिन्न ४६ परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइराला र लगानीकर्ताहरूबीच सहमतिपत्र सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिसम्बन्धी आठ ऊर्जासम्बन्धी तीन, उद्योगसम्बन्धी १२, पूर्वाधारका नौ, सूचना प्रविधिका दुई, पर्यटनसम्बन्धी १० र फोहरमैला व्यवस्थापनसम्बन्धी दुई वटा परियोजनाका लागि सहमतिपत्रमा सम्झौता सम्पन्न भएको छ ।
निजी क्षेत्रका १९ र सार्वजनिक–निजी साझेदारीका २७ वटा परियोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको प्रदेश लगानी प्राधिकरणले जनाएको छ । प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रदर्शनमा राखी अनुमानित लागत रु एक खर्ब ७३ अर्ब ४९ करोड तोकेको थियो ।
मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनको समापन गर्दै प्रदेशका लागि आज विशेष दिन हुनुका साथै नयाँ युगमा प्रवेश गरेको भन्दै यसका माध्यमबाट नेपालको आर्थिक, पर्यटकीयलगायत क्षेत्रमा सकारात्मक सुरुआत गरिएको बताए ।
उनले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्र र विदेशी लगानी भित्र्याएर आर्थिक वृद्धि, रोजगारीका अवसर सृजना र राष्ट्रिय पुँजीको निर्माण गर्नुपर्ने महसुस गरेअनुसार लगानी सम्मेलनको आयोजना गरिएको जनाउँदै उनले सम्मेलन सफल भएको धारणा राखे । मुख्यमन्त्री कार्कीले लगानीका क्रममा आइपर्ने प्रदेश र सङ्घीय नीतिगत, कानुनीलगायत बाधा हटाउने प्रतिबद्धता व्यक्त गरे ।
कोशी प्रदेशसभाका सभामुख अमरबहादुर विष्टले प्रदेशमा लगानीमैत्री कानुन निर्माण गर्न सबैको सहयोग अपरिहार्य रहने विचार राखे । आन्तरिक मामला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दै लगानीकर्ताको परियोजना २१ दिनभित्रमा सम्झौता सम्पन्न गरिने जानकारी दिए ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले प्राकृतिक सम्पदासहित विभिन्न जातीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गरी लगानी भित्र्याउन सुझाव दिए । भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले प्रदेशका सम्पूर्ण दलहरू विकासका पक्षमा एकजुट रहेको बताए ।
चिनियाँ लगानीकर्ता लियाङ झुङ, गैरआवसीय नेपाली लगानीकर्ता रेजिना राई प्रधान, लगानीकर्ता गालभ ढुङ्गानालगायत वक्ताले कोशी प्रदेशमा लगानीको प्रशस्त सम्भावना रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण